जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात

काठमाडौं, माघ २३ गते । चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ ।

११ हजार मेगावाट आवरवेसमा रहेर विद्युत आयात गरेर माग पूर्ति गर्दै आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो । डिमाण्ड बढ्दै गए पनि आन्तरिक उत्पादन बृद्धि भएकाले कम विद्युत आयात गर्नुपरेको उहाँले बताउनुभयो । यसै हिउँदमा ५२ मेगावाटको लिखु, २४ मेगावाटको अपर लिखु, ११ मेगावाटको खहरे खोलाबाट गरी ८७ मेगावाट विद्युत आन्तरिक उत्पादन बृद्धि भएको प्रवक्ता भटट्राईले बताउनुभयो । प्राधिकरणले हिउँदको डिमाण्ड पूर्ति गर्न कुलेखानी जलाशयबाट एक सय मेगावाट विद्युत उत्पादन गर्दै आएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा हिउँदमा पनि आन्तरिक उत्पादन वृद्धि भएर एक हजार २५० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । उत्पादनसँगै डिमाण्ड बढेपछि प्राधिकरणले विद्युत आपूर्तिका लागि भारतबाट आयात गर्नुपरेको जनाएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनपछि बर्खा मौसममा भने विद्युत डिमाण्ड भन्दा पाँच सय मेगावाट विद्युत बढी भएर खेर जाने गरेको थियो । प्राधिकरणले बर्खा मौसममा उत्पादन भई प्रयोग नभएको विद्युत भारतलाई विक्री गरी हिउँद मौसममा भारतबाट खरिद गर्ने गरी सम्झौता गरिसकेको छ ।

हिउँद मौसममा विद्युत उत्पादन वृद्धि गर्न प्राधिकरणले जलाशययुक्त आयोजना निर्माणमा जोड दिएको जनाएको छ । उत्पादनसँगै वितरण प्रभावकारी बनाएर खपत बृद्धि गर्ने गरी प्राधिकरणले काम अघि बढाएको प्रवक्ता भटट्राईले जानकारी दिनुभयो । अधिकांश आयोजनाहरुमा पानीको सतह कम भएसँगै विद्युत उत्पादन ६० प्रतिशत भन्दा कम उत्पादन हुने गरेको प्राधिकरणले जनाएको छ । गत वर्षको हिउँद मौसममा एक हजार तीन सय मेगावाट विद्युत माग रहेपनि यस वर्ष एक हजार ७१० मेगावाट विद्युत डिमाण्ड भएको प्राधिकरणले जनाएको छ ।