बक्स अफिसमा चम्कियो ‘म यस्तो गीत गाउँछु २, पछाडि परे हिन्दी फिल्म

आफ्नै देशमा पनि विदेशी चलचित्रसँग भाग्ने गरेको आरोप नेपाली चलचित्रका मेकरलाई बारम्बार लाग्ने गर्दछ । विदेशी चलचित्र रिलिज भएको समयमा आफ्नो चलचित्र रिलिज गर्न नसकेर नेपाली मेकरहरु भाग्ने गरेको आरोप लामो समयदेखि लगाइन्छ । तर, बक्स अफिसमा नेपाली चलचित्रले विदेशी चलचित्रलाई पछि पारेका उदाहरण थुप्रै छन् ।

शुक्रबारदेखि रिलिज भएको निर्देशक सुदर्शन थापाको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दर्शकलाई फेरि हलसम्म फर्काएको छ । शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको चलचित्रले शनिबार बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । कोरोनाको महामारीपछि रिलिज भएका चलचित्रमध्ये बक्स अफिसमा सुरुवाती आक्रामक व्यापार गर्ने चलचित्रमा ‘म यस्तो गीत गाउँछु २’ पर्दछ ।

शनिबार, देशैभरका सिंगल तथा मल्टिप्लेक्स हलहरुमा चलचित्रले आक्रामक सुरुवात गरेको वितरक करण क्रेजी र नरेन्द्र महर्जनले जानकारी दिए ।शनिबार काठमाडौंका सिंगल तथा मल्टिप्लेक्स हलहरुमा अनलाइनखबरको क्यामेरा पुग्दा दर्शकको भीड अत्याधिक देखिएको थियो ।काठमाडौंका अष्टनारायण, क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, आरके लगायतका हलमा दर्शकको उच्च चाप देखियो । यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि चलचित्रले बम्पर कारोबार गरेको छ ।

यो चलचित्रको तुलानमा बलिउड चलचित्र ‘गांगुबाई काठियावाडी’को व्यापार केही कमजोर देखियो । यसैले, मल्टिप्लेक्समा शनिबार हिन्दी चलचित्रको भन्दा नेपाली चलचित्रको शो बढी थियो ।

अर्को भारतीय चलचित्र ‘वालिमै’ भने बक्स अफिसमा पछारिएको छ । हलमा भेटिएका निर्देशक सुदर्शन थापाले भने–‘राम्रो चलचित्र बनायो भने बक्स अफिसमा जहिले पनि चल्छ भन्ने पुष्टी भएको छ । दर्शकले चलचित्र अत्याधिक मन पराउनुभएकाले गर्दा पनि आगामी दिनमा पनि चलचित्रले राम्रो कमाई गर्ने अपेक्षा छ ।’

नायिका पूजा शर्माले दर्शकको माया देखेर आफू भावूक भएको बताइन् । उनले भनिन्–‘हामी दर्शकलाई पर्दा उहाँहरुको साथमा भयौं भने उहाँहरु पनि हामीलाई पर्दा एकसाथ अगाडि आउनुहुन्छ भन्ने पुष्टी भएको छ । हलमा दर्शक फर्काउन हामी सफल भएका छौं ।’काठमाडौंका हल संचालकहरुले साउथको चलचित्र ‘पुष्पा’ र हलिउडको चलचित्र ‘स्पाइडर म्यान’पछि दर्शकको उच्च फ्लो ‘म यस्तो गीत गाउँछु २’मा देखिएको बताए ।

मंगलबार शिबरात्रीका लागि मल्टिप्लेक्सहरुले ‘म यस्तो गीत गाउँछु २’को लागि उच्च शो दिइसकेका छन् ।पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई सांगीतिक लभस्टोरी कथामा तयार पारिएको छ ।