गैर-आवासीय नेपाली संघ युकेको नयां कार्यालयको प्रमुख संरक्षक शेष घलेद्वारा भव्य उद्घाटन

लण्डन । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको अल्डरशटस्थित नयां कार्यालयको एक समारोहका बीच संघका प्रमुख संरक्षक शेष घलेले उद्घाटन गरेका छन्।

आइतबार कार्यक्रमका प्रमुख अतिथि शेष घले तथा विशेष अतिथि नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल, एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् । यसअघि उद्घाटन समारोहमा आउनु भएका अतिथिलाई गुल्मी समाजयुकेका सदस्यहरुले नौमति बाजा बजाएर स्वागत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. घलेले गैर-आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लग्नु पर्ने सुझाव दिए। उनले भने, “अमेरिका, युके, अस्ट्रेलिया र जापान संघका चार ओटा पिलरहरु हुन्। यो एउटा संस्था मात्रै होइन, एउटा संजाल हो। यसमा आइसीसीले एनसीसीहरुसंग समझदारीपत्रमा हस्ताक्षर गर्नु पर्छ र त्यस्तो समझदारी पत्र फरक फरक पनि हुन सक्छ।“

उनले आफ्नो कार्यकालमा तयार पारिएको ‘भिजन २०२० एण्ड बियोंड’ भन्ने दस्ताबेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख पनि व्यक्त गरे। उनले वर्तमान नेतृत्वले एनआरएनएका पंजीकृत सदस्यहरुलाई बेवास्ता गरेको बताए । घलेले एनआरएनएलाई लाईफ टायम मेम्बरसीपको मोडालिटीमा अघि बढाउनु पर्ने सुझाव पनि दिए । कार्यक्रममा नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले नागरिकता निरन्तरताको अभियान लागू गर्न नेपाल सरकारसँग घनिभुत छलफल गरि बुझाउन आग्रह गरिन् । उनले बेलायतस्थित नेपाली दुतावास एनआरएनए युकेसँग मिलेर काम गरिरहेको जनाइन् ।

त्यस्तै सो समारोहमा भाग लिन अमेरिकाबाट आएका एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशब पौडेलले अहिलेको नेत्रित्वको असक्षमताले गर्दा चुनाव अनिश्चित बन्न पुगेको बताए । उनले अहिले एमआइएस प्रणालीलाई संस्था कब्जा गर्ने उद्देश्यले कार्यान्वयन गरिएको आरोप पनि लगाए। सन् २०२१–२३ कार्यकालका लागि महासचिव पदका उम्मेदवार बनेका डा. पौडेलले एनसीसीहरुलाइ स्वतन्त्र र स्वायत्त बनाउनु पर्नेमा जोड दिए।

संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघलाई संकुचित घेरा भित्र राख्न खोजिएको आरोप लगाए। कार्यक्रममा जर्मनीबाट भागलिन आएका युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोषकुमार भट्टराईले विगतमा शेष घलेको नेतृत्वमा भूकम्प पीडितहरुलाई राहत वितरण गरिएको सम्झन गरे । उनले एनआरएनए भित्र देखिएको विवाद प्रमुख संरक्षक शेष घलेलगायत पुर्व अध्यक्षहरुले निराकरण गर्नेमा आफु ढुक्क रहेको जनाए । भट्टराईले एनआरएनए युकेको कार्यालय स्थापनाले संस्था थप बलियो र जनताका गुनासा सुन्न तयार रहनु सकारात्मक भएको भन्दै वर्तमान कार्यसमितिलाई बधाई समेत दिए । उनले क्षेत्रीय संयोजक पदमा उम्मेदवार भएकाले बेलायतबाट सहयोग पाउने अपेक्षा गरे ।

एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, उपाध्यक्ष नारायण कंडेल, तमु धि युके का अध्यक्ष हितकाजी गुरुङ, तमु समाज युके का अध्यक्ष शिव कुमार गुरुङ, किरात राई यायोख्या युकेकी अध्यक्ष कल्पना राइ, जन सम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, संघको केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन, कोषाध्यक्ष पदका उम्मेदवार राजन त्रिपाठी, सह कोषाध्यक्ष पदका उम्मेदवार ललित न्यौपाने, युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोष भट्टराई, युरोप क्षेत्रीय उप संयोजक पदका उम्मेदवार दयानिधि सापकोटा, गैर-आवासीय नेपाली पत्रकार महासंघका अध्यक्ष भगीरथ योगी लगायतका वक्ताले एनआरएनए युकेले कार्यालय स्थापना गरेकोमा बधाई र शुभ कामना व्यक्त गरेका थिए।

कार्यक्रमका सभापति तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालयको उद्घाटन पछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । ‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि घलेले केक काटेर खुसियाली मनाएका थिए।

कार्यक्रमको संयोजन संघका प्रवक्ता भरतमणी लिम्बू र सञ्चालन महासचिव खुशी लिम्बूले गरेका थिए ।