भर्जिनियामा किरण गजमेर ,बाबु बोगटी लगायतले नचाए र दर्शक रमाए ,मदन कृष्ण श्रेष्ठ सम्मानित

विजय थापा ,डिसी महानगर क्षेत्र ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सम्पन्न बृहत दशैँ तिहार मेला २०२१ वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ ।


गत अक्टोबर २३ शनिबारका दिन आयोजना भएको उक्त कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर तथा चर्चित गायक तथा नायक बाबु बोगटी लगायतले दर्शकलाई नचाएका छन। साथै दर्शकहरुले कलाकारहरुले प्रस्तुत गरेका गीतहरुमा साथ दिदै झुम्दै नाचेका र रमाउन सम्म रमाएका थिए ।

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उहाले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने इनास भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )ले सयुक्त रुपमा सम्मान गरेको हो । सम्मान गरे पछि न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेती तथा ईनास अमेरिकाका सभापति कन्हैया सिंह परियारले उहा जस्तो इतिहास बोकेको व्यक्तिलाई सम्मान गर्न पाउदा गौरव लागेको बताएका थिए । ईनास भर्जिनियाका सभापति कलाकार राहुल केसीले पनि मदन कृष्ण श्रेष्ठलाई सम्मान गर्न पाउदा अत्यन्तै खुसी लागेको बताएका थिए ।

सम्मान भए पछि आयोजकलाई धन्यबाद दिदै मदन कृष्ण श्रेष्ठले आफू डेमोक्रेटिक(प्रजातान्त्रिक)हु र तपाईहरु यो देशमा भएकोमा तपाईहरुले गर्व गर्नु पर्छ भने । दर्शकहरुको अनुरोधलाई स्वीकार गर्दै आफूले हालसालै गाएको फुलबुट्टे सारी गीत गाउदा दर्शकले साथ दिएका थिए । उनले आफ्ना सबै परिवारलाई कोरोना लागेको चर्चा गर्दै तपाईहरुले दिनु भएको हौशला र मायाले म छिटो कोरोनाबाट निको हुन् सकेको बताए ।

उनकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले पनि नया गीत प्रस्तुति गरेकी थिइन् । युवा गायक किरण गजमेर तथा चर्चित गायक बाबु बोगटीले ३-४ वटा गीत प्रस्तुत गरेका थिए । गजमेर र बोगटीले दुवैले झुम्ने खालका गीत प्रस्तुत गर्दै दर्शकलाई सुरु देखि नै आफू संगै नचाएका थिए । दर्शकहरु आफै मंच नजिक पुगेर साथ दिएका थिए । गजमेरले तपाईहरुको माया स्नेहले म भ्वाइस अफ नेपाल ३ को बिजेता हुन् सके यो सबै तपाईहरुको आशिर्बाद र प्रेमको कारण भयो भने । बोगटीले २ बर्ष सम्म कोरोनाको महामारीमा पछि लामो समय पछि कार्यक्रममा आफू सहभागी हुन् पाउँदा हर्ष लागेको भन्दै आयोजक र बिशेष इनास भर्जिनियाका राहुल केसीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले सयुक्त रुपमा आयोजना गरेको हो ।

उक्त कार्यक्रम मनासस शहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा भएको थियो भने कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रस्तुति गर्ने कलाकारहरुमा किरण गजमेर ,बाबु बोगटी ,अन्जना गुरुङ,आभा मुकारुंग ,चर्चित हास्य कलाकार गोपाल फिस्टेको व्यंग्य प्रहसन ,लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल र कल्पना देवकोटा ,रमेश परियार ,बिन्ती कुमार गुरुङ ,रिता श्रेष्ठ ,सरोज अधिकारी ,प्रनिंन राई ,अपेक्षा सिंह गुरुङ परियार ,रुबी पौडेल ,अर्जुन थापा लगायतले प्रस्तुति दिएका थिए । साथै केसी डान्स सेन्टरका तर्फबाट पनि प्रस्तुति रहेको थियो ।