किन्जाबजार,बाटुली र म- दिपक रोक्का

  •  दिपक रोक्का

‘बाटुलीले भोली किन्जाबजार घुम्न जाउँ भनेकी छे , तिमी पनि जाने हो ?’, टुटु खेलिरहेको बेला सानीमैयाँले माथ्लो गह्राबाट एक्कासी सोधिन। सानीमैयाँको आवाज सुनेपछि खुट्टाले दौडिदा दौडिदै र मुखले टुटु भन्दा भन्दै एक्कासी रोक्किन पुगें । एकछिन टोलाएछु, मलाई पत्तो भएन । टोलाएँ किन भन्दा म बाटुलीसँगको प्रेमको युद्धमा हार्नै लागेको एउटा सिपाही थिएँ । मलाई बाटुलीसँग घुम्न जानुमा खासै उत्साह थिएन, उमङ्ग थिएन तर झिनो आशा भने नपलाउने कुरै भएन । मनमा सानीमैयाँले फेरी एक्कासी ताजगी ल्याइदिइन् ।

‘के वाल्ल परेको ? जाने भए जाने भन, नजाने भए नजाने भन।’,सानीमैयाँले झर्किदै मेरो सहमति मागिन ।

‘हुन्छ, म जान्छु नि! किन नजानु?’, व्यग्रभावमा मैले सहमति जनाएँ ।
‘ हुन्छ त ल! म अहिले हिँडे। भोली बिहानै यरमाखुको रातमाटे चौतारोमा भेट्ने अनि सँगसँगै जाने है! समयमै आइपुग नि फेरी!’, यति भनेर सानीमैयाँ घरतिर लागिन ।

सानीमैयाँ पनि चौलाखर्क स्कुलमा मेरै कक्षामा पढ्ने साथी हुन् । उनको घर र मेरो घर नजिकै थियो । गाइबस्तु चराउँदा, बिहान बेलुका घाँस काट्दा, बनमाराका झिक्रा खोज्दा, गोठ सार्दा सानीमैया र मेरो भेट भइरहन्थ्यो । मेरा हरेक क्रियाकलापहरुलाई बाटुलीसँगको प्रेम प्रसँगसँग जोड्न सानिमैयाँ माहिर थिइन। बेला बेलामा जिस्काइरहन्थिन् र मुटुमा चस्का रोपिरहन्थिन् ।  म बाटुलीलाई चौपट्टै मनपराउँछु तर बाटुलीले मलाई पिटिक्कै मन पराउँदिनन् भन्ने कुरा उनिलाई राम्रो सँग थाहा थियो। तर हामी दुइबिचको प्रेमलाई निष्कर्षमा पुर्याउन हरपल उनि प्रयासरत रहन्थिन् । मैले मनपराएको कुरा बाटुलीलाई सुनाउने मात्र हैन, कहिलेकाहीँ त दुबै जनाको भेट जुराएर बाटुलीको मनमा मेरो मायाको बिउ रोपिदिन हरतरह गर्थिन तर सफल भने हुन सकेको थिइनन् ।

बाटुलीको मनभित्रको मायाको ढोका उघार्न सितिमिती सजिलो थिएन । लाग्थ्यो–उनि पत्थर हुन्, हत्तपत्त पग्लिन्नन् । तर मेरो आत्माबिश्वासले भन्थ्यो– निरन्तर तप्किरहने पानीको थोपा बन्न सके पत्थर पगाल्न अबस्य सम्भब छ । त्यसैले म बाटुलीनामको पत्थरलाई पगाल्न कुनै क्षणिक हैन, निकै लम्बे यत्नको यात्रामा थिएँ।

बाटुलीको बेवास्थासँग म किन्चित बिचलित भइन । पिरतीको धुप बालेर म सधै  हिंडिरहेको हुन्थें । लाग्थ्यो– त्यो धुपको सुगन्धले बाटुलीलाई एकदिन अबस्य स्पर्श गर्नेछ ।

किन्जा जाने दिन म बिहान सबेरै उठें । रुखमा कुन्यू बनाएर झुण्डाएको घाँस पाँच मुठा जति भुइमा झारेँ र भैसीको गोठमाथिको गह्रामा पुर्याएर छोडिदिएँ । रुखमा झुण्डाएको घाँस मैले नै झार्नुपथ्यो किनकी हजुरबुवा रुखचढ्न सक्नुहुन्नथ्यो। मैले केटीहरुसँग किन्जाबजार घुम्न जाने कुरा हजुरबुवालाई त्यो दिन सुनाइन किनकी म बरालिएर हिंडेको हजुरबुवालई पिटिक्कै मनपर्ने थिएन । हजुरबुवा सधैं भन्नुहुन्थ्यो, ‘स्कुल छुटाउनु हुँदैन, पढाइ बिग्रिन्छ।’

ढिला हुन लागिसकेको थियो । आफूसँग पर्समा भएको पैसा एकचोटी गनेँ । किन्जामा दुनोट,पाउँरोटी किनेर खान र भिडियो हेर्न नपुग्ने पो हो की? भन्ने शंका मनमा उब्जियो । केही कुखुराको अण्डा पनि झोलामा बोक्ने निधों गरें किनकी अण्डा किन्जा बजारमा सजिलै पाँच रुपैयामा बिक्थ्यो । सुटुक्क तलामाथि उक्लिएँ। हजुरआमाले मकैको भकारीमा गाढेर राखेका पाँचवटा अण्डा निकाले र डराउँदै डराउँदै ल्याएर सुटुक्क झोला भित्र घुँसारे । त्यतिभए किन्जाबजारको लागि खाइखर्च मनग्गे पुग्थ्यो । मैले अलि बढि खर्चको जोहो किन गरें भन्दा बाटुलीले खाएको चिया नास्ता, दुनोट र भिडियो हेर्ने खर्च सबै म तिर्न चाहान्थें , उनिलाई आफ्नोपनको महसुस गराउन चाहान्थें ।

म घरबाट स्कुल जान भनेर निस्किएँ । निस्किदैं गर्दा हजुरबुवाले भन्नुभयो,‘आज कहिँ नबरालिकन घर सरासर आइज है , तँ आएसी गोठ सार्नुपर्ने छ । भैसीको थलो अलि बढिनै हिलाम्मे भाको छ।’हस् भनेर म रातमाटेको चौतारो तिर हानिएँ ।

रातमाटे पुग्दा सानीमैयाँ र बाटुली चौतारोमा मलाई कुरिरहेका रहेछन् । म ढिला आएकोमा सानीमैयाले गाली पनि गरिन् । घरमा बस्तुभाउलाई घाँसपात आफै गरेर आउनुपरेको हुँदा केही ढिला भएको भनि मैले अवगत गराएँ । कुर्नुपर्दाको थोरै रिसको पोको बोकेर अगाडि लागे । म पछि पछि । दुइजना एकअर्कामा खुबै गफिएका छन् । म भने कुशल श्रोतामा मात्रै सिमित थिएँ । बाटुलीको कोकिलकण्ठी स्वर, लजालु मुस्कान, मुलायम शरिर देखेर मष्तिष्कमा बिभिन्न मायाका भावनाहरु छालबनेर छछल्किन्थे । मनमनै सोच्थें –बाटुलीको काखमा पल्टिएर ति मुलायम हातहरुले मेरो केश सुम्सुमाउँदा सुखको अनुभुति गर्ने दिन कहिले आउँला ? अंगालो मारेर छातिमा टाँस्दै मनलाई सितलता प्रदान गर्ने दिन कहिले आउँला ?

हिड्दै गर्दा उनिहरुको कुरालाई टिपेर किस्सा बुन्ने कोशिस गर्थें। बाटुली म तिर हेरेर हाँसे झै गर्थिन। मन फुरुङ्ग हुन्थ्यो । कहिले काँही डरपनि लाग्थ्यो तर ति डरहरु डर थिएनन, नितान्त प्रेम थिएँ । जुन प्रेम हुर्काउन , बढाउन र सजाउन चाहान्थें ।

हिड्दाहिड्दै डुँडाको बौद्ध नजिकै हामी आइपुगेका रहेछौं । बाटोभरी गफिंदा त्याहाँ आइपुगेको पत्तो नै भएन । डुँडाको बौद्ध कटेर अलिपर पुगेसी किन्जाको आधी बजार देखिन्छ । केही समय थकाइमार्ने र बजार समेत नियाल्ने हामीले निंधो गर्यौं । एउटा ठूलो ढुंगामाथि हामी बस्यौँ र मकै भटमास चपाँउँदै बजार हेर्नतिर लाग्यौं ।

बजार साँच्चिकै सुन्दर थियो । गाउँभित्र हुर्किदै गरेको एउटा सानो शहर जसले गाउँलेहरुलाई शहरी जिबनशैलीको कखरा सिकाउने गथ्र्यो । खोंचको बिचैमा सानो समतल भुभाग र लिखुनदिको किनारैमा अबस्थित किन्जाबजार सबैको मन बिसाउनै चौतारी थियो । नुम्बुर हिमाल र लिखु नदिको  चिसो हावाको शितलताले त झन निक्कैबेर बसुँ बसुँ लाग्थ्यो । ढुङ्गा कुँदेर बनाइएका बिशाल घरहरु, निला, राता र सेता रंगले रंगिएका झ्याल र छानोहरुले गाउँलेहरुको मन नबहलाउने कुरै भएन । त्याहाँमाथि झन् बिभिन्न भेष र जिवनशैली बोकेर सगरमाथासम्मको यात्रामा हिंडेका स्वदेशी तथा बिदेशी पर्यटकहरुले त किन्जाबजार झनै झकिझकाउ बनाएका हुन्थे ।

बजार घुम्न गाउँलेहरु असाध्यै रहर गर्थे किनकी शहरमा पाइने सुख सुविधाहरुको क्षणिक भोगचलन गर्न पाउँथे ।  भिडियो हेर्न पाइन्थ्यो । सधै मकैको च्याँख्ला र ढिँडोको स्वादले दिक्क भएको जिभ्रोले दुनोट,पाउरोटी र केकको स्वाद फेर्न पाउँथ्यो । ब्यापारीहरुको ब्यापार सम्बन्धिका गफगाफहरु  सुनिन्थे । धनआर्जन गर्ने सजिला उपायहरु हरु बुझ्न पाइन्थ्यो,सुन्न पाइन्थ्यो। टाढा टाढाका साथीभाइहरुसँग भेट गर्ने मौका मिल्थ्यो । ब्यस्त गाउँले जिवनबाट क्षणिक टाढा रहेर मनलाई शान्ति दिन पाइन्थ्यो ।

केही समय थकान मेटाएर अगाडि बढ्यौं । ओरालो झरेर झोलुङ्गे पुल तरेपछि हामी किन्जा बजारभित्र प्रवेश गर्यौं। हामीलाई कुनै नयाँ सँसारमा पुगेजस्तो अनुभुति भयो । सधैं गाइभैसी र भिरपाखामात्रै देख्ने आँखाहरुले त्यो सानो शहरको कोलाहल र  व्यस्ततालाइ देख्न थाले ।  बजार पुगेपछि पहिला खाजा खाने अनि भिडियो हेर्ने भनेर हामीले योजना बनाएका थियौं । सोही बमोजिम हामी एउटा होटल भित्र छिर्यौ। बाटुलीले नुनिलो पिरो चिज खाने भनिन् । त्यसैले थुक्पा ठिकहोला भनेर हामीले अर्डर गर्यौं । शेर्पीनी दिदीले एकैछिनपछि थुक्पा ल्याइदिनुभयो। टिमुरको स्वादमा थुक्पा मिठो लाग्यो । बाटुलीले जिभ्रो पड्काउँदै खाको म हेरिरहेको हुन्थें । उनले पनि बेलाबेलामा मैले खाको पुलुक्क हेरिरहेको हुन्थिन् । कहिलेकाँही त खाँदाखादैं आखा जुध्न पुग्थ्यो । मुसुक्क मुस्काउँथिन। बाटुलीको मुस्कानले मेरो मनमा प्रेमको भुइचालो आउँथ्यो र लाग्थ्यो –अब त संसार पक्कै जितँे ।

थुक्पा खाइसकेपछि म पैसा तिर्न तम्सेँ । सानीमैयाँले भनिन् , ‘ठिकै छ, अहिले तिर्र्नदिउँ , भिडियो हेरेको पैसाचाहिँ हामी तिरौँला” । मैले हुन्छ भनें । हामी भिडियो हलतिर लाग्यौं । शेर्पा दाईले सानोकोठामा भिडियोहल बनाउनु भएको रहेछ । बिसजना जति अटिन्थ्यो होला । हामीपनि पैसा तिरीओरी भुइमा बस्यौं । हामीलाई के हेर्ने ? कुन फिल्म हेर्ने कुनै ज्ञान थिएन । शेर्पा दाइले फिल्म लगाइदिनुभयो, हामी हेर्न थाल्यौं । फिल्म कस्तो हो ? के हो ?  भन्ने ज्ञान नभएका कारण जेदेखाएपनि हामी हेर्ने वाला थियौं । हिरो, हिरोइन र फिल्मको नाम समेत थाहा पाएनौं तर कथाभने बुझिराखेकै थियौं । फिल्म मेरो र बाटुलीको प्रेम कहानीको एउटा बिम्ब थियो जहांभित्र अनेकौं तितामिठा क्षणहरूको मिश्रण भेटिन्थ्यो । एकैनासको कथाबस्तुको संयोगले फिल्म अझ चाखलाग्दो भएको मैले महसुस गर्थें । मैले जसरी नै हिरोले हिरोइनलाई अनेक बहानामा फकाइरहेको थियो,लोभ्याइरहेको थियो ।हिरोले हिरोइनको मन जसरीपनि पगाल्न चाहान्थ्यो ।

फिल्मको मध्यान्तरतिर सानिमैयाँ मतिर फर्किदैँ भनिन्, “के हो ? कथा त तिमीहरु दुइजनासँग ठ्याक्कै मिलेछ गाँठ्ठे ।’
फिल्मको अन्तिम अन्तिममा हिरोले हिरोइनलाई पट्टाएको देखेर सानिमैयाँ मतिर फेरी फर्केर मुस्कुराउँदै भनिन्, ‘बाटुलीलाई छोड्ने हैन है । यसको पनि मन टिभीकी हिरोइनको जस्तै छ । एकदिन त पक्कै पग्लिन्छे’।  बाटुली खितिति हाँसिन् । मन प्रफुल्लित भयो । सफल प्रेम कहानी सहितको फिल्म सकियो । खुसिले गद्गद् हुंदै हामी बाहिर निस्क्यौं ।

फिल्म हेरिसकेपछि हामीलाई बजार एकफन्को मार्नुथियो , मार्यौं । रमाइलो हेर्नुथियो, हेर्यौं । गाउँको काखमा हुर्किदै गरेको सानो शहरलाई न्यानो स्पर्श गर्नु थियो, गर्यौं। घर जान ढिला भइसकेको रहेछ । चिनी हालेको गुलियो चिया र दुनोटको स्वादले मन भरिलो बनाउँदै हामी घरतर्फ फर्किर्यौ ।

मलाई लागेको थियो–बाटुली त्यो दिन मेरो मायाको पासोमा पक्कै परिन तर हैन रहेछ । झन फर्किदै छौं, झन बाटुली ठुस्स परेको मलाइ आभाष हुन्थ्यो ।फर्किदाको अबधिभर  बाटुलीले सानीमैयाँसंग मात्र कुरा गरिन्, म संग गरिनन् । कहिले काही म तिर पछाडि फर्केर पुलुक्क हेर्थिन तर मायाको संकेत उनको मुहारले दिदैनथ्यो । अफसोस् खुसीले फुरुङ्ग भएको मन फेरी एक्कासी निराशामाथि थच्चारियों । छुटिनेबेला म तिर हेर्दासमेत नहेरी गएँ है भनिन् , गइन । त्यो दिन किन्जाबजारले मेरो मनलाई खुसी हैन झन पिडा थपिदियो। ।

हृदयलाई छोएको प्रेम हतपति बाहिर निस्किन मान्दैन । खिलबनेर हृदयमा बिझेको हुन्छ।  । सधै बल्झिरहन्छ । सायद त्यहि भएर होला,  पिरतिका कथाहरु  हृदयबाट कागजमा पोखिन  पनि अफ्ठ्यारो मानिरहन्छन्।