करणीको अभियोग लागेको अभिनेता पल शाह सम्पर्क बिहिन,पक्राउ गर्न सबैतिर तस्बिर पठायो प्रहरीले

काठमाडौं । एक नाबालिक गायिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहलाई प्रहरीले खोजी गरिरहेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतमार्फत बुधबार बेलुका पक्राउ पुर्जी जारी गरेको हो । तर, बिहीबार बेलुकासम्म उनी पक्राउ परेका छैनन् । प्रहरीका अनुसार उनलाई पक्राउ गर्न सबैतिर उनको तस्बिर प्रहरीले पठाइसकेको छ ।

यता पल शाहले काठमाडौंमै रहेर बिहीबार बिहान फेसबुकमार्फत आधा दर्जन अडियो रेकर्ड क्लिप आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । पलले सो अडियो क्लिप सार्वजनिक गर्ने क्रममा साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र गायक सम्राट चौलागार्इंले र ती नाबालिका गायिकाले आफू विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको पनि सामाजिक सञ्जालमा लेखेका छन् । दुर्गेश, सरोज र सम्राट पनि गायक हुन् । करिब ४० मिनटको सो अडियो रेकर्ड क्लिपमा ती नावालिका गायिकाको विवाह अभिनेता पलसँग जसरी पनि गरिदिने भनिएको छ ।राजधानि दैनिकमा खबर छ । पल शाह विरुद्ध उनीहरूले केही तिक्तता पनि सो अडियो रेकर्डमा पोखेका छन् । तीन दिनअघि पनि पल शाह, ती नाबालिक गायिका, गायक दुर्गेश र सरोजबीचको वार्तालापको अडियो क्लिब मिडियोमार्फत सार्वजनिक भएको थियो ।

आफूलाई केही महिना अघि जबरजस्ती करणी गरेको भन्दै ती नाबालिक गायिकाले अभिनेता विरुद्ध आफ्नो अभिभावकसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । सो उजुरी पत्रमा निज पल शाह भनिने पूर्णविक्रम शाहले गत १४ वैशाखमा पोखराको एक घरमा रहेका बेला मदिराको तालमा ती नाबालिक बसेको कोठामा गएर ललाइफकाइ ‘बिहे गर्छु, धोका दिन्नँ’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको भन्ने कुरा उल्लेख गरिएको छ । यो उजुरीपछि प्रहरीले पलको खोजी तीव्र बनाएको हो ।

पलले अभिनय गरेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ । यो चलचित्रको बुधबार बेलुका कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर सो थियो । त्यहाँ पनि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार महानगरिय प्रहरी परिसर काठमाडौंसँगै सहयोग लिएर पललाई काठमाडौंमा खोज्ने काम भइरहेको छ । पल सम्कर्पविहीन छन् । बिहीबार बिहान उनको फेसुबक लोकेसन काठमाडौं देखाएकाले यी अभिनेता काठमाडौंमै भएको प्रहरीको आशंका छ ।

पलका साथीहरू दुर्गेश थापा, सम्राट चौलागार्इं र सरोज ओलीलाई भेटेर प्रहरीले बिहीबार सोधपुछ गरेको छ । तर, पल कहाँ छन् भन्ने जानकारी नभएको जवाफ दिएपछि पलको खोजी जारी रहेको महानागरीय प्रहर परिसर काठमाडौंले जनाएको छ ।

यता अब पलमाथि लागेको आरोप पुष्टि भएमा उनलाई नाबालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिताको दफा २ सय १९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । अहिले ती गायिका १७ वर्षकी मात्र रहेकाले पललाई नाबालिका करणीअन्तर्गत कानुनी कारबाही हुने बताइएको छ ।