चैत्र ८ गते पल्सर स्पोर्टस अवार्ड हुदै

१८ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड चैतमा हुने पक्का भएको छ । बर्षेनी हुदै आईरहेको यस अवार्ड कार्यक्रम यहि चैत्र ८ गते गर्न लागिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने पत्रकार सम्मेलनमा बताए ।

यसपालीको संस्करणमा भने पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई पनि सम्मानित गरिने भएको छ । यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल वार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ ।

दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।