मानव तस्करलाई सघाएको भन्दै अध्यागमनका ९ अधिकृतलाई गृहले तान्यो (सूचीसहित)

काठमाडौंः गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरुलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ।

गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरुले मानव तस्करलाई सहयोग गरेको स्रोतले बताएको छ। गृह मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार त्रिअबी अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरुमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन्।

मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको उनीहरुमाथि आरोप छ। आरोपित कर्मचारीहरुले म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गरेका थिए। फिर्ता गर्ने निर्णयसँगै गृह मन्त्रालयले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरुको गतिविधिमाथि निगरानी गरिरहेको स्रोतले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमनसमेत गरेका थिए।

महानिर्देशक भट्टराई र विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीले अवाञ्छित गतिविधिमा संलग्न भएको आशंकामा केही अधिकृतहरुको साथबाट सेटिङमा प्रयोग हुने मोबाइलसमेत बरामद गरेको स्रोतले बताएको छ।

अध्यागमन विभागले दुई साताअघि मानव तस्करलाई सघाएको आशंकामा अध्यागमन अधिकृतहरु कुशल बराल, विनोद कुमार दत्त र विष्णु सहनीलाई फिर्ता बोलाएको थियो। गृह मन्त्रालयल र अध्यामगन विभागले विमानस्थल अध्यागमन कार्यालयबाट हुने सेटिङको बारेमा छुट्टाछुट्टै छानविन गरिरहेको छ।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक गई विभिन्न सर्वसाधारणले कठिनाइ भोगिरहेको स्थितिको विश्लेषण गरी ठोस योजना पेस गर्न सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ। पोखरेल नेतृत्वको अध्ययन समितिले काम सुरु गरिसकेको छ।

अन्नपूर्ण पोष्टबाट