‘जनता आफ्नो देशको लागि आमा जस्तो बन्नु पर्छ’

भीम उपाध्याय, पुर्ब सचिब नेपाल सरकार – सामाजिक संजालमा लेख्नु हुन्छ : जनता देशको लाइ आमा बन्नु पर्छ! अत्यन्त प्रेरणादायी लेख! समय निकालेर अबश्य पढ्नु होला | 

जनता आमा बन्नुपर्छ: भीम उपाध्याय

काखको बच्चा एक्कासी कडा ज्वरो आएर बिरामी पर्दा निरक्षर अनपढ आमाले पनि म डाक्टर होईन, केही गर्न सक्दिन, जान्दिन भनेर त्यतिकै बस्छ र? आमाले मायाले आफूले जानेको बेसार, निम, तुलसी, टिमुर, ज्वानो, मरिच जे जे उपलब्ध छन्, पकाएर, औषधि बनाएर खुवाई हाल्छिन्। बच्चा पनि विस्तारै सन्चो पनि हुन थाल्छ। म डाक्टर होईन भनेर आमाले प्राणप्रिय बच्चालाई त्यतिकै कष्टकर अवस्थामा कुनै हालतमा पनि रहन दिदैनिन्।

मुलुकको शासन ब्यवस्थामा ज्वरो आई बिमारी पर्दा सबै जनताले आफू बिज्ञ भए पनि, नभए पनि आमाले जस्तैगरी त्यस्तै बेसार, टिमुर, ज्वानो, मरिच पकाएर खुवाउनुपर्छ। जान्दिन भनेर चुप लागेर बस्नु हुदैन। डाक्टर आउला, हेर्ला, उपचार गर्ला भनेर पर्खेदै हात बॉधेर बसेमा डाक्टर आईपुग्दासम्म बच्चा मर्न पनि सक्छ। तपाई हामी कसैले पनि यो दुनियॉको सबै ठेक्का लिएका छैनौं, लिन संभव पनि छैन।

तर हाम्रा अगाडी यदि कोही पीडित वा अति दु:ख पाएको, आर्थिक रूपमा अति कमजोर, अति बेरोजगार, गरिब ब्यक्ति जम्का भेट भयो वा उसले दु:ख पाएकोले तपाई हामीसंग सहयोगको याचना गर्यो भने वा देखियो भने त्यसबेला कुनै अन्य कुरा सोच्दै नसोची, तत्काल आफूले जे जति सकेको सहयोग दिईहाल्नुपर्छ। मैले मात्र गरेर के हुन्छ र? कतिलाई यसरी गरिसाध्य हुन्छ र? यस्ता सयौँ हजारौँ छन् कहॉ गरिसाध्य लाग्छ र भन्नु करूणाहिन बन्दै गरेको लक्षण हुन्छ।

दान गर्न नसकेको धन, ज्ञान र शक्ति बेकार हुन्छ। त्यसले अन्तत: पछि आफैलाई पिर्ने गर्छ। अरूलाई कष्ट दिन सक्छ।
जति जति पछि नेपालमा नयॉ नयॉ सरकारहरू आउदै गर्छन्, तिनलाई त्यति त्यति काम गर्न झन् झन् बढी कठिन हुदै जाने र फलामको च्युरा चपाउनु पर्ने हुदै गर्छ। किनभने मुलुकको विगत अथाह बिगारी सकिएको छ। बिकृतिका रोगहरू धेरै क्रोनिक भएर छिप्पिदै गई राजकीय शरीरका सबै अंगमा र अन्य भागहरूमा पनि सुनामी संक्रमण भएको छ र त्यो क्रम जारी छ। यो भन्दा डरलाग्दो कुरा त ती बिकृतिका सर्जक वा जनकहरू, पात्रहरू, खेलाडीहरू यिनै नेता, तिनका कार्यकर्ता, आफन्त, समर्थक, भातृ संगठन, चन्दादाता, उद्योगी, ब्यापारी, कथित प्रि/पोष्टपेड दलीय बुद्धिजीबीहरू वा विद्वानहरू नै हुन्। तिनकै कब्जामा मुलुक पालैपालो निरन्तर छ। आफन्तहरूको घेराउमा यसरी घेरिएर होलसेलमा शासन प्रशासन बिकृत बनेपछि, परेपछि यसको समाधान चानचुने तरिकाले हुने कुरै छैन। महाभारतको कथामा जस्तो नितेदार-नातेदारबीच मै टोटल वारको धर्म युद्धबाहेक अब अरू कुरै समाधान पनि संभव छैन।

कुनै मानिसले समाज वा मुलुकका लागि कुनै गाह्रो वा असंभव प्रतीत काम गर्छु भनेर अघि बढ्यो भने सबैले सहयोग र समर्थन गर्नुपर्छ, म त्यही गर्ने गर्छु। मैले गर्न नसक्दैमा अरूले गर्न सक्दैन भन्दिन। तर, मैले गर्न सक्छु भने अरूले पनि गर्न सक्छन् भन्ठान्छु।

ईमानदार, लगनशील भएर लागिपर्नु मात्र हाम्रो हातमा छ। नतिजा सबै आफ्नो हातमा हुदैन, छैन। कसैको ईमानदार प्रयत्ननै सबैभन्दा स्तुत्य रहन्छ। सही नतिजा निस्कन धेरै पात्र, तत्वहरूको समन्वय, सहयोग, सहकार्य वा अनुकूल समयको हात हुने गर्छ। कसैले केही गरेन भने केही हुनेवाला छैन। तर कसैले केही गर्यो भने पनि हुन्छ भन्ने चैँ हुदैन। त्यसैले केही गर्न पवित्र मनसायले अघि सर्नेहरू नै महान हुन्। ती नै मानवजाति, समाज र मुलुकका जिम्मेवार ब्यक्ति हुन्।

प्रयत्नमा मात्र हाम्रो अधिकार छ, नतिजामा कसैको अधिकार हुदैन।
पवित्र भलाईका काममा प्रयत्नशील रहने सबै हरदम स्तुत्य छन्।