किर्तिमानी आरोही पूर्णीमा श्रेष्ठलाई गोरखा मिलन समाजद्धारा सम्मान

अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेर कृतिमान कायम गरेकी गोरखाली चेली पूर्णिमा श्रेष्ठलाई गोरखा मिलन समाज पोखराले सम्मान गरेको छ ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेर रेकर्ड राखेर गोरखालीहरुको मात्र नभई सिंगो देशको गरिमा बढाएको भन्दै समाजले गण्डकी प्रदेश भौतिक पूर्वधार बिकास मन्त्री माननीय रामशरण बस्नेतको हातबाट सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गोरखाली चेलीले गरेको आँट र हिम्मतलाई प्रदेश सरकारले उच्च मुल्याङ्कन गरेको बताउनु भयो । मन्त्री बस्नेतले गोरखाको सामान्य परिवारमा जन्मीएकी पूर्णिमाले सगरमाथाको पनि सफल आरोहण गरेको बताउँदै आउँदा दिनमा पनि सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा आफ्नो अनुभव व्यक्त गर्दै किर्तिमानी आरोही श्रेष्ठले पत्रकारीताबाट नै हिमाल चढ्ने चाहना बढेको बताईन् । उनले सगरमाथा चढेपछि अब सकियो भन्ने सोंच आयो तर हिमालले हरेक पटक बोलाउँदो रहेछ, फेरी अन्नपूर्ण हिमाल चढ्न आएको बताईन् । सबै क्षेत्रबाट पाएको सहयोगले नै आफूलाई हिम्मत पलाएको बताउँदै अझ अन्य दिनमा सहयोग प्राप्त हुने अपेक्षा राखिन् ।
‘सर्वोच्च शिखर सगरमाथामा र अन्नपूर्ण जस्ता हिमश्रृङ्खलामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल फोटो पत्रकार पूर्णिमाप्रति गोरखा मिलन समाजका अध्यक्ष कपिल पोखरेलले समेत बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।
गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी ३१ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिईन् ।
आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी छन् ।