बलिउडका यी चर्चित नायिकाहरुसँग अन्तत नेपाल आउने भए सलमान खान

काठमाडौँ — भारतीय चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । सलमान खानसहित भारतीय कलाकारको टोली आगामी वैशाख ३ गते नेपाल आउन लागेका हुन् ।

सलमान सहित नेपाल आउने टोलीमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार रहेका छन् । दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहितको टोली नेपाल आउन लागेको हो ।

१० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको बताइएको छ ।

सलमानसहितको टोलीलाई भुक्तानी गर्नुपर्ने कुल रकममध्ये ४ करोड पारिश्रमिक पठाउन ओडीसीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको बताइएको छ ।

स्रोतका अनुसार एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो । सलमान खानको कार्यक्रम गर्ने स‌ंस्थाले त्यसबेला आयोजकबाट लिएको बैना रकम फिर्ता नगरी कार्यक्रम नै गर्ने सम्झौता गरेकाले यो कार्यक्रम आउने वैशाखमा रंगशालामा हुने बताइएको छ ।