पोखरा संसद प्रकरण ः चरकको कोभिड वाडमा यस्तो अवस्थामा छन् हराएका सांसद खिम विक्रम, मुख्यमन्त्रीले समेत भेट्न पाएनन् (भिडियो)

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतविभाजन हुने दिन हराएका भनिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाहीको कोभिड बार्डमा उपचार भइरहेको पुष्टि गरे । उनले भने, ‘उहाँ (सांसद शाही) आज बिहान ८ बजे कोभिड पोजेटिभ भएको रिपोर्ट लिएर अस्पताल आउनुभएको थियो । त्यसैले हामीहरुले कोभिड वार्डमा भर्ना गरेर राखेका हौं । बिरामी आएपछि हाम्रो धर्म उपचार गर्नु हो ।’ पोखरेलका अनुसार शाहीले पोखरा न्यूरोडस्थित लाइफ केयर डायग्नास्टिकमा पिसिआर चेक गरेको र पोजेटिभ केस देखिएको रिपोर्ट लिएर आएका थिए । सांसद शाहीलाई उनका भाइले रेखदेख गरिराखेका छन् । स्वास्थ्य अवस्था सामान्य छ ।