युक्रेन संकटमा रुसलाई चीनको साथ

विन्टर ओलम्पिकका लागि बेइजिङ पुगेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीनका राष्ट्रपछि सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । भेटघाट पछि चीन पनि पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा रुसको साथमा उभिएको छ । युक्रेन संकटका बीच भएको यो भेटघाटपछि दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा पश्चिमा राष्ट्रहरूलाई स्पष्ट सन्देश दिइएको छ ।दुई नेताको भेटघाट पछि जारी गरेको संयुक्त वक्तव्यमा नेटोको विस्तारको विरोध गरिएको छ । साथै नेटोले शीत युद्धकालीन वैचारिक दृष्टिकोण छाडेर अन्य देशको सम्प्रभुता, सुरक्षा र हितलाई सम्मान गर्न भनिएको छ ।बयानमा दुई देशले एक अर्काको विदेश नीतिलाई समर्थन गर्ने बताइएको छ । यसको साथै एसिया प्रशान्त क्षेत्रमा सैन्य या अन्य कुनै गठजोडको विरोध गर्ने पनि वक्तव्यमा भनिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार लोकतन्त्र सीमित देशको विशेषाधिकार नभएर एक सार्वभौमिक मानवीय मूल्य भएको कुरा चीन र रुस दुवैको मान्यता रहेको बताएको छ ।