आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पूटिनको निर्देशन

मस्को, १५ फागुन-पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समय पूटिनको आदेशले थप संसूचक उत्पन्न गर्ने अनुमान गरिएको छ ।

मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ ।पुटिनले भन्नुभयो, “म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु ।“तपाईंले देख्नुभयो कि पश्चिमी देशहरू आर्थिक क्षेत्रमा हाम्रो देशप्रति ‘अमित्रवत’ मात्र छैनन् । मेरो मतलब रूसमाथि उनीहरूले लगाएको प्रतिबन्ध अवैध हो,” उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो) का सदस्य मुलुकका वरिष्ठ अधिकारीहरूले पनि हाम्रो देशविरुद्ध आक्रामक बयान दिन अनुमति दिन्छन् ।”उहाँको आग्रहलाई रक्षा मन्त्री शोइगुले ‘सकारात्मक’ भनी समर्थन जनाउनुभएको थियो । रुसी राष्ट्रपतिले बिहीबार यूक्रेनमाथि आक्रमण गर्न दिएको आदेशले विश्वभर भयको तरङ्ग उत्पन्न गरेको छ ।

पश्चिमी स्रोतहरूका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन् । यद्यपि युक्रेनी सेनाको तीव्र प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन् जसको तीव्रताले सम्भवतः मस्कोलाई सोच्न बाध्य पारेको छ । क्रेनका अधिकारीहरूले केही रूसी सेनाहरू निरुत्साहीे र थकित भएका र दर्जनौंले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।रूसको सेनाले आक्रमणको एक दिनमै यूक्रेनी राजधानी कीभ पुगेको भएपनि यूक्रेनी सेनाले उनीहरूलाई पछि हटाउन लडिरहेका भन्ने यूक्रेनी दाबी रहेको छ ।