एनआरएनए युके निर्वाचनमा बेक्स्लीका नेपाली श्रेष्ठको पक्षमा

लन्डन । एनआरएनए युकेको आउँदो निर्वाचनमा साउथ इस्ट लण्डनको बेक्स्लीका नेपालीले दिपक श्रेष्ठको उम्मेदवारीप्रति समर्थन जनाएका छन् ।

स्थानीय नेपालीहरुको प्रतिनिधि संस्था बेक्स्ली नेपाली समाजले आधिकारिक रुपमै अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई सघाउने निर्णय गरेको छ ।

समाजका महासचिव हरिश ज्ञवालीका अनुसार एनआरएनए अभियानमा सक्षम, अनुभवी र इमान्दार अगुवाका रुपमा श्रेष्ठको उम्मेदवारीमा समर्थनसहित ऐक्यबद्धता जनाइएको छ ।

‘समाजले पूर्ण बैठकबाट निर्णय गरेर माइन्यूट पनि गरिसकिएको छ । एनआरएनए युकेलाई सबैको भावना समेट्ने गरी साँच्चीकै साझा र अभिभावक संस्था निर्माणको जिम्मेवारी दीपकजीले पूरा गर्नुहुनेछ भन्न हाम्रो अपेक्षा हो’, महासचिव ज्ञवालीले भने ।

यसैबीच समाजले श्रेष्ठको उम्मेदवारीमा सहयोग गर्ने लक्ष्यसहित एनआरएनए युकेको सदस्यता ड्राइभ अभियान पनि सञ्चालन गरेको छ । अध्यक्ष प्रत्यासी श्रेष्ठलाई समेत निम्त्याएर समाजका झण्डै सय सदस्यको एनआरएनए युके सदस्यता फारम बुझाइएको छ ।

त्यसअवसरमा समाजका अध्यक्ष विजयबहादुर गुरुङले एनआरएनए युकेमा यसपटक श्रेष्ठकै नेतृत्व स्थापित गर्न समाजले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । एनआरएनएमा बेक्स्लीका नेपालीहरुको सहभागिता र प्रतिनिधित्व समेत सुरक्षित गर्न श्रेष्ठको भुमिका रहने उनले आशा व्यक्त गरे ।

एनआरएनए युके अध्यक्ष प्रत्यासी श्रेष्ठले बेक्सली नेपाल समाजको समर्थन र साथले आफू थप उत्साहित बनेको बताए । एनआरएनए युकेलाई बेलायतवासी सम्पूर्ण नेपालीको सुखदुखको साथी बनाउने गरी काम गर्ने प्रतिबद्धता उनले गरे ।

त्यसअवसरमा समाजका पदाधिकारी, सल्लाहकार, स्थानीय एनआरएनए अगुवाहरुसहित दर्जनौं सामाजिक अभियन्ताहरुको सहभागिता थियो ।