दुर्गमकी चेलीको स्टाफ नर्स पढ्ने सपना अधुरै

माझखर्क (दैलेख) । ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया कशिोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स पढ्ने रहर जागेको थियो ।

तर, विडम्बना स्टाफ नर्स बन्ने सपना बोकेकी दशौदीको आजभोलि भाइबहिनीको रेखदेख र घरायसी काममा अधिकांश समय बित्ने गरेको छ । २०७२ सालमा आमा मनीषाको मृत्युपछि घरायसी कामको बोझ भुवानसराको थाप्लोमा थोपरिएको हो । भुवानसरा पढाइमा राम्रो छात्रा हुन्, तर आजभोलि घरायसी कामको बोझले पहिले जस्तो पढाइ नभएको शिक्षक भिमबहादुर भण्डारीले जानकारी दिए । कसैले आफूलाई सहयोग गरेमा स्टाफ नर्स पढ्ने सपना पूरा हुनेमा आशावादी छन् ।

बिहान उठ्नेबित्तिकै ढिकी जाँतो, चुलोचौकामा उनको समय बित्छ । भाइबहिनीलाई खाना खुवाएर स्कुल पठाइसकेपछि मात्र आफू पढ्न जान्छन् । आर्थिक अवस्था कमजोर हुँदा भुवानसराका दाजु हिमराज दशौदीले विद्यालय जानका लागि कापी, कलम र झोलाको जोहो गर्न नसक्दा विद्यालय जान छोडिसकेका छन् । हिमराजले विद्यालय छोडेको चार वर्ष भयो । दाजु हिमबहादुरले त पढाइ छोडे । अब मेरो पढाइ पनि हुँदैन जस्तो लागेको छ । भाइबहिनीलाई पढाउनुप-यो, भुवानसराले पीडा सुनाइन् । आमा बिरामी हुँदा घरमा धेरै ऋण लागेको छ । दशौदी परिवार अहिले त्यो ऋण कसरी तिर्ने चिन्तामा छन् ।

‘गाउँमा उत्पादन केही पनि हुँदैन । उत्पादन भएको वस्तु विक्रीका लागि नजिक बजार छैन । छोराछोरीलाई कापी, कलम र कपडा कसरी किन्ने भन्ने चिन्ता लागेको छ । छोराछोरी कहिले जुत्ता स्कुलको कपडा भन्छन्, नानीकी आमा बिरामी हुँदा लिएको साहुको ऋण तिर्न सकेको छैन,’ मनबहादुर दशौदीले दुखेसो पोखे । मनबहादुरका घरमा ६ वटा बाख्रा, एक हल गोरु एक भैंसी छ । आम्दानीको स्रोत भनेको पनि यही हो । उनले थपे, ‘कलिलै उमेरमा पत्नी गुमाएका दशौदी छोराछोरीकै लागि मुग्लान नगएको बताउँछन् । छोराछोरी साना छन्, छोडेर कसरी जाने भारत गएको भए साहुको ऋण तिर्न सकिन्थ्यो ।’

आर्थिक अवस्था कमजोर भएका दशौदी परिवारका बालबालिका झोला नहुँदा बोरामा कापी किताब हालेर विद्यालय जान्छन् । तपेन्द्र अमृता सरस्वती आधारभूत विद्यालय बजायामा पढ्छन् भने भुवनसरा माझखर्क विद्यालयमा पढने गरेको बाबु मनबहादुरले बताए । सरहरूले डे«स लगाएर आउनु भन्नुहुन्छ । म एक्लो मान्छे गाई, बाख्रा चराउनेकी काममा जाने । छोराछोरीलाई पढाएर जागिर खुवाउने रहर बाबु मनबहादुरको छ ।