प्रदेश १ मा मन्त्रीहरूको शपथग्रहण कार्यक्रमस्थलबाहिर विरोध प्रदर्शन

मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको विरोधमा विपक्षी दल एमाले समर्थित युवा र विद्यार्थी संगठनले शपथग्रहण कार्यक्रमस्थलनजिकै विरोध प्रदर्शन गरेका छन्। आज हुन गइरहेको प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीहरूको शपथग्रहणको विरोध गर्दै युवा संघ मोरङ र अनेरास्ववियु मोरङले विरोध प्रदर्शन गरेका हुन्।

युवा र विद्यार्थी संगठनले शपथग्रहण आयोजना हुने कञ्चनबारीस्थित प्रदेश प्रमुखको कार्यालय जाने कोसी राजमार्ग र भित्री सडकखण्डमा बसेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। विरोध प्रदर्शनकै कारण आज बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम केही ढिलाइ हुने भएको छ।

प्रदर्शनपछि प्रदेश प्रमुखको कार्यालय र आसपासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। सातदेखि आठजना नयाँ मन्त्री र राज्यमन्त्रीलाई शपथ खुवाउने गरी प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयले सबै आन्तरिक तयारी पूरा गरिसकेको सूचना अधिकारी विमल पौडेलले जानकारी दिएका छन्।

पाँचदलीय गठबन्धनबाट १६ कात्तिकमा नियुक्त भएका प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या सातबाट बढाएर १२ वटा पुर्‍याएर थप मन्त्रीहरू आज नियुक्त गर्दै छन्। १७ कात्तिकमा उनले एक राज्यमन्त्री र चारजना मन्त्री नियुक्त गरिसकेका छन्। भागबन्डाका लागि मन्त्रालय फुटाएर खर्च बढाएको भन्दै विपक्षी दल एमालेले विरोध गर्दै आएको छ।