अपराधको साङ्लोले बेरिएका ‘सुशन’ , यस्तो छ अपराधिक यात्रा

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूलाई जिल्ला अदालत झापाले नौ वर्ष १५ दिन कैद सजाय र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनायो ।

अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा सुशनलाई २०७३ साल माघ ५ गते अदालतले दोषी ठहर गरे पनि उनी पक्राउ परेका थिएनन् । भागेका उनी भारतमा लुकेर बसेका कारण तत्काल पक्राउ परेनन् । लुकिछिपी नेपाल आएका बेला इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी–४ आइतबारेबाट सुशनलाई मंगलबार राति ९ः३० बजेतिर पक्राउ गरेर झापा प्रहरीको जिम्मा लगायो ।

प्रहरीले बुझाएपछि उनलाई अदालतले जेल सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । यही मुद्दामा अदालतबाट सुशनसँगै दोषी ठहर भएका मोरङ मधुमल्लाका ३० वर्षीय अर्जुन थेवे भनिने अर्जुन पेहिम लिम्बू हालसम्म फरार छन् ।

घटना अनुसार अर्जुनले आफ्नो बा १३ च ६५९७ नम्बरको बोलेरो गाडी चलाउन लगाएर झापाको बिर्तामोड नगरपालिका–४ का विशाल ढुंगेललाई २०७२ साल पुस १४ गते बिर्तामोडबाट काँकडभिट्टा पु¥याए । त्यसपछि साँझतिर ढुंगेललाई लिएर अर्जुन पुग्दा भारतीय बजार पानीट्यांकीमा सुशनसहित तीन जना मदिरा सेवन गरेर बसिरहेका थिए ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार पानीट्यांकीबाट ढुंगेलले तत्काल आफू नेपाल फर्किनेभन्दै गाडीको चाबी अर्जुनलाई बुझाउन खोजे । तर ढुंगेललाई नेपाल फर्किन नदिइकन सुशन र अर्जुनको समूहले हातखुट्टा बाँधेर मुखमा टेप लगाई कुटपिट गरी साथमा भएको पाँच हजार रुपैयाँ लुटेर लगेको अनुसन्धानबाट खुलेको थापाको भनाइ छ ।

खाली कोठामा बन्धक बनाएर ढुंगेलको साथमा भएको १४ हजार दुई सय रुपैयाँ पर्ने मोबाइलसमेत लुटियो । सुशन र अर्जुनको समूह सुतेका बेला राति ढुंगेल फुत्किएर काँकडभिट्टा आउन सफल भएको डीएसपी थापाको भनाइ छ । ढुंगेलको जाहेरी अनुसार अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा प्रहरीले अनुसन्धान थाले पनि सुशन र अर्जुन फरार थिए ।

अदालतले मुद्दाको किनारा लगाउँदासम्म उनी पक्राउ परेनन् । नेपाल प्रहरीले ‘मोस्ट वाण्टेड’ सूचीमा राखेर सुशन र अर्जुनको खोजी गरिरहेको थियो । घटनामा संलग्न सुशन पक्राउ परे पनि अर्जुन अझैसम्म भागिरहेको डीएसपी थापाको भनाइ छ ।

गुण्डागर्दी, अवैध असुली लगायतका गतिविधीमा केन्द्रीत भएका सुशन एकपछि अर्को अपराधिक पृष्ठभूमिको साङ्लोले बेरिँदै गएका छन् । राजनैतिक आवरण र संरक्षणमा उनी विभिन्न अपराधिक चङ्गुलमा फस्दै गए । जघन्य प्रकृतिका दर्जनौँ अपराधिक घटनामा उनको संलग्नता छ । सुशनको अपराधिक पृष्ठभूमिको फेहरिस्त निक्कै लामो छ । भारत र नेपालमा उनीविरुद्ध विभिन्न अपराधमा संलग्न भएका एक दर्जनभन्दा बढी मुद्दा छन् । साथीभाइको गलत संगत र राजनैतिक संरक्षणले उनलाई ‘खुङ्खार अपराधी’ बनाएर समाजमा चिनाइदिएको जानकारहरु बताउँछन् । उनले ‘ग्याङ’ बनाएरै अपराधिक गतिविधीलाई स्थापित गराउँदै गए ।

गुण्डाको छवि बनाउँदै त्यसकै आडमा राज गरेर चन्दा असुली, अपहरण, चोरी, हत्या प्रयास, लागुऔषध तथा हतियारको कारोबार लगायतका अपराधिक धन्दा चलाउने गरेका लिम्बूलाई त्यही गलत कर्मले अहिले जेल पु¥याएको छ । राजनीतिक संरक्षणमा गुण्डागर्दीलाई पेसा बनाएका उनले तत्कालीन एकीकृत माओवादीको साथ लिएर उधुम मच्चाएका थिए ।

लिम्बू एमाओवादीको भातृ संगठन ‘योङ कम्युनिष्ट लिग’ (वाईसिएल) को मोरङ क्षेत्र नम्बर ९ का तत्कालीन संयोजक हुन् । जानकारहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको तत्कालीन एमाओवादीको आडमा जघन्य प्रकृतिका ठूला अपराधमा उनको उदय भएको बताउँछन् । सत्तारुढ नेकपाको एउटा समूह चलाइरहेका प्रचण्ड अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध सडकमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

जानकारहरुका अनुसार वाईसिएलको क्षेत्रीय नेतृत्वमा पुगेपछि २०६८ सालतिरबाट एउटा छुट्टै गिरोह खडा गरेर सुशनले अपराधिक गतिविधी थालेका हुन् । माओवादीको संरक्षण मिलेपछि उनलाई अपराधकर्म अघि बढाउन थप मद्धत मिल्यो । एक बेला उनको नाम सुन्दामात्रै उर्लाबारी क्षेत्र पूरै त्रसित एवं आतंकित हुनुपर्ने अवस्था रहेको एक स्थानीय बताउँछन् ।

प्रहरीका अनुसार आफ्नो नेतृत्वमा अपराधिक समूह खडा गर्दै सुशन २०६९ वैशाख २० गते उर्लाबारीस्थित कांग्रेस नेता खड्ग फागोको घरमा आक्रमण गर्न पुगेका थिए । पहिलो पटक आक्रमण असफल भएपछि फागोको घरमा दोस्रो पटक उनले आक्रमणको योजना बनाए । र २०६९ साल असार ५ गते राति ११ बजेतिर आक्रमणको योजनासहित पुनः सुशनको समूह फागोको घर घेर्न पुग्यो ।

त्यस क्रममा कांग्रेसमा आवद्ध युवासँग भएको दोहोरो झडपमा सुशनको समूहमा रहेका दुई जना वाईसिएल कार्यकर्ताहरु अरुण मगर र अमर धिमालको मृत्यु भयो । घटनामा राजीव लिम्बु घाइते भए । लिम्बु अहिले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको युवा संघ उर्लाबारीका अध्यक्ष हुन् ।

सुशनलाई उर्लाबारी क्षेत्रका बासिन्दा राजनैतिक संरक्षणमा ‘ग्याङ’ तयार गरेर जघन्य प्रकृतिका अपराधिक घटनामा संलग्न युवाका रुपमा चिन्छन् । ‘सुरुमा राम्रो पारिवारिक पृष्ठभूमिका कारण समाजमा राम्रै छवि थियो,’ एक स्थानीयले भने, ‘तर पछिल्लो समय कुलत र साथीभाइको संगतमा फसेपछि एकाएक अपराधी भएर निस्किए ।’ पारिवारिक पृष्ठभूमि कांग्रेस रहेका सुशन अवैध गतिविधी, असुली र गुण्डागर्दी गर्नकै लागि वाईसिएलमा छिरेको प्रहरीको बुझाइ छ ।

उर्लाबारी झडपपछि फरार भएका सुशनको जघन्य खाले अपराधिक यात्रा त्यही घटनाबाट सुरु भएको प्रहरीको विश्लेषण छ । राजनैतिक दबाबका कारण कारबाहीका लागि उनलाई प्रहरीले पक्राउ गर्न सकेन ।

उर्लाबारी घटनापछि सुशनलाई झापाको दमकस्थित ताराबारीमा रहेको धान मिलमा चन्दा उठाउन जाँदै गर्दा प्रहरीले पक्राउको प्रयास गरेको थियो । तर प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाउँदा छलिँदै भागेर उनले ज्यान बचाएका थिए ।

त्यसपछि भारतबाट लागुऔषध लिएर आउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगरबाट उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगायो । प्रहरीले चलाएको लागुऔषध मुद्दामा अदालतले उनलाई दुई वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनायो ।

सुशन अदालतको फैसला अनुसार सजाय भुक्तान गरेर कारागारबाट २०७१ साल वैशाख ३० गते छुटे । लागुऔषध मुद्दामा जेलबाट छुटेपछि एमाओवादीले लिम्बूलाई अवीर लगाएर स्वागतसमेत गरेको थियो । त्यसपछि अरु घटनामा संलग्न सुशनलाई प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिने आँट गरेन । माओवादीले राजनीतिक रुप दिएर उर्लाबारी घटनालाई त्यतिबेला थामथुम बनाउने प्रयास गरेको प्रहरी स्रोतले बताउँछ ।

लागुऔषध मुद्दामा जेलबाट छुटेपछि फरार भएका उनी २०७२ साल माघ ३ गते लागुऔषध गाँजा र चोरीको सवारी साधनसहित भारतको पानीट्यांकीबाट पक्राउ परे । पानीट्यांकीको एक होटलबाट उनलाई भारतीय प्रहरीले नौ सय ग्राम गाँजा, चोरी गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल र एउटा बलेरो गाडीसहित पक्राउ ग¥यो ।

नेपालमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका लिम्बू त्यतिबेला पक्राउ पर्दा भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकासन गरेका थिए । भारतमा जेल बसेर छुटे पनि भारतीय प्रहरीले नेपालमा रहेका मुद्दामा अनुसन्धान गर्न सुशनलाई नेपाल प्रहरीको जिम्मा नलगाइकन छाड्यो ।

२०७२ साल पुश ७ गते सुशनकै समुहले उर्लाबारी ३ का डम्बर गुरुङको घरमा लुटपाट मच्चाएको थियो । घटनामा लामो समयदेखि उर्लाबारी क्षेत्रमा गुन्डागर्दीका माध्यमबाट आतंक मच्चाउँदै आएका सुशन, पूर्वप्रहरी परियार, मधुमल्ला १ का २५ वर्षीय अर्जुन तेयुङ लिम्बू, उर्लाबारी २ का २५ वर्षीय विष्णु नेपालीसमेतको समूह संलग्न रहेको प्रहरीले पत्ता थियो ।

प्रहरी हौँ भन्दै पुगेको लुटेरा समूहले घरमा डम्बरकी पत्नी बिना मात्र भएको मौका छोपेर मंगलबार दिउँसो १ बजे लुटपाट मच्चाएको थियो । लुटेरा समूहले बिनालाई दुव्र्यवहार र विभिन्न धाक धम्की दिंदै घरमा रहेको एक तोला सुन, २६ हजार रुपैयाँ नगद, चाँदीको जलप लगाएको एक किलोको थाली, ४२ इन्चको एलईडी टीभी र आठवटा करुवा लुटेर लगेको थियो।

तत्कालिन इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार लुटपाटमा संलग्न पूर्वप्रहरी जवान परियारलाई पक्राउ गर्न प्रहरी सफल भएपछि घटनामा संलग्नहरूका बारेमा पुष्टि भएको थियो । परियारविरुद्ध प्रहरीले डाँका मुद्दा चलायो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चक्र बस्नेतको पालामा पेस्तोल सहित पक्राउ परेका सुशन हातहतियार खरखजना केश अन्तगतृ सजाय झेलेका थिए । सुशनले उर्लाबारी चिउरामिल रोडमा उर्लाबारीकै नविन थापाको हात छिनाईदिएका थिए ।

२०७२ साल भदौमा इटहरीका निर्माण व्यवसायी (हाल इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष) भीम पौडेललाई १० लाख रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेको प्रहरी बताउँछ । पैसा नदिए मारेर बुढी खोलामा फालिदिने धम्की पौडेललाई दिएपछि पक्राउ परेका सुशनको अपराधिक पृष्ठभूमिको विगत त्यतिबेला पनि प्रहरीले खोतल्न चाहेन ।

उनलाई गुण्डागर्दी र चन्दा असुली गरिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेर २०७३ सालमा सार्वजनिक अपराध ऐन (अहिलेको अभद्र व्यवहार मुद्दा) अन्तर्गतको मुद्दा चलायो । प्रहरीले पुरानो घटनामा कारबाहीका लागि चासो नदिँदा उनी एक हजार चार सय रुपैयाँ जरिवाना तिर्दै छुटेर भारततिरै भाग्न सफल भए । त्यतिबेला उर्लाबारीका तत्कालीन प्रहरी निरीक्षक श्रीराम भण्डारीले उनीविरुद्ध कारबाहीका केही कदम अगाडि बढाएको देखिन्छ । सुशन र उनको सूमहले प्रयोग गर्ने हन्क, आर वान–५ र बुलेट मोटरसाइकल नियन्त्रणमा लिएर पनि भण्डारीले अनुसन्धान गरेका थिए ।

मोरङको मधुमल्लामा जग्गा विवादमा एक व्यक्तिको हत्या प्रयास गरेको अभियोग रहे पनि उनीविरुद्ध उक्त घटनामा प्रहरीले कारबाही अघि बढाउन सकेन । उनी पक्राउ पर्नासाथ छुटाउनका लागि तत्कालीन एमाओवादीका नेताको फोन प्रहरीमा पुग्ने गरेकाले समस्या हुने गरेको प्रहरीका एक अधिकृतले बताए । वाईसिलको कार्यकर्ता भएता पनि गरेका विभिन्न गैरकानुनी धन्दामा सुशनमाथि कारबाही अघि बढाउने प्रहरीको जोडमा एमाओवादी नेता बाधक बन्ने गरेको स्रोतले बतायो ।

फरार भए पनि लुकिछिपी अपराधिक यात्रालाई निरन्तरता दिइरहेका सुशनविरुद्ध नेपाल र भारतमा दजनौं अपराधमा मुद्दा रहेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘कारबाहीबाट जोगिन नेपालमा अपराध गर्दा भारत भाग्ने र भारतमा गर्दा नेपाल आई लुकेर बस्ने गरेको पाइयो,’ उनले भने, ‘अहिले नेपालमा पक्राउ परे पनि भारतमा कुनै अपराध गरेर आएको हुनसक्ने अनुमान छ ।’

सुशनले आफ्नो अपराध यात्रा अघि बढाउन उर्लाबारीलाई भरपुर प्रयोग गरेको प्रहरीका एक अधिकृतको भनाइ छ । तत्कालीन एमाओवादीको संरक्षण मिलेपछि वाईसिएल उर्लाबारीको नेतृत्व हत्याएका सुशनको पृष्ठभूमि र वर्तमानसमेत आपराधिक रहँदै आएको छ । उनी लागूऔषध र अन्य फौजदारी अभियोगमा जेल पर्दै र छुट्दै गरेका व्यक्ति हुन् । उनीसँग जोडिएका सबै घटना र मुद्दाको मिहिन ढंगले अनुसन्धान गर्ने हो भने सुशनको जीवन जेलमै बित्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

एसपी खड्काले सुशनविरुद्ध नेपालमा अहिलेसम्म कतिवटा मुद्दा छन् भनेर खोज्न र उनीसँग जोडिएका पुराना फायल पल्टाउन थालिएको बताए । ‘जेलमा बसे पनि अरु मुद्दामा अनुसन्धानका लागि तान्न सकिन्छ,’ उनले भने, ‘कारागारबाट ल्याएर अरु अपराधिक घटनाको बयान गराउने लगायतका कारबाही अघि बढाइने छ ।’

सिलगढी, दार्जीलिङ लगायत क्षेत्रका आपराधिक पहिलेदेखि लिम्बूको ’सम्बन्ध’ रहेको प्रहरीले जनाएको छ । त्यहाँबाट लिम्बूले लागूऔषध र हातहतियार ओसारपसार गर्ने शंका भारतीय प्रहरीको छ ।