सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको ओलीको भनाई

भक्तपुर, ७ फागुन : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै उहाँले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताउनुभयो । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको जिकीर गर्नुभयो । एमाले नेतृत्वको सरकारमा एमसिसी संसद्मा पेश गर्न खोज्दा नदिएको सुनाउँदै ओलीले भन्नुभयो, “हामीले सरकारमा रहँदा संसद्मा एमसिसी पेश गरौँ भनेका थियौँ, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पु¥याइदिऔँ भन्दा उनीहरूले संसद्मा पु¥याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पु¥याउन सकेका छैनन् ।”

एमाले अध्यक्ष ओलीले एमालेका नेता, कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउँदै पार्टी छाडेर गएकाहरूलाई एमालेमै फर्कनसमेत आह्वान गर्नुभयो । चुनाव पछाडि धकल्न कोशिस गरे पनि आफ्नो पार्टीले निर्वाचन जित्ने दाबी गर्दै ओलीले भन्नुभयो, “जति नै चुनाव पछाडि सार्न खोजे पनि अबको एक वर्षभित्र हुने सङ्घीय संसद्को चुनावपछि एमालेले फेरि सरकार चलाउँछ ।” कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले भक्तपुरमा विकासले फड्को मारेको दाबी गर्नुभयो ।(रासस)