हिमपातमा बाहिर निस्कनै मुस्किल , प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

बैतडी, २२ माघ -लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ । अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकालाई बढी समस्या हुनसक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ । यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल भएको छ ।”

वर्षासँगै हिमपात भएपछि किसानहरु खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । (रासस)