नेपाली बोल्नै नजान्ने गायिकाले गाइन् यस्तो नेपाली गीत

काठमाडौं – इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् ।

नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली…’ शीर्षकमा । वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुवालाई सरप्राइज दिन गाएकी थिइन्, तर गीतले नेपाली संगीतकर्मीहरुसहित दर्शक तथा स्रोतालाई नै आश्चर्यमा पारिदियो ।

१५ वर्षीया गायिका आइशा डोटेलको चौतर्फी प्रसंशा भयो । उक्त गीतका शब्दहरु अष्ट्रेलियामै बसोबास गर्ने प्रगती देवकोटा न्यौपानेले रचना गरेकी थिइन् भने संगीत दिएका थिए प्रगती,आइशा तथा प्रशान्तले । भिडियो बनाएका थिए सञ्चारकर्मी दीपेश श्रेष्ठले ।

उक्त गीतको भिडियो यूट्युबमा झण्डै पाँच लाख पटक हेरिएको छ । आईशा डोटेल, प्रगती देवकोटा न्यौपाने तथा दीपेश श्रेष्ठसहितको सोही समुहले यतिबेला अष्ट्रेलियाबाटै एउटा नयाँ गीत यूट्युबमार्फत सार्वजनिक गरेको छ, यसपटक पनि यो समुहले सांगीतिक क्षेत्रमा केही सरप्राइज दिएको अनुभव गरेको छ ।

यसपटक पनि प्रगती देवकोटा न्यौपानेको शब्दमा आइशा डोटेल तथा प्रमिला राईले एउटा गीत गाएका छन्- ‘लिसन टु मि’ शीर्षकमा । यो गीतलाई संगीतकर्मी सञ्जीव सिंहले संगीतबद्ध गरेका हुन् भने दिनेश श्रेष्ठले यसलाई संगीत संयोजन गरेका छन् ।

यस्तो छ भिडियो :

दीपेश श्रेष्ठले यो भिडियो निर्देशन गर्नुका साथै भिडियोको छायांकन तथा सम्पादन पनि उनैले गरेका छन् ।भिडियोमा विशेष शेरचनको सह–निर्देशन छ । गीतकार प्रगति देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ । आमा–छोरीको हरेक दिनका क्रियाकलापहरु गीतमा चित्रण गरिएका छन् ।

हरेक आमाहरु आफ्ना किशोरी छोरीहरुप्रति चिन्तित भएजस्तै यो गीतमा पनि एउटी आमा उनकी छोरीप्रति चिन्तित छिन् । छोरीले गलत बाटो नसमातुन् भन्ने कुरामा आमा चिन्तित छिन् । आमा चाहान्छिन्, उनकी छोरीले उनका कुरा सुनुन् , सधैं सुरक्षित रहुन् तथा उज्वल भविष्यतर्फ अग्रसर हुन् ।

जबकि, छोरी आफैं स्वतन्त्र, आत्मनिर्भर तथा रमाइलो गर्न चाहन्छिन् । हुन पनि छोरी आत्मविश्वासले भरिएकी छिन्, आफ्नो बारेमा आफैं सोच्न सक्ने भएकी छिन् । आमाले आवश्यकताभन्दा बढी नै चिन्ता गरेको छोरीको बुझाइ छ । समग्रमा उक्त गीतले यही कुरा व्यक्त गर्दछ ।

विगत १६ वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार प्रगती देवकोटा न्यौपाने गायिका आइशाकी आन्टी हुन् । वेस्टर्न सिड्नी यूनिभर्सिटी तथा यूनिभर्सिटि अफ सनसाइन कोस्टमा अध्यापन गराउने प्रगती महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन् । उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन् ।

आइशालाई नेपाली गीत गाउन प्रेरित गर्ने प्रगति नै हुन् । एक वर्षअघि प्रगति र आइशाको परिवार क्याम्पिङ गएका थिए । त्यही बेला आइशाले अंग्रेजी गीत गाइन् । आइशाको गायनबाट प्रभावित प्रगतीले आफ्नी छोरीलाई संगीत सिकाइदिन अनुरोध गरिन् ।

नेपालमा हुँदा प्रगती गीत तथा कविता रचना गर्थिन् । छोरीलाई संगीत सिकाउन थालेकी आइशालाई उनले आफूले लेखेको नेपाली गीत अभ्यास गराउन थालिन् । ‘नेपाली भाषा सिकेर बुवालाई सर्प्राइज दिने भन्दै आइशाले प्रसस्त मिहिनेत गरेर नेपाल उच्चारण गर्न सकिन्, गीत नै गाउन सिकिन्’ प्रगतीले आईशा गायिका बन्नु पछाडिको प्रसंग कोट्याउँदै भनिन् ।

भिडियोका निर्देशक दीपेश श्रेष्ठ भन्छन्— ‘जब मलाई प्रगतीले यो गीतको कन्सेप्ट सुनाइन्, मलाई एकदमै मन छोयो । शायद आफू पनि एक अभिभावक भएकाले होला । अचेल दुई पुस्ताबीचको दुरी केही बढेको हो कि जस्तो लाग्छ । हामी परदेशीहरुको धेरै समस्याहरु मध्ये एउटा ठूलो समस्या आफ्ना बच्चालाई नेपाली भाषा सिकाउनु पनि हो।

आमा–छोरीबीचको संवादलाई गीतमार्फत अहिलेको पुस्तालाई पनि मन पर्ने खालको बनाउनु एउटा चुनौती नै थियो । त्यति मात्र होइन, नेपाली संगीतमा एउटा नौलो प्रयोग गर्ने रहर पनि थियो । प्रगतीले शब्द कोर्दै गइन्, आफैं पनि छोरीकी आमा भएकाले होला उनले आफ्नो मनको बह शब्दमा उतार्दा निकै लामो भएको थियो । शब्दको खाका तयार पारेर संगीतकार सञ्जीव सिंहलाई संगीतका दिने दिने निर्णय भयो । गीत अलि लामो भएकाले प्रगतिले धेरै पटक पुनर्लेखन गरेर छोटो पारिन्, सञ्जीवले मीठो धुन तयार पारे । गायिका प्रमिला राई र आइसाले धेरै मेहनत गरेर गाएका छन् । आइसाको स्वर सुन्दा उनी १५ वर्षीय बालिका हुन् भनेर पत्याउन निकै गाह्रो पर्छ ।’