“बृद्धा आश्रममा होइन, घरमा राखौं आमा बुवालाई ”

“आमा बुवालाई बृद्धा आश्रममा होइन, घरमा राखौं”

भगवानलाई आश्रममा राखेर, मन्दिरमा पुजा गर्छौं, हामी । हो, हाम्री तिनै आमा देवी हुन, जसले हामीलाई नौ महिना राखेर जन्म दिनु भयो । दश धारा दुध चुसाएर हुर्काउनु भयो । तोते बोलि बोल्न र ताते ताते हिँड्न सिकाउँदै संसार देखाउनु भयो । अनि तिनै बाबा देवता हुन जसले शिर देखि पाउ सम्म पसिना बगाएर संर्घस गरी हामीलाई सफलताको शिखर चढाउनु भयो ।

तर दुःखको कुरा जब हामी सबल, सक्षम र सफल हुन्छौं, त्यतिबेला हामीलाई लडिबुडि खेल्दै हुर्काएका तिनै आमाको काख अनि संघर्ष गर्ने तिनै बाबाको हात बोझ बन्न पुग्छन, अनि हामी बाबुआमालाई बृद्धा आश्रममा लगेर राखिदिन्छौं । यो हाम्रो वर्तमान समाजको तितो यथार्थ हो ।

विगततलाई फर्केर हेर्ने हो भने त्यतिबेला हाम्रा अग्रजहरु एकदमै सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो । संयुक्त परिवारमा रहँदा हजुरबुवा हजुरआमा मायाका खानी अनी ज्ञान र अनुभवका भण्डार हुने गर्दथे । परिवारमा जेष्ठ नागरिकको भूमिका नेतृत्वदायी हुने गर्थ्यो तर पछिल्लो समयमा बढ्दो आधुनिकता र प्रविधिले गर्दा घरभित्रकै युवापुस्ता र बालबालिकाहरु संग हजुरबुबा र हजुरआमाको सम्बन्ध टाढिदैं गएको छ । अझ भनौ मोबाईल र कम्पूटरमा व्यस्तहुने आजका बालबालिकाले हजुरबा र हजरआमाको माया पाउनु त परको कुरा बोल्न फुर्सद समेत पाउँदैनन् ।

आजको हाम्रो समाजमा ” पितृ देव भवःमातृ देव भवः” को भावना हराउँदै गएको छ । एकलो जीवनका कारण वृद्ध उमेरमा उत्पन्न शारिरीक रोग, दर्द, पिडा , दुर्वलता र हिनता बोधका कारण वृद्ध जीवनमा आईपर्ने अफ्ठ्याराबाट जेष्ठ नागरिकहरुको अधिकार नै जोखिममा पर्न थालेको छ ।

बेसहारा जेष्ठ नागरिकहरलाई आश्रय सहितको सेवा उपल्ब्ध गराउने उद्देश्यले स्थापित वृद्धा आश्रमहरु आज हाम्रा प्रत्येक आमा बुवाहरुलाई लगेर थान्क्याउने थलो बनिरहेका छन् । एउटा भनाई रहेको छ नी, एउटी आमाले आफ्ना १० सन्तानलाई सम्हाल्न सक्छिन् तर तिनै १० सन्तानले एउटी आमालाई सम्हाल्न सक्दैनन् । बुढेसकाल लागे संगै आफ्ना सन्तानले आश्रमलाई जिम्मा लगाएका ती आमा बुवाहरुले हजारौं कष्ट काटिरहेका छन् , आँसुले परेली सुक्न पाएका छैनन् ।

यसरी वृद्ध अवस्थामा छोराछोरीबाट टाढिएर बाँचिरहेका आमा बाबाका पिडाहरुलाई नियाल्ने हो भने कयौं कहाली लाग्दा अवस्था भेट्न सकिन्छ । वृद्ध अवस्थामा छोराछोरीको मायाबाट बञ्चित हुनु पर्ने समस्या नेपालको मात्र पेवा समस्या भने होइन । विश्वका विकसित राष्ट्रहरुमा Old Age Home मा कयौं वृद्धा भेटिन्छन् , अनी पैसाको लागि तिनै वृद्धाको स्याहार गर्न जाने हाजारौं नेपालीको लर्को लागेको छ । केहि अपबाद बाहेक आमा बुवाको सम्पत्तिको लोभमा आमा बुवालाई देखावटी माया पछि सम्पत्ति आफ्नो भएपछि अपहेलना गर्ने आमा बुवाको सम्पत्तिमा झगडा गर्ने जस्ता धेरै उद्दाहरणहरु हाम्रो सामु छर्लङ्ग छन् ।

अंग्रेजीमा Use and Throw भन्ने भनाईलाई नयाँ पुस्ताले पुर्ण व्यवहारमा देखाएका छन् । यसै सन्दर्भको एउटा उद्दाहरण हो, क्यानाडा, अमेरीका जस्ता देशमा रोजगारी तथा शिक्षाका लागि जाने युवापुस्ताहरुले त्यहिँ विवाह गरेर सन्तान जन्माउँछन् र सन्तान जन्माउँदाको पहिलो चरणमा स्याहार सुसार गर्नेको जरुरत पर्छ अनि नेपालबाट आमाबुवालाई झिकाउँछन्, जव बच्चा Day Care Center मा राख्ने हुन्छन तब तिनै आमा हेला र बोझको पात्र हुन पुग्छिन् । त्यस पाछि खुशिले गदगद हुँदै छोराछोरीसंग पुगेका आमाबुवा नियाउरो मुख लगाएर घर फर्कन विवस हुन्छन् ।

आमाबुवाले भोगेका यी र यस्ता समस्याहरुलाई मध्यनजर गर्दै नेपालको संविधान २०७२ मौलिक हक अन्तर्गत धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष सणरक्षण र सामाजीक सुरक्षाको हक हुने भनी स्पष्ट उल्लेख गरिएको छ । जेष्ठ नागिरिक सम्बन्धि ऐन २०६३ मा जेष्ट नागरिकको सम्मान गर्नुपर्ने , जेष्ठ नागरिकलको उचित पालनपोषण पाउनु पर्ने र यदी नपाएको भनी उजुरी गरेमा परिवारलाई कारवाही हुने, सामाजीक सेवामा जेष्ठ नागरिकलाई छुट दिने , आफ्नो सम्पत्तिको आफु खुशि गर्न पाउने जस्ता कुराहरुको व्यवस्था गरिएको छ । यसै गरी सरकारले जेष्ठ नागरिकका लागि मासिक सुरक्षा भत्ता वितरण गर्ने , वृद्धाआश्रमहरुको निर्माण गर्ने , आर्थिक , सामाजीक कार्यक्रमा जेष्ठ नागरिकको पहुँच बिस्तार गर्ने , स्थानीय, सरकारी एवम् गैर सरकारी विभिन्न संगठन र दातृ संस्थाहरुसंग सहकार्य गरेर जेष्ठ नागरिकको अधिकारको संरक्षण गर्ने रणनिति लिएको छ ।
राज्यका यति धेरै रणनिती हुँदाहुदै पनि जेष्ठ नागरिकहरुको अवस्था संतोषजनक छैन । शब्दकै कुरा गर्ने हो भने जेष्ठ नागरिकलाई राष्ट्रको अमुल्य सम्पत्तिको रुपमा लिने गरिन्छ । ज्ञान, सिप र अनुभवका भण्डार जेष्ठ नागरिकहरु नयाँ पुस्ताका लागि प्रगतिको पथ प्रदर्शकको साधक हुन भन्ने कुरामा दुई मत छैन । तर विडम्बना ज्ञान, सिप , अनुभव र अर्तीउपदेशका प्रतिमुर्ती जेष्ठ नागरिकहरु उपेक्षाको शिकार बनिरहेका छन् । कुरा सुन्नु बुढाको , आगो ताप्नु मुडाको भन्ने उखान पुरानो भई अब खुकुरी भन्दा कर्द होइन बाउ भन्दा छोरो जान्ने भन्ने उखान समय सान्दर्भिक बनेको छ ।

सरकारले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता न्युन थियो , भलै अहिले त्यसलाई बढाएर केहि राहत त पुर्याएकै छ तर पानि समयमा वितरण नहुनु , दुर्गम क्षेत्रमा कत्तिले भत्ता पाउनमा जटिलता झेल्नु , जेष्ठ नागरिक कार्ययोजना प्रभवकारी कार्यान्वयनको अभाव जस्ता कारणले वृद्धाहरुले भोग्नु परेका समस्या अझै हल हुन सकेको छैन । जेष्ठ नागरिकका अधिकारका कुरा संबिधानका पाना र चुनावमा भोट माग्ने एजेण्डामा सिमित रहेको छ ।

अहिले COVID 19 को बिषम परिस्थिलाई नै हेर्ने हो भने तुलनात्मक रुपमा जेष्ठ नागरिकहरु नै बढि प्रभावित भएको पाइन्छ । अक्सिजनको अभावमा हजारौंले ज्यान गुमाई रहेका छन् तर सरकारको त्यती नजर नपुगेको हो कि ? । नेताहहरु कुर्सि कै खेलमा र ताना तान को लडाईंमा रहेका छन् । त्यसैले अब हामी सरकारको मुख ताकेर नबसौं । आमाबुवा हाम्रा भगवान हुन , हाम्रा लागि आफ्ना हरेक खुशी परित्याग गर्ने आमाबुवाको आँखामा आँशु झर्न दिनु हुँदैन । आमाबुवालाई सम्मान र स्नेह प्रदान गर्न हामी बालबालिकाले पनि उत्तिकै महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छौं । आफ्ना आमाबुवालाई सम्झाउने , हजुरबुवाआमालाई माया गर्ने गर्यौं भने , हामीले उहाँहरुबाट आर्शिरवाद पाउँछौ । जसले घरमा अग्रजको सेवा र सम्मान गर्छ, उसलाई मन्दिरमा पूजा गर्न जान उरुरत पर्दैन । हामीले आमाबुवाबाट पाउने न्यानो माया र ममता अनि ज्ञान Google र आजको प्रविधिबाट पाउन सक्दैनौं ।

अब आमाबुवाको सम्मान , माया र ममताका लागि संविधानका पाना र निति होईन, हाम्रो नियती बदलौं । संसार परिवर्तन गर्नुछ भने सुरुवात आफैबाट गर्नु पर्छ । त्यसैले आमाबुवाको सेवा गर्नु मेरो कर्तव्य हो , म गर्छु । हामी सबैले गरौं र आमाबुवाको मुहारमा खुशि भरौं ।

-कृती खड्का
अरनिको माद्यमिक विद्यालय, उर्लावारी, मोरङ्ग (कक्षा-११)