एफएनजे युकेको क्षमता अभिवृद्धिका लागि ‘पत्रकारिता संवाद’ आइतबारदेखि

लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले आगामी आइतबारदेखि शाखाका सदस्यहरुको पत्रकारिता पेशामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘पत्रकारिता संवाद’ शुरु गर्न लागेको छ । पत्रकारिता क्षेत्रका विज्ञ र अग्रजहरुसँग अनुभव र ज्ञान आदानप्रदान गरी आफ्ना सदस्यहरुलाई लाभ पुर्याउने उद्देश्यले शाखाले सो संवाद संचालनमा ल्याएको हो । यो संवादको पहिलो अंक आइतबार हुनेछ ।

शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलको संयोजनमा सुरु हुने उक्त पत्रकारिता संवादमार्फत विश्वभर पत्रकारिताका क्षेत्रमा भइरहेका परिवर्तन र पत्रकारहरुले व्यवसायिक रुपमा गर्नु पर्ने कार्यलगायतका बारेमा छलफल हुनेछ । पाक्षिक रुपमा हुने सो सम्वाद बेलायतको समय अनुसारविहान ११ बजे पत्रकारिता संवादको समय तय भएको छ ।

संवादको पहिलो अंकमा अस्ट्रेलिया बसोवास गर्दै आएका संचार विज्ञ डा. भरतराज पौडेल र नेपाल अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी अतिथिका रुपमा आउने शाखाले जनाएको छ । यस अंकमा पत्रकार तथा अतिथिहरुबीच अनलाइन पत्रकारिता तथा अनलाइनमा फैलिने भ्रामक समाचार (फेक न्युज)का बारेमा संवाद हुने कार्यक्रम संयोजक श्याम लुईटेलले जानकारी दिए । उनका अनुसार संवादले डायस्पोराको पत्रकारितालाई थप व्यावसायिक बनाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

शाखाको यसअघि बसेको बैठकले शाखाका सदस्यहरुका वृत्ति विकासका लागि सो कार्यक्रम संयोजन गर्ने जिम्मा लुइँटेललाई दिएको थियो । त्यस्तै, शाखाले पाक्षिक रुपमा स्वास्थ्य संवाद कार्यक्रम संचालन गरिरहेको छ । कोरोना महामारीबाट बेलायतस्थित नेपाली समुदाय समक्ष चेतना फैलाउन उद्देश्यले नेपलिज डाक्टर्स एसोसिएसन युके, नेपलिज नर्सेज एसोसिएसन युके र एनआरएनए युके स्वास्थ्य समितिसँग मिलेर सो सम्वाद चलिरहेको छ । उक्त संवादको संयोजन शाखाका अर्का वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याललाई दिएको छ ।