नेपालमा अकबरे खुर्सानी ,उत्पादन र उपयोगिता

कुशल लामिछाने
जेष्ठ २९ , झापा /
हामिले भान्सामा प्रयोग गर्ने खुर्सानीको उत्पत्ति मध्य अमेरिका बाट भएको हो । नेपालमा पनि २०-२५ प्रजातिका खुर्सानीहरु उत्पादन गरिने गरेको पाइन्छ ‌। त्यस मध्ये नेपाललाई विश्वमैग परिचित गराउने खानामध्ये एक हो अकबरे खुर्सानी ।
यो खुर्सानी संसारका अन्य देसहरुमा नपाइने तथा यदाकदा पाइहाले पनि नेपालको जस्तो स्वादिलो र पिरो भने पाइँदैन । नेपालको पनि अक्सर पूर्वी नेपाल (इलाम, धनकुटा) तिर मात्र अकबरे खुर्सानी पाइन्छ ‌। हाल आएर नेपालको पश्चिमि क्षेत्रमा पनि यसको खेती गर्न थालिएको छ ।
पूर्वी नेपालमा पाइने ६-७ प्रजातिका अकबरे खुर्सानी मध्ये आकार र रङ्गमा हेर्दा ठूलो देखिने,‌सानोडल्लो, सानोगोलो, लाम्चो (बास्नादार), तथा चिप्लो डल्लो (पिरो नहुने) र पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरुमा अकबरे खुर्सानी पाइन्छ ।
जसमध्ये ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मन पराउने जात हो ।
यो खुर्सानीलाई डल्ले र ज्यानमारा खोर्सानी भनेर पनि चिन्ने गरिन्छ । यो आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो ।

उत्पादन :
सामान्यतया सबैकिसिमको माटो उपयुक्त भएपनि पानी नजम्ने राम्रो निकास भएको मलिलो हल्का दोमट तथा केही चिम्टाईलो माटो समेत उपयुक्त हुन्छ । माटोमा प्रशस्त प्राङ्गारिक मल मिसिनुका साथै माटोको पि.एच. ६-७ सम्म हुन पर्दछ ‌। भिरालो तथा नयाँ पाँगो माटो अकबरे खुर्सानीको लागि उपयुक्त मानिन्छ ।

नर्सरी व्यवस्थापन:
वर्षमा २ पटक नर्सरी राख्न सकिन्छ अगैटे(आश्विन, कार्तिक) र पछौटे (माघ, फाल्गुण)। अकबरे खुर्सानीको ब्याड राख्दा राम्रो र नयाँ बोटबाट राम्रा फलहरु छनौट गर्ने र राम्ररी सुकाई दल निकाली आश्विन – मंसिर सम्ममा प्लाष्टिक टनेल बनाई राख्नुपर्छ ।

जमिनको तयारी:

जमिनको छनौट गर्दा पानी नजम्ने ठाउँको माटोलाई ३–४ पटक जोतखन गरी माटो बुरबुराउँदो बनाउनु पर्दछ । त्यसपछि एकभाग जङ्गलको माटो, एकभाग पाकेको गोबरमल र एकभाग बालुवा चिम्टाईलो माटोमा मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुनेगरी (वर्षादमा १० ईन्च र हिउँदमा ६ इन्चको उचाई हुने गरी डयाङ्ग बनाउने । नर्सरीमा बीउ रोप्नुअघि निम्न अनुसार मल तथा औषधी प्रयोग गर्नु पर्छ । एक रोपनी जमिनको लागि जम्मा ६ वर्गमिटरको नर्सरीको आवश्यक पर्छ । माटो उपचार गर्न फ्युराडन वा डर्सवान २५ ग्राम, डी.ए.पी. २०० ग्राम, पोटास १०० ग्राम, कृषि चुन १०० ग्राम
माटोमा राम्ररी मिसाई १–२ दिन जति सुकेको परालले छोपी सिंचाई गर्नुपर्छ ।

बीउको मात्रा:
एक रोपनी जग्गाको लागि १० ग्राम बीउ चाहिन्छ । उक्त बीउबाट १५०० जति विरुवा उम्रे पनि १२०० बिरुवा जति मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्टिक टनेलको व्यवस्था गर्नुपर्छ ।

बीउ छर्ने र बेर्ना उमार्ने तरिका:
बीउ छर्ने र बेर्ना उमार्ने तरिकाको तयारी जमिनमा चौडाइ पट्टिबाट ४ ईन्चको फरकमा लाईन कोरी आधा ईन्च गहिरो कुलेसो बगाई १ ईन्च फरकमा १/१ दाना बीउ खसाल्ने ।उक्त बीउ हल्का बालुवा, खरानी वा जङ्गलको माटोले छोपी सुकेको पराल, झारले छोप्ने र माटोको अवस्था हेरी सिँचाई गर्ने । तर बढी चिसोपन भएमा बीउहरु कुहीनेहुँदा पानी जम्न दिनु हुँदैन । बिरुवा उम्रिएपछि छापो झिकिदिने र हरेक सात दिनको फरकमा आवश्यकता अनुसार ढुसीनासक किटनासक विषादी छर्ने । यसरी बिरुवा अगौटे हो भने ३-४ महिना र पछौटे हो भने १-२ महिनामा बेर्ना तयार हुन्छ । यदि बेर्ना कमजोर पहेंलो भएमा बेर्नामा नै भिटामीन, मल्टिप्लेक्स, भेजिमेक्स आदि लगायत युरिया २ ग्राम प्रति लि. पानीमा स्प्रे गर्ने ।

बिरुवा लगाउने तरिका:
राम्ररी खेत तयार गरीसकेपछि बहुवर्षिय रूपमा लाइनदेखि लाइनको दुरी ९० से.मी. र बिरुवादेखि बिरुवाको दुरी ६० से.मी., वर्षेवाली ६० x ६० र वषन्ते ६० x ४५ से.मी. कायम गरी प्रति बोटमा २ के.जी. सम्म कम्पोष्ट मल, ५ ग्राम डि.ए.पी., पोटास, कृषि चुन र कीराको
प्रकोप हुने भएमा केही किटनासक विषादी राखी लगाउँदा राम्रो हुन्छ । अकबरे खुर्सानी लगाउँदा अरु खुर्सानीभन्दा पृथक दुरीमा लगाउनु पर्छ । नत्र भने परागसेचन भई गुणस्तरमा कमी आउँछ । यदि सिधै खेतमा मलखाद राखि खेती गर्ने हो भने प्रति रोपनी डि.ए.पी. १६ के.जी., पोटास १० के.जी., कृषि चुन १० के.जी., गोबरमल ३० डोको, मल्टिप्लेक्ज २ के.जी., युरिया ८ के.जी. र फ्युराडन/डर्सवान १ के.जी. चाहिन्छ जसमध्ये डि.ए.पी., पोटास र कृषि चुनलाई २ भाग गरी सबै गोठमेल फ्युराडन/डर्सवान आदि एकमुष्ठ माटोमा राख्ने बाँकी आधा भाग दानमल, पोटास, कृषिचुनसँग ८ के.जी. युरिया २ के.जी., मल्टिप्लेक्सलाई ४ भाग गरी रोपेको १५ दिनको फरकमा ४ पटक प्रयोग गर्ने ।जर्खरायको बिरुवा बेलुकीपख केहि वइलाएपछि मात्र तयारी खाल्डोमा रोपेमा राम्रो हुन्छ । साथै जराहरु नखल्बलिने गरी राम्ररी थिचेर हिउँदमा वरीपरि सानो खाल्डोको आकार बनाइदिने यदि सुख्खा हुन्छ भने फेदमा सोतर परालको छापो दिनु राम्रो हुन्छ ।

सिँचाइ तथा गोडमेल:
आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनुपर्छ । रोप्ने वित्तिकै सिँचाई दिनु पर्छ । त्यसपछि १०–१५ दिनको फरकमा आवश्यकता अनुसार पानी दिनुपर्छ । अकबरे खुर्सानीलाई पानीको ज्यादै आवश्यकता पर्छ तर थोरै भए पुग्छ । फेदमा पानी जम्न दिनुहुँदैन किनभने ढुसी रोग लाग्ने हुँदा होसीयारीपूर्वक पानी तर्काउने व्यवस्था मिलाउनु पर्छ । निकासको राम्रो व्यवस्था मिलाई वर्षादमा ६–१२ इन्चसम्म ड्याङ्गको उचाई राख्नु पर्छ । बिरुवा सारेको १०–१५ देखि २०–२५ दिनसम्म माटोको अवस्था हेरी खुकुलो पार्ने झारपात हटाउने र गोडाईको हरेक टिपाई पछि गर्नै पर्छ । रैटुनवाली (बहुवर्षिय) लिने हो भने प्रशस्त गोडमेल प्रयोग गर्ने काँटछाँट गर्ने (बोटको तल्लो भागका बाक्ला, पहेंला, नचाहिने मुना हटाइ दिने) र पहिलो वर्षको फल टिपेपछि बोटलाई गोडमेल गर्ने र हिउँदमा तुषारोबाट जोगाउन
पराल आदिको छाप्रो दिने यसरी काँटछाट गोडमेल गरी अर्काे सालको फल चाँडै लिन सकिन्छ । यस्तो बाली लिन उच्च र मध्य पहाडमा सम्भव छ । फल टिप्ने:
खुर्सानीको फल टिप्ने एकै पटक परिपक्व नहुने भएकोले फल टिप्न शुरु गरेपछि २–४ महिना सम्म लगातार टिपिरहन सकिन्छ । एकपटक टिपिसकेपछि कम्तिमा १०–५ दिन सम्म पुनः फल टिप्नु हुँदैन र फेरी तयार हुन्छ । अकबरेको हकमा प्रति रोपनी ५०० देखि ८०० कि.ग्रा.उत्पादन हुन्छ र प्रति के.जी. २०० – ३५० सम्ममा विक्री हुनेगरेको पाईएको छ । प्रति रोपनी ३००० देखि ७००० लगानी गर्दा १ लाख देखी ३ लाख सम्म लिन सकिने देखिन्छ ।

बजार व्यवस्थापन:
खुर्सानी ठिकसँग समयमै टिपेर लामो दुरीमा पठाउन चोया वा प्लाष्टिकको क्रेट वा टोकरीमा राखी पठाउन एक बास्केटमा २०–३० के.जी. भन्दा बढी नराखी पठाउनु पर्छ । ज्यादा पाकेको र चिसो मिसाउनु हुँदैन । मूल्य निर्धारण समय अनुसार फरक हुने भएपनि वैशाख जेष्ठ र असोज कार्तिक महिनामा बढी मूल्यमा किनबेच भएको पाईन्छ । अकबरे खुर्सानीको सुकेको भन्दा
पाकेको तर न सुकाएकोले राम्रो बजार मुल्य पाउँछ । हरियो काँचो फलमा भन्दा पाकेको रातो फलमा पौष्टिक तत्वहरु बढी प्राप्त गर्न सकिन्छ ।

उपयोग:
अकबरे वा राङ्गे खुर्सानी पहिले मङ्गोल जातीका मानिसहरुले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरुले पनि खाने गरेका छन्। अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधीको रुपमा प्रयोग गरेको पाईन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ । अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुची हुने र थकाइ समेत मेट्ने गरेको पनि उपयोग गर्नेहरुबाट व्यक्त गरेको पाईन्छ । पाकेको अकबरे खुर्सानीलाई हल्का हल्का सुकाई तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाइट विर्को लगाई राखेमा दुई वर्षसम्म खान सकिन्छ । साथै विभिन्न अचार उद्योगहरुले समेत अकबरेको पेष्ट बनाई प्रयोग गर्ने क्रम शुरु भएको छ ।

( लामिछाने गौरादह कृषि क्याम्पसमा बि.एस.सि.एजी अध्ययनरत छन् )