कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास, एक जना पक्राउ

काठमाडौं ।  आज एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् ।

तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए । पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।

त्यसै गरी बन्द गराउन निस्केका ६ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी मैनालीले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् ।