एमसीसीमा भएका राष्ट्रघाती बुँदा हटाउनु पर्छ : खतिवडा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपालको काठमाडौं जिल्लास्तरीय प्रथम भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले अमेरिकन सहयोग परियोजना (एमसीसी) का राम्रा/नराम्रा दुवै पक्षलाई सन्तुलित ढंगले अनुसन्धान गरी यथार्थपरक विषयवस्तुलाई पत्रकारले जनतासमक्ष ल्याउनुपर्ने बताए। संगठनका इन्चार्जसमेत रहेका खतिवडाले उक्त परियोजना संसद्मा कसरी प्रस्तुत गर्ने, सामान्य बहुमत वा दुई तिहाइ मतले पारित गर्नुपर्ने विषय प्रस्ट नभएकाले त्यससम्बन्धी कार्यविधि बनाउनुपर्ने र राष्ट्रको हितमा नभएका केही राष्ट्रघाती बुँदा भए त्यसलाई हटाउनु पर्नेमा जोड दिए।

पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य कुसुम कार्कीले सामाजिक न्याय, समानता, स्वाभिमानको पक्षमा पत्रकार क्रियाशील हुनुपर्नेमा जोड दिँदै पार्टी सदस्य संरक्षण कोष निर्माणका क्रममा रहेको जानकारी दिए। संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले संगठन देशैभर विस्तारका क्रममा रहेको उल्लेख गर्दै पत्रकारको व्यावसायिक हकहित र अधिकार संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताए। पार्टीका केन्द्रीय सदस्य आशिष घिमिरेले विश्व परिवेशमा समाजवादी अर्थ व्यवस्थाको दार्शनिक पक्षका बारेमा उल्लेख गरे।

उपाध्यक्षद्वय सन्तराम बिडारी, विश्वमणि सुवेदी, महासचिव भूपराज खड्का, उपमहासचिव रामकुमार एलन, कोषाध्यक्ष कृष्णराज गौतम, उपत्यका संयोजक सबिन शर्मा लगायतले उक्त संगठनमा आबद्ध सञ्चारकर्मीको आचरण र व्यवहार सामाजिक हुनुपर्ने, समाजप्रति जिम्मेवार, जनताको सेवा गर्ने भावना तथा चिन्तनको विकास गरी अगाडि बढ्नुपर्ने सुझाव दिए।

कार्यक्रममा भीम लामाको नेतृत्वमा १७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरिएको छ। संगठनका इन्चार्ज खतिवडाले टीका तथा नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईंले खादा लगाएर कार्यसमिति सदस्यहरूलाई स्वागत गरेका थिए। -रासस