दोस्रो लिगलिगे साइकल दौड चैत ४ गते, अनलाइन रजिष्ट्रेसन यसरी गर्न सकिन्छ, हेर्नुहोस पुरस्कार राशि

पालुङटार, गोरखा । लिगलिग कोटमा  दोस्रो लिगलिगे साइकल दौड हुने भएको छ । पहिलो लिगलिगे साईकल दौड उत्साहित ठंगले सम्पन्न गरेको लिगलिग भिलेज स्पोर्टसले अगामी चैत ४ गते दोस्रो संस्करण गर्ने भएको हो ।

गोरखाको पालुङटार नगरपालिकास्थित ऐतिहासिक लिगलिगकोट पर्यटकिय स्थल हो । पर्यटनलाई साहसिक खेल सँग जोडेर लिगलिगलाई चिनाउन साईकल दौडले मद्दत गर्ने अपेक्षा रहेको स्पोर्टसका अध्यक्ष सञ्जीव रानाले बताएका छन् ।

इतिहासमा लेखिए अनुसार लिगलिग कोटमा मगर घले जातिमा दशैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने लोकतान्त्रिक परम्परा थियो । पछि लमजुङका ठकुरी राजकुमार द्रब्य शाहले यहाँको शासन हातमा लिए । उनैका सन्तान पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाले ।
”त्यही दौडको पनि सम्झना हुने गरी साइकल दौडको आयोजना गरिएको हो” रानाले भने, ”गत वर्ष आयोजित पहिलो संस्करणको सफलताले हामी उत्साहित भएका छौं । यस वर्ष पनि सबै खेलाडी र समुदायले सहयोग गर्नेमा आशावादी छौं ।”

गत वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको भएपनि यस वर्ष कोरोना महामारीको तेस्रो लहरको त्रास बढेसँगै चैत ४ गतेलाई सारिएको हो ।

लिगिलग भिलेज स्पोर्टसले दोस्रो लिगलिगे साइकल दौडको लागि जारी गरेको विज्ञप्तीको पूर्ण पाठ तथा कार्यतालिका:

लिगलिगे साइकल दौड (Liglig Cycle Race)
२०७८ फागुन
प्रेस बिज्ञप्ती

पत्रकार मित्रहरु,
प्रथम लिगलिगे साइकल दौडको भब्य सफलताले उत्साहित हामीे लिगलिग भिलेज स्पोर्टस्को तर्फबाट मिति २०७८ साल चैत ४ गते दोस्रो लिगलिगे साइकल दौड प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी यहाँहरुलाई गराउन पाउँदा हामीलाई खुशी लागेको छ । दोस्रो लिगलिगे साइकल दौडको सन्दर्भमा आयोजित यस पत्रकार सम्मेलनमा यहाँहरुलाई स्वागत गर्न चाहन्छु ।

पत्रकार मित्रहरु, यहाँहरुलाई अवगत नै भएपनि लिगलिगकोटको छोटो परिचय सहित लिगलिगे साइकल दौडको बारेमा यहाँहरु समक्ष केही कुराहरु राख्न चाहन्छु ।

पृष्ठभूमिः
गोरखा जिल्लाको पालुङटार नगरपालिका स्थित लिगलिगकोट चौबिसे राज्यकालमा छुट्टै राज्य थियो । यहाँका मगर घले जातिमा दशैंको दिन लिगलिगकोटसम्म दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने लोकतान्त्रिक परम्परा थियो । पछि लमजुङका ठकुरी राजकुमार द्रब्य शाहले यहाँको शासन हातमा लिए । पछि उनैका सन्तान पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाले ।
द्रव्य शाहले शासन लिनु अघिको लिगलिग कोट शासन पद्धतीलाई तत्कालिन समयको दौडेर राजा छान्ने प्रकृयालाई लोकतान्त्रिक पद्धतीको रुपमा पनि कतिपयले व्याख्या गरेका छन् । त्यसैले परिस्थिती अनुसार प्रतिस्पर्धाबाट तत्कालिन समयमा पनि राजा छान्ने चलन यस ठाउँमा रहेको स्पष्ट हुन्छ ।

लिगलिगकोट ऐतिहासिक रुपमा मात्र महत्वपूर्ण छैन, संस्कृति र प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । लिगलिगकोटको इतिहास, मौलिक संस्कृतिको जगेर्ना, वातावरण संरक्षणको सन्देश दिन, वातावरण मैत्री साइकल संस्कारको विकास तथा विस्तार गर्ने उदेश्यले प्रथम ‘लिगलिगे साइकल दौड’ प्रतियोगिताको आयोजना गर्न गइरहेका छौं ।

लिगलिगे साइकल दौड

इतिहासमा यहाँ दौडेर राजा हुने परम्पराका बारेमा पढ्न पाइन्छ । उक्त परम्पराको झल्को दिने गरी MTB XCM ‘लिगलिगे साइकल दौड’ आयोजना गत वर्षदेखि आयोजना गर्न थालिएको हो । यसले स्थानीय सांस्कृतिक संरक्षण, पर्या–पर्यटन तथा साहसिक खेलको विकास गर्नेछ ।
यस कार्यक्रमको माध्यमबाट लिगलिगकोटको प्रचार प्रसारमा सहयोग पुग्ने तथा यस ठाँउको आन्तरिक तथा वाह्य पर्यटन विकासमा टेवा पुग्ने आशा लिएका छौं । छिमेकी सिरानचोक गाउँपालिका र राईनास नगरपालिकाका केहि क्षेत्रहरुलाई समेत यस साइकल दौडले समेट्नेछ । साइकल दौड अन्तराष्ट्रिय मान्यता कायम राखि नेपाल साईक्लिङ संघको राष्ट्रिय नियम अनुसार खेलाईने छ ।

लिगलिग भिलेज स्पोर्टस्
लिगलिग भिलेज स्पोर्टस् लिगलिगकोट क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमबाट उजागर गरी पर्यटनको विकास गर्ने उदेश्यबाट स्थापित स्थानीय युवाहरुको गैरनाफामूलक संस्था हो । यसले ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र विकास र समृद्धिका लागि साहसिक खेलकुद र पर्वतीय पर्यटनको माध्यमवाट देश विदेशमा चिनाएर स्थानीय समुदायहरुमा उद्यमशीलताको विकास गर्ने प्रमुख उदेश्य राखेको छ ।
यस लिगलिगे साइकल दौडको लागि नेपाल पर्यटन बोर्ड र पालुङटार नगरपालिकासँग सहकार्य गरेका छौं । यस कार्यक्रमका लागि आवश्यक खर्च जुटाउनका लागि हामीले प्रायोजकहरुको पनि खोजी गरिरहेका छौं ।

कार्यक्रम तालिकाः
कार्यक्रम मिति : २०७८ चैत ४ गते शुक्रबार
रजिष्ट्रेशन खुल्ला हुने मिति : २०७८ फागुन १० गतेबाट सुरु
रजिष्ट्रेशन अन्तिम मिति : २०७८ फागुन ३० गतेसम्म
(तोकिएको समायावधि भित्रै अनलाइन दर्ता गरिसक्नु पर्नेछ ।)
स्थान : पालुङटार नगरपालिका–२, आँपपिपल, लिगलिगकोट
(दौडको रुट नक्सामा दिइए अनुसार हुनेछ ।)
सांस्कृतिक महोत्सवः : दौडको समापन पछि सांस्कृतिक महोत्सवको कायक्रम पनि गरिने छ । साँस्कृतिक महोत्सवमा स्थानीय कलाकारहरुले सोरठी, चुड्का, लाखे, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् भने सहभागीहरुले पनि नाचेर मनोरञ्जन लिन सक्नेछन् ।

रजिष्ट्रेशन शुल्क : रु. २००० ।–

रजिष्ट्रेशन गरेपछि हुने सुविधाहरु
१. लिगलिगकोट होमस्टे तथा टेन्ट हाउसहरुमा दुई रात बसोबासको व्यवस्था गरिएको छ ।
२. दुई पटकको ब्रेक फास्ट, दुई वटा डिनर र एउटा लञ्च उपलब्ध गराइने छ ।

रजिष्ट्रेशन कसरी गर्ने ?
यस लिगलिगे साइकल दौडको फेसबुक पेजमा गुगलको फारम भरेर अनलाइन रजिष्टर गर्न सकिने छ ।

पुरस्कार तथा सम्मान तालिकाः
सि.नं.     पुरुषतर्फ     पुरस्कार राशी सम्मान          महिलातर्फ पुरस्कार राशी सम्मान
१             प्रथम         रु. २५००० मेडल                  प्रथम रु. २५००० मेडल
२            द्वितीय         रु. २०००० ,,                        द्वितीय रु. २०००० ,,
३            तृतीय           रु. १५००० ,,                        तृतीय रु. १५००० ,,
४           चौथों            रु. १०००० ,,                          चौथों रु. १०००० ,,
५          पाँचौं            रु. ५००० ,,                             पाँचौं रु. ५००० ,,
६          छैठौ.            रु. २५०० ,,                            छैठौ. रु. २५०० ,,
७          सातौं             रु. २००० ,,                            सातौं रु. २००० ,,
८          आठौ          रु. १५०० ,,                              आठौ. रु. १५०० ,,
९           नवौं             रु. १५०० ,,                            नवौं रु. १५०० ,,
१०          दसौं           रु. १५०० ,,                             दसौं रु. १५०० ,,

गण्डकी प्रदेशः
सि.नं. पुरुषतर्फ पुरस्कार राशी सम्मान महिलातर्फ पुरस्कार राशी सम्मान
१ प्रथम रु. ५००० मेडल प्रथम रु. ५००० मेडल
२ द्वितीय रु. ३००० ,, द्वितीय रु. ३००० ,,
३ तृतीय रु. २५०० ,, तृतीय रु. २५०० ,,

पालुङटार नगरपालिकाः
सि.नं. पुरुषतर्फ पुरस्कार राशी सम्मान महिलातर्फ पुरस्कार राशी सम्मान
१ प्रथम रु. २५०० मेडल प्रथम रु. २५०० मेडल
२ द्वितीय रु. २००० ,, द्वितीय रु. २००० ,,
३ तृतीय रु. १००० ,, तृतीय रु. १००० ,,

मास्टर क्याटेगोरीको तीन जना पुरुषलाई गिफ्ट हेम्पर ।

सबै सहभागीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ