उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, थाइराइडको समस्या, उच्च युरिक एसिड, अम्लपित्त, पहिले अप्रेसन भएका खोप लगाउने कि न लगाउने ?

डा. रबिन्द्र समिर

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, थाइराइडको समस्या, उच्च युरिक एसिड, अम्लपित्त, पहिले अप्रेसन भएका तथा उल्लेखित समस्याको औषधि सेवन गरिरहनुभएका दर्जनौं माननीयहरुले कोभिशिल्ड खोप लगाएपछिका प्रति असरबारे सम्पर्क गरिरहनुभएको छ |

सम्पर्कमा आउनुभएका अधिकांश माननीयलाई रिंगटा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, जाडो हुने, हल्का वाकवाकी लाग्ने लगायत साधारण लक्षण देखिएका छन् | ती सामान्य लक्षणमा पारासिटामोल बाहेक अन्य औषधि खानुपर्ने अवस्था छैन |
बिभिन्न उमेर समुह, स्वास्थ्य समस्या, औषधि सेवन तथा अपरेसन गर्नुभएका माननीयहरुलाई देखिएका सामान्य लक्षणले पनि थाहा हुन्छ कि कोभिशिल्ड खोपको प्रति असर एकदम साधारण छ अर्थात खोप निकै सुरक्षित छ |

आगामी आइतबारदेखि जेष्ठ नागरिकलाई खोप सुरु हुँदैछ | आफ्ना रोग, औषधिलगायत बिषयमा खुलेर छलफल गर्यौं भने खोपसंग डर मान्नुपर्दैन | खोप केन्द्रमा रहनुहुने अनुभवी स्वास्थ्यकर्मीको परामर्श अनुसार खोप लगाउने वा केहि दिनपछि लगाउने भन्ने कुरा निर्क्यौल हुन्छ | तत्कालिन रुघाखोकी, ज्वरो लगायत संक्रमण भएका व्यक्तिले निको भएपछि मात्र खोप लगाउनुहोला |

कुनै खोप, औषधि वा खानाको एलर्जी भएका व्यक्तिले खोप केन्द्रमा परामर्श गर्नुहोला | सिकिस्त बिरामीले खोप नलिनुहोला | रगत पातलो हुने औषधि लिनुभएका, अंग प्रत्यारोपण वा इम्युनोकम्प्रोमाइज्ड अवस्था भएका वा कडा स्टेरोइड औषधि सेवन गर्नुभएका, हृदयाघात भएका तथा न्युरोलोजिकल समस्या भएका व्यक्तिले आफ्नो बिशेषज्ञसंग परामर्श गरेर मात्र खोप लगाउनुहोला | गर्भवती महिलाले खोप नलगाउनुहोला |
अन्यको हकमा खोप सुरक्षित छ | नेपालमा हालसम्म करिब साढे चार लाख जना व्यक्तिले खोप लगाउँदा खोपको कारण कसैको पनि मृत्यु भएको छैन, एनाफाइलेक्सिसजस्तो गम्भीर अवस्था देखिएको छैन | सामान्य लक्षण त जुनसुकै खोपमा पनि देखिन्छन् | यी लक्षण २-३ दिनमा हराउँछन् |

विश्वका १०० भन्दा धेरै देशमा टिकाकरण सुरु नहुँदै नेपालले अक्सफोर्ड युनिभर्सिटीको अनुसन्धानको खोप पाउनु ठूलो उपलब्धि हो |