‘केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथि खेलवाड’

तेजन खड्का ,
मोरङ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डीगबहादुर लिम्बूले आगामी निर्वाचनमा नेपाली कांंग्रेसले बहुमत ल्याएर सत्ता समाल्ने बताएका छन् । लेटाङमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ ले सरकारको असंवैधानिक कदमविरुद्ध आयोजना गरेको विरोध सभामा नेता लिम्बूले सो कुरा बताएका हुन् ।

कांग्रेस जनताको पीरमर्कामा सधैँ साथमा रहेको बताउँदै कम्युनिष्ट सरकारले जनताले दिएको स्पष्ट बहुमतलाई कुल्चिएर सत्ता र सम्पत्ति मोहमा फसेको उनले आरोप लगाए । केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथि खेलवाड गरी लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेकोप्रति उनले आपत्ति जनाए ।

केपी ओली नेतृत्वको सरकार नारामा मात्रै राष्ट्रवादी भएको उनको भनाइ थियो । देशको सारा सिमाना मिचिएर कालापानी लिम्पियाधुरामा भारतीय सेना बस्दै गर्दा सरकार केही पनि बोल्न नसकेको नेता लिम्बूले आरोप लगाए । ‘राष्ट्रवादी नाराले चुनाव जितेका केपी ओली सरकार चु बोल्न सकेको छैन । नारामा मात्र राष्ट्रवादी कुरा गरेर राष्ट्रवादी भइन्न । काम गरेर देखाउनु पर्छ,’उनले भने ।

आफूलाई संविधान सभा निर्वाचनमा विजयी गराएर संविधान घोषणा गर्ने अभिभारामा पूरा गरेको बताउँदै नेता लिम्बलेू कम्युनिष्टहरुले जनतामाझ झुटको खेती मात्र गरेको बताए । ‘अब झुटा सपनाको पछि लाग्ने दिन गयो । अब आफ्नो हक अधिकारका लागि लोकतन्त्रवादीहरू एक हुने बेला आएको छ । अनि मात्र हाम्रो अधिकार र आवश्यकता परिपूर्ति हुन्छन्, युवाहरुलाई यहीँ रोजगारको अवसर सिर्जना गर्न सकिनेछ,’ उनले भने ।

मोरङ क्षेत्र नम्बर १ का सभापति खड्ग फागोले कम्युनिष्ट सरकारलाई देशको समृद्धिको लागि जनताले दिएको बहुमत लोभलालचमा परेर आफ्नो स्वार्थपूर्ति गर्न प्रयोग गरेको बताए । कम्युनिष्टहरुले जनताको भविश्य र देशलाई नै डामाडोल बनाएको फागोले आरोप लगाए । आँखा चिम्लिएर हेर्नेहरुले कम्युनिष्ट पार्टीलाई अझै पनि गौरवशाली पार्टी भएको भनेर गर्व गर्ने गरेको भन्दै उनले व्यंग्य गरे ।

देशमा महरा काण्ड, गोकुल बास्कोटा काण्ड, ललिता निवास प्रकरण, बालुवाटार काण्ड, निर्मला हत्याकाण्डलगायत काण्डै-काण्डमा कम्युनिष्टहरु मुछिँदा पनि आँखा चिम्लिनेहरूलाई नेता फागोले अब आँखा खोल्न सुझाव दिए ।

कार्यक्रममा माहासमिति सदस्य ललित अधिकारी, नेपाल महिला संघकी केन्द्रिय सदस्य शोभा चेम्जोङ पालुङ्वा, नेपाली कांग्रेस मोरङ जिल्ला सह—सचिब रोहित कार्की, तरुण दल मोरङ १ का सभापति देवराज चाम्लिङ, लेटाङ नगरपालिकाका मेयर शंकर राई लगायतले बोलेका थिए ।