४५ वर्षदेखि रामकृष्णको प्रतीक्षामा परिवार, जसले प्रजातन्त्र स्थापनाका लागि कमलपोखरीको घर नै गुमाए

काठमाडौँ- प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि २८ वर्ष सङ्घर्ष गर्नुभएका रामकृष्ण द्विवेदीले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा लाग्दै कमलपोखरीको घर नै गुमाउनुभयो । विसं १९८६ को फागुनमा कमलपोखरीमा जन्मनुभएका रामकृष्ण १९ वर्षको उमेरमा विसं २००५ देखि नेपाली कांग्रेसमा सक्रिय हुनुभएको थियो । नेपालबाट जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि उहाँ मुक्ति सेनामा सक्रिय हुनुभयो । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले २००७ साल कात्तिक २६ गतेदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रामकृष्ण रक्सौल, जयनगर–जनकपुर क्षेत्रको कमाण्डरका रुपमा सक्रिय हुनुभएको थियो ।

एकतन्त्रीय राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि त्यस क्षेत्रमै पहिलो फायरिङ गर्ने इतिहाससमेत रच्नुभएका उहाँ केही समयपछि पक्राउ पर्नुभयो । केही महिनाको कठिन कारावासपछि प्रजातन्त्र स्थापना हुने दुई दिनअघि अर्थात् २००७ साल फागुन ५ गते उहाँ रिहा हुनुभएको थियो । राणा शासनको अन्त्यपछि रामकृष्ण टोल सुधार सङ्घ र पार्टीको जिल्ला स्तरीय नेतृत्वमा सक्रिय हुनुभयो ।

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भए पनि राजनीतिक अन्योलता कायम थियो । राजा त्रिभुवनले घोषणा गर्नुभएअनुसार संविधानसभाको निर्वाचन हुन सकेन । संविधानसभाको निर्वाचन नगर्न अनेक राजनीतिक षड्यन्त्र भए । प्रजातन्त्र स्थापना भएको भनिए पनि कुनै पनि निर्वाचन नहुँदा राजाबाट मनोनीत सरकारले देश चलाउन थाले । यसको विरोधमा कांग्रेसले २०१४ सालमा भद्र अवज्ञा आन्दोलन ग¥यो । जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन गर्ने व्यवस्था स्थापनाका लागि उहाँ पनि त्यस आन्दोलनमा सक्रिय हुनुभयो ।

भद्र अवज्ञा आन्दोलनका क्रममा रामकृष्ण फेरि गिरफ्तार हुनुभयो । नजरबन्दबाट छुटेपछि पुनः उहाँ पार्टी सङ्गठन विस्तारका काममा लाग्नुभयो । विसं २०१५ फागुन ७ गते सम्पन्न पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन उहाँ लाग्नुभयो । निर्वाचनपछि पार्टीका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । सरकारले ‘जसको जोत उसको पोत’ जस्ता जनमुखी कार्यक्रम अघि सारेपछि भूमिपति एवं उच्च घरानियाँको कोपभाजनमा प¥यो । त्यो शक्तिको उक्साहटमा तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाली सेनाको आडमा पहिलो जननिर्वाचित सरकारलाई अपदस्त गरी निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात गर्नुभयो ।

तत्कालीन राजा महेन्द्रको प्रजातन्त्र विरोधी कामका विरुद्ध रामकृष्णजस्ता युवा खरो रुपमा सडकमा निस्कनुभयो । उहाँलाई प्रहरीले समाती डेढ वर्षसम्म कठोर यातनासहित कारागारमा राख्यो । कारागारमुक्त भएपछि पद र पैसाको प्रलोभनमा लागेका कयौँ कांग्रेस कार्यकर्ताले विभिन्न अवसर पाए । तर रामकृष्णले प्रजातन्त्रको मूल्यमा पद र पैसासँग सम्झौता गर्नुभएन ।

यसै समयमा दुई छोरा र पत्नीसहितको जीवन निर्वाह गर्न धौधौ भयो । यसैबीच उहाँ राजनीतिमा सक्रिय भई परिवारमा आय आर्जन गर्ने मानिस नभएपछि कमलपोखरीको घर बिक्री गरेर परिवारले जीवन निर्वाह गर्न बाध्य हुनुपरेको थियो ।

विकट पारिवारिक परिस्थितिले पनि उहाँको प्रजातन्त्र पुनःस्थापना गराइ छाड्ने सङ्कल्पमा प्रभाव पार्न सकेन ।

यता पञ्चायती सरकारसँग पद र पैसामा सम्झौता नगर्ने नीति लिनुभएका रामकृष्ण भने भारत निर्वासनमा जान बाध्य हुनुपरेको थियो । त्यसबेला जेल मुक्त भएका काँग्रेसका नेता कार्यकर्तालाई पद एवं पैसा बाँडेर पार्टीको सङ्गठन कमजोर बनाउने पञ्चायती सरकारको नीति थियो । त्यस नीतिको पछि उहाँ लाग्नुभएन । भारत निर्वासनका क्रममा पनि विसं २०२१ मा उहाँ कलकत्तामा राजनैतिक बन्दी बनाइनुभयो । भूमिगत रुपमा २०२३ साल चैत महिनामा नेपालमा फर्किएर पार्टी सङ्गठन बिस्तार अभियानका माध्यमबाट प्रजातन्त्र पुनःस्थापनामा लाग्नुभएका रामकृष्ण २०२६ सालमा प्रशासनले कडा निगरानी गर्न थालेपछि फेरि भारत निर्वासनमा जान बाध्य हुनुभयो ।

कहिले भारतमा कहिले नेपालमा लुकिछिपी उहाँले प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान गर्नुभयो । निर्वासित जीवनबाट २०३२ चैतमा नेपाल फर्किएर भूमिगत रुपमा राजनीतिक गतिविधिमा सक्रिय हुनुभएका रामकृष्ण २०३३ सालको बडादशैँअघि एक्कासी परिवारका बीचबाट अलप हुनुभयो । अलप भएको ४५ वर्ष पूरा हुँदा पनि परिवारमा उहाँको अत्तोपत्तो छैन ।

उहाँकी धर्मपत्नी सावित्री बिरामी भएर दुई महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएपछि परिवारले उहाँको आवश्यकता बढी नै महसुस गरेको छ । उहाँका कनिष्ठ सुपुत्र अधिवक्ता विश्वभूषण दवाडी पिताको अवस्था थाहा पाउन परिवारका लागि जरुरी भएको बताउनुहुन्छ । प्रजातन्त्र सेनानी रामकृष्णको अवस्थाका बारेमा थाहा नपाएर पितृ ऋण मुक्तिका लागि गर्नुपर्ने काममा समस्या हुनेभएपछि पार्टीले खोजखबरमा केही गरिदिन्छ कि भन्ने आशामा परिवारजन रहेका छन् । कांग्रेस नेतृत्वको सरकारले उहाँको वास्तविक अवस्थाका बारेमा खोजखबर गरिदिन परिवाजनको माग छ ।

आमाको स्वास्थ्य बिग्रिएपछि अमेरिकामा रहनुभएका जेठा छोरा दीपक दवाडी पनि अहिले नेपाल आइपुग्नुभएको छ । उहाँको चाहना पनि पिताको अवस्था पत्ता लगाउनु रहेको छ । जीवनकालका २८ वर्ष प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि लाग्नुभएका रामकृष्णको लामो समय पितृ वात्सल्य नपाए पनि दुवै पुत्रलाई कुनै गुनासो छैन । प्रजातन्त्र प्राप्ति एवं पुनःप्राप्तिमा उहाँले गर्नुभएको योगदानबाट परिवार प्रसन्न रहेको छ । रामकृष्ण सबै जनतालाई अभिभावकत्व दिनुभएकामा परिवारजन खुसी रहेको हो ।

प्रजातन्त्र प्राप्तिका लागि कमलपोखरीको घर गुमाएको दवाडी परिवारले २०३४ सालतिर राजनैतिक पीडितलाई सर्लाहीमा दिएको सहयोग भने पाएको छ । सर्लाहीमा तीन बिगाहा जग्गा पाएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसका पूर्वमहामन्त्री वासु रिसालका समकालीन नेता रामकृष्णलाई बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पनि माया र सम्झना गर्ने गर्नुभएको थियो ।