चीनले नेपालको सीमा अतिक्रमण गरेको प्रतिवेदन

चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ । चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको छ । चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी गरिएको हो । बीबीसी विश्व सेवाले आफूलाई प्राप्त प्रतिवेदनको हवाला दिंदै हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो ।

नेपालको सरकारी स्तरबाट उत्तरी छिमेकीले सीमा मिचेको निष्कर्ष पहिलो पटक आएको पनि बीबीसीले उल्लेख गरेको छ। चीनले सीमा मिचेको भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएपछि सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुसहितको कार्यदल बनाएको थियो । उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

हुम्लामा चिनियाँ पक्षले नेपालतर्फ मिचेर भौतिक संरचना समेत बनाएको दाबी पनि प्रतिवेदनमा गरिएको बीबीसीले दाबी गरेको छ । तर नेपाल सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन । नेपाल र चीनबीच १४ सय किलोमिटर लामो सिमाना रहेको छ । तर बाह्रैमास हिउँले ढाकिने क्षेत्र धेरै भएकाले निरन्तर सीमा अनुगमन भने कठिन हुने गरेको छ ।

हुम्लाको लालुङजोङसहित सीमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमा समेत प्रतिबन्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख रहेको दाबी गरिएको छ । हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।

प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवाद समाधान गर्नुपर्ने सुझाव दिइएको छ । चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सीमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सीमा मिचेको आरोपको खण्डन गरेको छ । बीबीसीको जिज्ञाशामा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको पनि समाचारमा उल्लेख गरिएको छ । यो प्रतिवेदन अहिलेसम्म गोप्य राखिनुको कारण थाहा नभएको बीबीसीले लेखेको छ ।