पाकिस्तान : विपक्षी पार्टीद्वारा चुनावमा धाँधली भएको भन्दै पुन:निर्वाचनको माग

उलेमा आई इस्लाम फजलका कार्यकर्ताहरुले मंगलबार प्रदर्शन गर्दै डेरा इस्माइल खान सहरमा पनु: निर्वाचन गराउन माग गरेका छन्। खैबर पख्तुनख्वा प्रान्तको उक्त सहरमा स्थानीय निर्वाचनमा धाँधली भएको भन्दै उनीहरुले पुन: निर्वाचनको माग गरेका हुन्। स्थानीय सञ्‍चारमाध्यमहरुका अनुसार जेयूआईएफका नेता ओबाइद उर रहमानले उक्त प्रदर्शनको नेतृत्व गरेका थिए। उनले जीपीओ चोकमा धर्नासमेत दिएका छन्। त्यसैगरी निर्वाचन आयोगसमक्षा ज्ञापनपत्र बुझाउँदै फेरि निर्वाचन गराउन माग गरेका हुन्।

उक्त प्रदर्शनलाई सम्बोधन गर्दै जेयूआईएफका नेता रहमानले जिल्ला प्रशासन र निर्वाचन आयोगले नै मतदानमा र मतगणनामा धाँधली गरेको बताए। उनले १७ देखि १७३ मतदान केन्द्रहरुमध्ये अधिकांश मतदान केन्द्रहरुका खाली कागजमा हस्ताक्षर गरेर पठाइएको बताएका छन्। उनले निर्वाचन आयोगले तत्काल पुन: निर्वाचन गराउन माग गरेका हुन्। आफ्ना मागहरु पूरा नभएमा परिणाम सकारात्मक नहुनेसमेत बताएका छन्। उनको पार्टीका उम्मेदवारहरुले निर्वाचनमा धाँधली भएको विषयमा विरोध गर्दै इन्दुस राजमार्गमा अवरोधसमेत गरेका छन्।