एडभेञ्चर रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करणको औपचारिक घोषणा

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको एडभेञ्चर रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करणको औपचारिक घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजक प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षरसँगै सिजन ४ को प्रोमो पनि सार्वजनिक गरियो । टाइटल स्पोन्सरमा यामाहाले निरन्तरता दिएको छ । यो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ राखिएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण निर्धारित मितिभन्दा केहि ढिला सुरु हुन लागेको यो ‘रियालिटी शो’को निर्देशकमा यसअघि फिल्ममा एक्सन कट गरिसकेका निर्देशक सिमोश सुनुवार आएका छन् । यस अघिका तीन सिजन अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए ।

कार्यक्रममा बोल्दै सुनुवारले आफ्नो निर्देशनमा फ्रेञ्चाइजको फर्म्याट अनुसार सिधा परिवर्तन ल्याउन नमिलेपनि दर्शकलाई आफ्नो मेहनतमा केहि फरक स्वाद दिलाउने बताए । नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित रहने उनको भनाइ छ ।

आजैबाट डिजिटल अडिसन पनि सुरु भएको छ । कोरोना कहरपछि सुरक्षा मापदण्डको कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकोले आयोजक हिमालय टेलिभिजनले पहिलोपटक रोडिजमा डिजिटल अडिसनको सुरुवात गरेको हो ।

रोडिज सिजन ४ मा सहभागि जनाउन चाहनेहरुले एन्ड्रोइड मोबाइलमा रहेको ‘हिमालय रोडिज’ एप्लिकेसन डाउनलोड गरि भिडियो क्लिप पठाउनुपर्नेछ या रोडिजको आधिकारिक फेसबुक पेजबाट पनि सिधै भिडियो पठाएर सहभागिता जनाउन सक्नेछन् । ‘यो वर्ष कोरोना महामारीबाट बच्दै आफ्नो दैनिकीलाई अघि बढाउनुपर्ने छ, परिस्थितिबस डिजिटल माध्यमबाटै सहभागिहरुलाई जोड्ने ध्येयले डिजिटल अडिसनलाई अंगालेका हौँ’, टेलिभिजनका कार्यकारी निर्देशन श्याम कंडेलले बताए ।

रोडिजमा ग्याङ्ग लिडरको रुपमा अभिनेता अनुपबिक्रम शाही, दिया मास्के, आशिष राना ‘लाहुरे’, पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । भायकम १८ को लाइसेन्स मातहत यो कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ । चौथो सिजनमा डिजिटल अडिसनको समय २ सातालाई तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनको लागि बोलाउनेछ । कार्यक्रम आगामी असोज पहिलो साताबाट हरेक सोमबार सांझ ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।
तश्विरः बिवेक वस्याल / विनोद पोखरेल