पौष १५ गते अर्थात खाजा खाने दिन :

डा. रवीन्द्र पाण्डे,
आजभोली खाजा खाने कुरा एकदम साधारण र दैनिक जीवनचर्या अन्तर्गत पर्दछ | हाम्रो बाल्यकालमा खाजा खाने बिशेष दिन हुन्थ्यो, पौष १५ गते | खाजा खाने कार्यक्रमको लागि केहि दिन पहिलेदेखि हामीले योजना बनाउन्थ्यौं | अनि जिम्मेवारी बांडफांड गर्थ्यौं | त्यहि अनुसार खाना पकाउने भाँडाकुँडा, दाउरा तथा अन्नपातको ब्यबस्था गर्थ्यौं |

पौष १५ गते न्यानो घाम लागेपछि हामी बारीको कुनो, भिर वा सम्मो ठाउँमा स्पोट बनाउथ्यौं | ढुंगाको ओदानजस्तो बनाएर आगो बाल्थ्यों | कुनै बर्ष सानो छाप्रो बनाएर छाप्रोभित्र खाजा बनाउने पनि गर्थ्यौं |
म, भाइ किशोर, कृष्ण, खिमा, धनीश्वर, शिबलगायतका साथीहरुले घरबाट अनदिका चामल, बारीका आलु, कोपि ( काउली ), साग, धनियाँ, घ्यु, नुन, मरमसला तथा भाँडा लिएर जान्थ्यौं | तरकारी काटेर, लपक्क घ्यु हालेर भात तथा झोलिलो तरकारी पकाउँथ्यौं| खुर्सानी राखेको बाइमडाको चटनी …. आहा,साथीहरु मिलेर पकाउन खुब रमाइलो लाग्थ्यो |

त्यो खाना खाँदा यति मिठो लाग्थ्यो कि, त्यसको बर्णन गर्न सकिंदैन | कुहिनाबाट घ्यू चुहिनेगरि खाना खान्थ्यौं, त्यसको नाम खाजा थियो |
बहिनीहरुको आफ्नै समुह हुन्थ्यो |

एकपटकको कुरा हो, हाम्रो लाम्पाटो नजिकको भीरमा खरले छाएको झुप्रो बनाएर खाजा खायौं | खाजा खाएपछि झुप्रोलाई आगो लगाउने चलन थियो | त्यसै अनुसार हामीले आगो लगायौं | त्यो आगो भीरमा फैलियो | हामीले पानी, माटो, सेउला आदिले बडो मुस्किलले आगो नियन्त्रण गर्यौं |

खाजा खानको लागि हामी कहिले काफलपानी, कहिले आफ्नै बारीको पाटो, कहिले कोलडांडा त कहिले भर्जी जान्थ्यौं | दर्जनौं देशका पाँचतारे, साततारे तथा अन्य तारेहोटेल, नामुद रिसोर्ट, प्रसिद्ध पाकशाला तथा हजारौं रेस्टुरेन्टमा खाना खाइयो तर पौष १५ गते आफैले पकाएर खाएको खाजाको जस्तो मिठो स्वाद कहिं पनि अनुभूत भएन |

यहाँहरुको अनुभव कस्तो छ ? हाम्रो गुल्मीमा यस्तो चलन छ | तपाईहरुको जिल्लामा यस्तो छ कि छैन ?