‘टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट अनुसन्धान हुँदै

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।

जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र शंकास्पद व्यक्तिको कपडासमेत परीक्षणका लागि पठाइएको जानकारी दिए ।

‘शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र सस्पेक्टेड व्यक्तिका कपडासमेत परीक्षणका लागि पठाइएको छ । टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट प्रहरीले अनुसन्धान जारी राखेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सिंहले राजधानीसँग भने ।

प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको र अनुसन्धानको दायरामा राखेको समेत उनले जानकारी दिए । तर उनीहरूलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।