डिजिटल करेन्सी (क्रिप्टो) भ्रम र यथार्थ ???

  • ई. यम कृष्ण पौडेल (पिएचडी स्कलर)काठमाडौं-     प्रविधिको उच्चतम विकाससँगै विश्व बजारमा अहिले डिजिटल करेन्सीको व्यापक चर्चा, परिचर्चा र प्रयोग दिनानुदिन बढिरहेको छ । सन २००९ मा सातोशी नाकामोतो(Satoshi Nakamoto)ले व्लकचेन( Blockchain) को परिकल्पना गरेसँगै डिजिटल करेन्सीको सुरुवात भएको देखिन्छ । हाल विश्वमा करिब आठ हजार भन्दा बढी क्रिप्टोहरु संचालनमा आएका छन् । जसमध्ये विटक्वाइन(Bitcoin) र इथेरियम(Ethereum) सबै भन्दा बढी चलनमा आएका क्रिप्टोहरु हुन् ।

    के हो त क्रिप्टो करेन्सी(Cryptocurrency) ?

    क्रिप्टो करेन्सी विकेन्द्रिकृत क्रिप्टो ग्राफी भनिने एडभान्स इन्क्रिप्सन्(Encryption) प्रविधिको प्रयोग मार्फत सृजना र व्यवस्थापन गरिएको व्लकचेन प्रविधिमा आधारित डिजिटल पैसा हो । परम्परागत मूद्रा भौतिक रुपमा मूद्रण गरिएको प्रत्यक्षरुपमा देख्न, छुन वा सहजै महशुस गर्न सकिने मूद्रा हो । जस्तो उदाहरणको रुपमा तपाईंसित एक हजारको नोट हुँदा त्यसमा त्यो नोटको जिम्मा नेपाल राष्ट्र्र बैंकले लिएको हुन्छ भनि लेखिएको हुन्छ । अर्थात् यो पैसा (मूद्रा) को जिम्मेवार लिने गभर्निङ्ग संस्था हुन्छ । अहिले विश्वका प्रत्येक देशमा आफ्नो मूद्राको नियमन र नियन्त्रण गर्ने संस्थाहरु छन् । हाल विश्वमा सबै भन्दा प्रचलित मूद्रा पनि यहि हो । प्रविधिको विकास सँगै यसलाई डिजिटल पेमेन्ट सिस्टमको रुपमा सहज बनाइएको छ । जसलाई डिजिटल पेमेन्ट सिस्टम भनिन्छ ।

    क्रिप्टो करेन्सी भनेको त्यस्तो मूद्रा हो जसलाई तपाईंले छुन, देख्न र महशुस गर्न सक्नुहुन्न । यो जटिल गणितिय सुत्रको प्रयोगले नियन्त्रण र कम्प्युटरमा कोडिङ्गको रुपमा उत्पादन गरिएको हुन्छ । इन्क्रिप्टेडरुपमा विकेन्द्रिकृत व्लकचेन प्रविधिको प्रयोग गरी कारोबार गरिएको मूद्रा जसलाई रेगुलेट गर्ने निकाय हुँदैन । साँच्चीकै यो एक भर्चुअल अर्थात् काल्पनिक मूद्रा हो । व्लकचेन प्रविधिमा निर्माण गरिएको हुनाले कसैले यसलाई मेटाउन वा फेरवदल गर्न सक्दैनन् भन्ने विश्वास गरिएको छ । यो मूद्राको मूद्रणलाई माइर्निङ्ग भनिन्छ । आम रुपमा बुझ्दा खानीबाट उत्खनन् गर्ने भन्ने बुझिए पनि यो वास्तवमा कम्प्युरमा गरिएको जटिल किसिमको प्रोग्रार्मिङ्ग हो । जसको निमित्त पावरफूल कम्प्युटर र हार्डवयर डिभाइसको प्रयोग गर्ने गरिन्छ । यी डिभाइसले धेरै मात्रामा विद्युत खपत गर्दछ ।

    तपाईंले भौतिक मूद्रा खर्च गरेर कुनै विशेष पहिचान सहितको २६ देखि ३५ अंकको अल्फान्युमेरिक युनिक पहिचान नम्बर प्राप्त गर्नुहुन्छ । यो नै तपाईंको मूद्राको ग्यारेन्टी गर्ने कोड हो । यो मूद्रणको मूल्य बजारले निर्धारण गरेको हुन्छ । उदाहरणको लागि सन २००९मा विटक्वाइन एक युनिक क्रिप्टो करेन्सी किन्न १ डलर खर्च गर्दा पुग्थ्यो भने आजको मितिमा ४५ लाख नेपाली रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । मूल्य अस्थिर हुने हुनाले आज ४५ लाखमा किनेको भोली ५०/५५ लाख पनि पुग्न सक्छ र उत्तिकै मात्रामा ३०/३५ लाखमा पनि झर्न सक्छ । यसको मूल्य किन कसरी बढ्छ वा घट्छ कसैलाई पनि सहजै थाहा हुँदैन । अर्थात् अन्तराष्ट्र्रिय बजारमा स्टक टु फ्लो मोडेल(Stock to flow model)ले निर्धारण गरिएको हुन्छ पनि भनिएको छ ।

    शेयर बजार र क्रिप्टो बजारमा के फरक छ त ?

    झट्ट हेर्दा बजार घटबढ हुने देख्दा शेयर बजार जस्तै लागे पनि यसमा धेरै तात्विक भिन्नता देखिन्छ । शेयर बजार डिजिटल्ली किनबेच हुने भए पनि यसको भौतिक अस्तित्व कायम हुन्छ मानौं यदि कुनै व्यक्तिले कुनै कम्पनीको शेयर खरिद गर्छ भने त्यसको अंकित मूल्य बराबरको हिस्सा सो कम्पनीमा रहन्छ । शेयर बजारको मूल्य सो कम्पनीको नाफा नोक्सान र स्थायीत्वले निर्धारण गरिएको हुन्छ । क्रिप्टो करेन्सीमा त्यस्तो कुनै कम्पनी वा स्वामित्व हुँदैन अर्थात् व्ल्याकबक्स (Black-box)मा गरिएको लगानी हो । संसारका धेरै देशमा प्रचलनमा आएका मूद्राहरु उदाहरणको लागि अमेरिकी डलर, यूरो, इंडियन करेन्सीलगायतका सबै मूदा्रहरु बजारमा कारोबार गरिन्छन् । जसको मूल्य निर्धारण ती देशहरुको विविध आर्थिक सूचकांक लगायत अन्य धेरै कुराहरुलाई आधार मानेर गरिन्छ । यिनको कारोबार हेर्दा डिजिटल्ली देखिए पनि भौतिक रुपमा रुपान्तरण गरिएको हुन्छ । यहाँ नाफा र नोक्सान के किन र कसरी हुन्छ भन्ने सहजै अनुमान लगाउन पनि सकिन्छ ।

    विश्व बजारमा क्रिप्टोको वर्तमान अवस्था:

    विश्वका लगभग ९० वटा देशमा आठ हजार भन्दा धेरै प्रकारका क्रिप्टो करेन्सीहरुको कारोबार भइरहेको छ । विश्वमा साल्भाडोर बाहेक अन्य कुनैपनि मूलुकमा क्रिप्टोको कारोबारलाई कानूनी मान्यता दिएको देखिदैन । जहाँ क्रिप्टोसँग सम्बन्धित कुनै पनि हानी नोक्सानीको कानूनत: उपचार प्राप्त हुन सक्त्तैन । नेपाल, भारत, चीन, इजिप्ट, टर्की, रसिया, भियतनाम, इराक, इन्डोनोसिया, वोलिविया, अल्जेरिया जस्ता कैयौं देशले क्रिप्टो कारोबारलाई अवैध मानेका छन् । यद्यपि यि सबै देशहरुमा अवैध कारोबार दिनप्रतिदिन अस्वभाविक रुपमा मौलाइरहेको देखिन्छ ।

    सन् २००९ देखि सुरु भएको क्रिप्टो बजार आज करिब ३८,३७५ डलरमा कारोबार भएको छ । इथेरियम २७८९ डलर, वि एण्ड वि ४१६ डलर लगायत थुप्रै क्रिप्टोहरु बजारमा कारोबार भएको देखिन्छ । एकै दिनमा पनि यिनको मूल्य फरक फरक देख्न सकिन्छ । हाल अमेरिका, जर्जिया, काजकिस्तान, जापान, चीन, क्यानडा लगायतका देशहरुमा सबै भन्दा बढी क्रिप्टो माइनिङ्ग भइरहेको छ । क्रिप्टो कारोबारमा भारत सबै भन्दा अगाडी छ । चीनले हाल क्रिप्टो माइनिङ्ग बन्द गरिसकेको छ । एक अनुसन्धानका अनुसार यसैकारण ४०,००० भन्दा बढी चीनियाँहरु अमेरिकामा बसाईं सरेको अनुमान गरिएको छ ।

    नेपालमा क्रिप्टोको कारोबार ?

    नेपाल राष्ट्र्र बैंकले नेपालमा विदेशी मूद्राको व्यापार वा अवैध कारोबारलाई नियमित रुपमा नियमन र नियन्त्रण गर्ने गर्दछ । नेपाल सरकारले पनि अवैध कारोबार घोषणा गरी संलग्न जो कोहिलाई कार्वाहीको दायरामा ल्याउने सूचना पटक-पटक प्रकाशित गरेको देखिन्छ । नेपालबाट वाह्य देशहरुमा विदेशीे मूद्रा पठाउन सहज छैन । यस्तो अवस्थामा विदेशमा किन्नुपर्ने क्रिप्टोको कारोबार कसरी भइरहेको होला भन्ने प्रश्न आम मानिसमा उव्जनु स्वभाविक नै हो । यद्यपी स्थिति अत्यन्त भयावह देखिन्छ । नेपालबाट हुन्डीमार्फत विदेश पैसा पठाउने वा विदेशमा भएकाहरुलाई पैसा उतै भूक्तानी गर्न लगाएर क्रिप्टो करेन्सी खरिद हुने गरेको पाइन्छ । वैदेशिक रोजगारका लागि विदेशमा रहेका अधिकांशले क्रिप्टोमा लगानि गरेको देखिन्छ । उसो त नेपालका हाइप्रोफाइल र सर्वसाधारणले पनि क्रिप्टोमा लगानी गरेको जानकारहरु बताउँछन् । हाइप्रोफाइलका लागि व्ल्याकमनी(Black-Money) लगानी गर्ने सही ठाउँ भएको बताइन्छ । नयाँ आर्थिक वर्ष शुरु भएपछि गहिरिँदै गएको आर्थिक तरलताको दोस्रो प्रमूख कारण क्रिप्टोमा गरिएको अन्दाधुन्द लगानी नै हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । अप्रत्यक्ष रुपमा अनुसन्धान गरिरहेका जानकारहरुको अनुमानलाई आधार मान्ने हो भने अहिले करिब दुई खर्व रुपैयाँ बराबरको लगानी नेपालीहरुले क्रिप्टो र हाईपरफण्ड (Hyper-fund)मा गरेको बताउँछन् ।

    यसरी अनुत्पादक(Unproductive) क्षेत्रमा खर्वौं लगानी बाहिरिँदा स्वदेशमा तरलता दिनानुदिन बढिरहेछ । न राजश्व संकलन न रोजगार न उत्पादन सँग जोडिएको यस्तो खालको लगानीले राज्यलाई गंभिर दिर्घकालिन असर गर्ने जानकारहरु बताउँछन् ।

    नियन्त्रण किन र कसरी गर्ने ?

    क्रिप्टो करेन्सी कोरा भर्चुअल(Virtual) मूनाफा बाहेक राज्यको अर्थतन्त्रमा ठोस योगदान पुर्याउने कारोबार पटक्कै होइन । राष्ट्र्रिय उत्पादकत्वसँग नजोडिएको तरलता पैदा गर्ने र राज्यलाई दिर्घकालिन असर पर्ने हुँदा यस्ता लगानीलाई निरुत्साहित गर्नुको विकल्प देखिँदैन । उसो त छोटो समयमा उच्च लाभ पाउने आशमा गरिएका शेयर बजार र यस्ता अन्तराष्ट्र्रिय बजारका करेन्सीमा हुने लगानीले आम मानिसलाई अल्छी र इलमविहिन बनाएको छ । जसको असर भविष्यमा देखा पर्ने नै छ । जुन लगानीकर्ताको सुरक्षामा राज्यले केहि भूमिका खेल्न सक्दैन त्यस्तो लगानी अन्ततगत्व: राज्यका लागि अभिशाप हुने कुरामा दुईमत छैन ।

    यस अघि चाहे यूनिटी नेटवर्किङ्ग(Unity Networking) व्यवसाय होस् वा अन्य पिरामिड(Pyramid)शैलीका मल्टिलेभल मार्केर्टिङ्ग(MLM), पञ्जी(Ponzi) तथा ग्याबलिङ्ग(Gambling)को शिकार बनि आम सर्वसाधारणहरु ठगिएका प्रशस्त उदाहरणहरु छन् । अर्कोतर्फ मूल्य अस्थिरता अपराधिक गतिविधिमा हुनसक्ने प्रयोग लागू औषध तथा हातहतियार बेचविखन जस्ता राज्यबाट बर्जित अपराधिक गतिविधमा हुनसक्ने प्रयोगलाई समेत मध्येनजर गरी राज्यले ठोस कदम चाल्नुपर्ने देखिन्छ । राज्यले बेलैमा ध्यान नदिने हो भने खर्वौं रुपैयाँ क्रिप्टो र हाइपरफण्डका नाममा पूँजि पलायन भइ तरलता बृद्धि र आर्थिक अस्थिरताले इकोनोमिक इकोसिस्टम (Economic – Ecosystem)मा गम्भिर असरपारी अर्थतन्त्र कोल्याप्स(Collapse) नहोला भन्न सकिन्न ।

    प्रविधिको कसरी प्रयोग गर्ने ?

    प्रविधि आफैमा समयानुकूल परिवर्तित हुने र विकासको गतिमा अघि बढ्ने (Ever changing- Ever expansive) पद्धती हो । व्लकचेन टेक्नोलोजी उच्चतम प्रविधिको प्रयोग गरी निर्माण गरिएको टेक्नोलोजी भएको हुँदा मध्यस्थकर्ता विना सहज र सजिलै ट्र्रान्सफर गर्न सकिने हुन्छ । यसको उपयोगिता बैंकिङ्ग सेक्टर, हेल्थ सेक्टर र कन्सट्र्रक्शन सेक्टरमा प्रयोग गरी उच्च लाभ लिन पनि सकिन्छ । engineerspost बाट