टिपरमा भ्यान ठोक्किँदा आमाछोराको मृत्यु

भरतपुर, २१ माघ ।
मुग्लिङबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । भ्यानमा सवार अर्का एक जना यात्रुको अवस्था गम्भीर छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डको पन्ध्रकिलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका ९ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकाक्रममा बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।