प्रतिनिधिसभाबाट एमसीसी पास भए लगत्तै अमेरिका खुशीले गदगद , निकाल्यो यस्तो बिज्ञप्ति

अन्ततः जनताको बिरोधका बीच प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित भएको छ । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले नै जनताको आवाजलाई लत्याउँदै एमसीसी पास गरेका हुन् । हिजो पक्ष बिपक्षमा उत्रिए पनि एमसीसी पास गर्ने बेलामा सबै नेता तथा राजनीतिक दल एकै ठाउँमा उभिए ।

एमसीसी जुनसुकै हालतमा पास गराउने उदेश्यका साथ लागि परेको अमेरिका पनि खुशी भएको छ । एमसीसी पास भए सँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भए लगत्तै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी अब कार्यान्वयनको दिशातर्फ अघि बढेको समेत बताइएको छ।

अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने पनि जिकिर गरेको छ । भए भरको शक्ति खन्याएको अमेरिकाले अझै स्वाँगिलो बन्दै एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो समेत भनेको छ ।

दूतावासले भनेको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्नेछ ।’​दुई देशबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई अमेरिकाले निरन्तर समर्थन गर्ने जनाएको छ ।