एमसीसीको पक्षमा बोल्नेहरुमाथि ढुंगामुढा हुने र गाउँ नै जाननसक्ने अवस्था आयोः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् ।

आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एकमतले एमसीसी पारित गर्नका लागि आवश्यक कदम चाल्न सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे । उनले भने, ‘सबै हिसाबले हामीले एमसीसीमार्फत् जो अनुदान सम्झौता छ, अनुदान सहयोग छ । यसलाई लिएर जानु नै उपयुक्त हुन्छ । यसतर्फ हामीले ध्यान दिऊँ । प्रमुख प्रतिपक्षसँग पनि मेरो आग्रह छ, गठबन्धनका साथीहरुसँग पनि आग्रह छ, हामीले एकमतले यसलाई पारित गरेर हामी अगाडी बढौँ । यो नै नेपालको हितमा छ । यस निम्ति आवश्यक कदम चलाऔँ ।’

भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भए पनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताउँदै एमसीसीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्पणीमार्फत् पारित गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे ।