अलबिदा कोकिलकण्ठ लता मंगेशकर

काठमाडौं । भारतको सबै भन्दी बढी रुचाइएकी सुप्रसिद्ध गायिका कोकिलकण्ठ लता मंगेशकर अब यो धर्तीमा रहिनन् । उनको आइतबार ९२ वर्षको उमेरमा बिहान ८ बजेर १२ मिनटमा निधन भएको हो । उपचारको क्रममा उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पताल निधन भएको हो । पछिल्लो समय उनी कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । कोरोनासँगै उनलाई निमोनिया भएको थियो । उनलाई शनिबार भेन्टिेलेटरमा राखिएको थियो । यसरी विगत २९ दिनसम्म लगातार उपचार गर्दा गर्दै उनी आइतबार सदाका लागि अस्ताएकी हुन् ।

लोकप्रिय गायिका लताको पार्थिक शरीरलाई आइतबार दिउँसो ३ बजेसम्म उनकै घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । बलिउड अभिनेता अमिताभ बच्चन, अनुपम खेरदेखि नयाँ पुस्ताका विभिन्न नायक नायिका लताको घरमै पुगेर उनको पार्थिव शरीरमा पूmल गुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा अभिनेता अमिताभले आँसु रोक्न सकेनन् ।

आइबार बेलुका मुम्बईको शिवाजी पार्कस्थित मसान घाटमा दाह संस्कार गरिएको छ । घरबाट घाटसम्म उनको शव यात्रा क्रममा सडकका पेटी तथा घरका छतबाट उनको पार्थिव शरीरमा शुभचिन्तकहरूले पूmल माला बर्साउँदै लतालाई श्रद्धासुमन अर्पण गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बेलुका शिवाजी पार्क पुगेर लता मंगेशकरको पार्थिव शरीरमा पूmलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरे । उनको निधनले भारतलाई ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति श्रद्धासुमन अर्पण गरे । लताको अन्तिम संस्कारमा अभिनेता शाहरुख खान, क्रिकेटर सचिन तेन्दुलकर, गायिका अनुराधा पौडवालसहित कैयांै कलाकार सहभागी भएका थिए । सचिनलाई लता मंगेशकरले छोराका रूपमा मान्दै आएकी थिइन् । सोही कारण अन्तिम संस्कारको समय सचिन निकै भावुक भएका थिए ।

यी गायिकाको राष्ट्रिय सम्मानका साथ आइतबार बेलुका अन्तिम संस्कार सम्पन्न भएको छ । गायिका लताको निधनमा भारत सरकारले दुई दिनको राष्ट्रिय शोक पनि घोषणा गरेको छ । उनको निधनमा महाराष्ट्र सरकारले शोक व्यक्त गर्दै सोमबार एक दिन महाराष्ट्र प्रदेशमा बिदा घोषणा गरेको छ ।

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य प्रदेशको इन्दोरमा भएको थियो । उनी बाल्यकालदेखि नै गीत गाउन निकै खप्पिस थिइन् । उनका बुबा आफैं नाटकका कलाकार थिए । बुबाले गीत गाएको देखेर उनी बुबाको नक्कर गर्दै गीत गाउँथिन् । आफ्ना बुबाले गाउन प्रेरण दिएपछि उनी गायनमा अघि बढ्न थालिन् । स्कुलमा उनी निकै परिपक्क गायिकाका रूपमा चिनिसकेकी थिइन् । सोही क्रममा उनले १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गरिन् । सो गीत गाएबापत गायिकाका रूपमा लता मंगेशकरको पहिलो कमाइ मात्र २५ रुपैयाँ थियो । सन् १९४२ मा उनले मराठी फिल्म किट्टी हसलका लागि गीत गाइन् । तर त्यो फिल्म रिलिज भएन । यसरी १३ वर्षको उमेरदेखि नै लता मंगेशकरले काम र संगीतमा आफूलाई समर्पित गरिन् ।

लता मंगेशकरले जीवनभर स्वरको अभ्यास गरिन् । आफ्नो बुबाको मृत्युपछि लता मंगेशकरले परिवारको जिम्मेवारी सम्हाल्न कलाको क्षेत्रमा पाइला टेकेकी थिइन् । घरपरिवार र आफ्नो गायन करिअरमा उनी यती व्यस्त भइन् कि जीवनकालमा लताले विवाहसमेत गरिनन् । यसरी २५ रुपैयाँबाट आफ्नो गायन यात्रा सुरु गरेकी लता मंगेशकरले आज करिब ५ करोड अमेरिकी डलरको कुल सम्पत्ति छोडेकी छन् । उनका आफन्तका अनुसार लता मंगेशकरको कुल ३ सय ७० करोडको सम्पत्ति छ । उनी अविवाहित भएकाले यो सम्पत्ति खाने उनका आफ्ना सन्तान छैनन् । यद्यपि, लताको रेखदेख बहिनी आशा भोसले र उनको परिवारले गरेकाले सो सम्पत्तिमा उनीहरूको हक लाग्ने देखिएको छ ।

लता मंगेशकरले हालसम्म करिब ४० हजार गीतमा आफ्नो स्वर दिइसकेकी छन् । उनले स्वेदशी र विदेशी गरेर कुल ३६ भाषामा गीत गाएकी थिइन् । भारतमा अहिलेसम्म पनि सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिकाको सूचीमा लता मंगेशकर नै रहेकी छन् । उनी सन् १९६० देखि ८० को दशकसम्म बलिउडमा सबैभन्दा बढी व्यस्त गायिकाका रूपमा परिचित थिइन् । त्यतिबेला लताको स्वरमा गीत रेकर्ड गराउन सिनेकर्मीहरू महिना दिनसम्म पालो कुर्ने गर्थे ।

विगत केही वर्षदेखि लता मंगेशकर आफ्नो उमेर र कमजोर स्वास्थ्यका कारण गायनबाट टाढा भएकी थिइन् । उनले आफ्नो अन्तिम गीत सात वर्षअघि सन् २०१५ मा रेकर्ड गरेका थिइन् । लता भारतकी कलाकार मात्र थिइनन् । उनले पाकिस्तान, बंगलादेश, नेपालजस्ता थुप्रै देशका गीतहरू समेत गाएकी थिइन् । उनको सुमधुर स्वरका फ्यानहरू विश्वभर रहेका छन् । उनले लन्डनको प्रतिष्ठित रोयल अल्बर्ट हलमा प्रदर्शन गर्ने पहिलो भारतीय हुने गौरव प्राप्त गरेकी थिइन् ।

क्रिकेट खेललाई निकै मन पराउने गायिका लता जासुरी उपन्यास खोजी खोजी पढ्थिन । गायनमै व्यस्त रहेका बेला उनी सांसद्समेत भइन् । लता मंगेशकर एक कार्यकाल अर्थात् १९९९ देखि २००५ सम्म भारतको राज्यसभा सांसद पनि भइन् । उनी सन् १९९९ मा राज्यसभामा मनोनीत भएकी थिइन् । तर, कार्यकालप्रति असन्तुष्टि व्यक्त गर्दै उनले आपूmले अनिच्छुकताका साथ संसद्को सदस्यता लिएको दाबी गरिन् । तथापि, पाँच वर्ष सांसदको जिम्मेवारी उनले पूर्णरूपमा निर्वाह गरेकी थिइन् ।

सन २००७ मा फ्रान्सले उनलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान, अफिसर अफ दि लिजन अफ अनरले सम्मान गरेको थियो । उनलाई पद्मभूषण, पद्मविभूषण, दादासाहेब फाल्के अवार्ड र कैयौं राष्ट्रिय चलचित्र पुरस्कारलगायतका धेरै सम्मानले सम्मानित गरिएको थियो । उनी भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट पनि सम्मानित भएकी थिइन् ।
(एजेन्सीको सहयोगमा)