टिका लगाएर फर्कदैं गरेका व्यक्तिमाथी लुटपाट

असोज २९, लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २८ स्थित धु्रवपुरको जंगलमा टिका लगाएर घर फर्कदै गरेका एक व्यक्तिमाथि कुटपिट गरि लुटपाट भएको छ ।

आफ्नो मामा घर पोखरा–२८ बिमिरापानीबाट सोहि वडाको आरुपाटा तर्फ मोटरसाईकलमा फर्कने क्रममा धु्रवपुरको जंगलमा पुगेपछि ४ जना युवकहरुले आफुलाई कुटपिट गरी लुटेको ४४ वर्षिय वसन्तराज अधिकारीले वताएका छन ।

जंगलमा लुकेर बसेका अज्ञात ४ जनाले आफुमाथी आक्रमण गरेको र मोटरसाईकलाई समेत क्षति पुर्याई आफ्नो साथमा रहेको नगद २५ हजार एवं साथमा रहेको दक्षिणा समेत लुटेर लगेको उनले वताएका छन ।

यस विषयमा पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले घटना भएको आफुले पनि जानकारी पाएको र प्रहरीलाई खबर गरी घटनामा संलग्नको खोजी शुरु गरिएको जानकारी दिए ।

चाडपर्वको समयमा हुन सक्ने यस्ता घटनाहरुलाई मध्यनजर गरी रातिको समयमा एक्लै दुब्लै यात्रा नगर्न र सावधानी अपनाउन वडाध्यक्ष दियालीले सबैमा अनुरोध समेत गरेका छन ।