कसरी म जाऊँ????

प्रज्ञा घिमिरे,
प्रकृति पनि गर्दैछ किन बदला लिएझैं
के गर्न लागिस् निष्ठुरी दैव सराप दिएझैँ
सरापैभरि दिएको बस्त्र लाउँ कि नलाऊँ
जाउँ त सातै समुन्द्र पारी कसरी म जाऊँ

के देखेँ आज सपना मैंले मन् मेरो डरायो
परदेशको बास रहेन आस होस् पनि हरायो
बियोगको संगित भरेर गीत गाऊँ कि नगाउँ
जाउँ त सातै समुन्द्र पारी कसरी म जाउँ

लाग्दैन तीर मनभरी पिर मनैमा पहिरो छ
हृदयभरि बनेको घाउ त्यो भन्दा गहिरो छ
सुन्दैछु झरी पहिरो र बाढी डुबेको छ गाउँ
जाउँ त सातै समुन्द्र पारी कसरी म जाऊँ

भन्दछिन् आमा लाग्दैन काम बगायो खेत् पनि
दुईचार् दिन अझै यै चाल भए नहोला भेट्पनि
बोकेर ताना पस्केको खाना खाऊँ कि नखाऊँ
जाऊँ त सातै समुन्द्र पारी कसरी म जाऊँ

दुई बर्ष अघि फर्केर देशमा किनेको घडेरी
बैंकको रिन तिरेको छैन पैसाको खडेरी
टाउकोमा हात समाउँदै बैंकमा धाऊँ कि नधाऊँ
जाऊँ त सातै समुन्द्र पारी कसरी म जाऊँ

माफ् गर अहिले सकिन मैले सपना जगाउन
उर्लेर आए खोला र नाला घर् खेत बगाउन
पहिलाकै जस्तो देखौंला कहाँ जन्मेको त्यो ठाउँ
जाऊँ त सातै समुन्द्र पारी कसरी म जाऊँ

यो प्राण धान्न दुई मुठी अन्न अर्काको भरमा
बाँचियो धन्न सकिन भन्न पालैको घरमा
फोनैमा खबर फोनैमा आमा आशीर्वाद म पाऊँ
जाऊँ त सातै समुन्द्र पारी कसरी जाऊँ

फोनमा कुरा मनमा छुरा रोपिएझैँ भयो
आकाशै खसी धर्तीमा बसी छोपिए झैँ भयो
मनको धुरी उध्रियो आज छाऊँ कि नछाऊँ
जाऊँ त सातै समुन्द्र पारी कसरी म जाऊँ।।
धन्यवाद।।