अब अनलाइनबाटै भन्सार महसुल तिर्न सकिने

काठमाडौं । अब भन्सार महसुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भन्सार महसुल विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको उद्घाटन गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेका हुन् ।

योसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले बताए ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा पनि सुधार ल्याउने छ ।’

यसका साथै मन्त्री शर्माले भन्सारविन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोगमा ल्याउने बताएका छन् ।

‘हामीले ई-पेमेन्टको सुरुवात गरेका छौं । छिट्टै नै प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन मालवस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन, राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’

 techpana बाट