आशै सकिएको छोरो छुटेर इलाम पुग्दा रोकिएनन् बृद्धा आमाको आँखामा आशु (भिडियो हेर्नुहोस्)

इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना दीपक जन्मघर आइपुग्दा परिवारमा खुसी छाएको छ। बिना सुनुवाइ ४० वर्षसम्म जेलमा कैदी जीवन बिताएका उनी आइतबार पारिवारिक मिलन हुँदा सबैमा खुसी छाएको हो।

भारतको कलकत्ताको दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेलको कष्टकर बसाइबाट छुटकारा पाएका आफ्नी आमासँग भेटघाट गरे तर बोल्न सकेनन् अनि मौन नै बसिरहे । ‘आउनुहुन्छ भन्ने लागेको थियो यत्तिका वर्षपछि भेट्न पाउँदा कत्ति हो कत्ति खुसी लागेको छ । त्यो खुसी व्यक्त नै गर्न सक्दैनौँ ।’ भतिजा गोपाल तिम्सिना भन्छन् । छोरोसँगको भेटपछि आमा धेरै भावुक भइन् । उनका हर्षका आँशु थामिएनन् । खुसी हुँदै आमाले भनिन्, ‘यसको ज्यानमा फोक्से मासु लागेछ ।’ आमा बोलि रहीन् तर दुर्गाप्रसाद भने केही बोलेनन् । नबोलेपछि ‘बोल्दैन बिरामी पो छ कि के हो?’ थप प्रश्न गर्दै उनले छोरोप्रति जिज्ञासा राखिन् ।

आमा धनमायालाई जेल भनेको सजाय दिने ठाउँ हो भन्नेसम्म थाहा छैन । छोरो जेल भन्ने ठाउँमा काम गर्दै कमाइरहेको छ भन्ने लागेको छ उनलाई, कमाउन जान्छु भनेर हिँडेको छोरो बल्ल फर्किएको छ । समाचार, तस्वीर र भिडियो श्रोत- गोरखापत्र अनलाईन।