स्कटल्याण्डमा एक नेपाली युवामाथि सांघातिक हमला।

स्कटनेपाल,
केही समय यता बेलायतमा नेपाली समुदाय माथि निकै नै आक्रमणका घटनाहरु बढिरहेको समाचार छ। ढिलोगरी प्राप्त समाचार अनुसार गत हप्ताको शुक्रबार राती अर्थात् ३० अक्टोबर २०२० को राती करीब १० बजेतिर स्कटल्याण्डको लार्खाल रेलवे स्टेशनबाट ग्लास्गो चल्ने स्कट रेलवे सेवामा एक्लै यात्रा गर्दैगरेका एक नेपाली युवालाई अज्ञात युवाहरुको समूहले रेलको डिब्बा भित्रै पसेर सांघातिक रुपले आक्रमण गरेको खबर छ।

हामीलाई प्राप्त जानकारी अनुसार अन्दाजी चालिस बर्षीय टिका नाम गरेका ती नेपाली युवालाई रेलको पछाडीको ढोकाबाट छिरेका एक अग्लो कदका गोरा युवाले एक्कासी पछाडिबाट टाउको खल्बलिने गरी प्रहार गरेका थिए। त्यसको लगत्तै ६/७ जनाको समूहमा आएका अन्य युवाहरुले रेलको अगाडी पट्टिको ढोकाबाट आएर उनलाई घेरी नराम्रो गालीगलौज गर्दै पुन हातपात गरेका थिए। ती युवाले सबै आक्रमणकारीहरु गोरा समुदायको भएको बताएका छन्।

ती समूहले आफूहरु त्यहाँको स्थानीय शक्तिशाली डन् को समूह भएको र उनीहरु बिरुद्द कुनै उजुर बाजुर गरेमा कसैले पनि केहीपनि गर्न नसक्ने भन्दै ती नेपाली युवालाई धम्की दिंदै नराम्रोसंग कान फुट्ने गरी गालामा प्रहार गरी रेलबाट निस्किएर भागेका थिए। कुटाईबाट उनको कान वरिपरि चोट लागी टाउकाको भाग केही सुन्निएको र जिऊ समेत नराम्ररी दुखेको थियो।

यस घटनालाईलिएर ती युवा स्थानीय प्रहरीमा उजुरी गर्न जाँदा स्कटल्याण्डको प्रहरीले रेलवे सेवा भित्रको घटना भएकोले स्थानीय ट्रान्सपोर्ट पुलिसमा उजुर गर्न सल्लाह दिएका थिए। त्यसपछि उनले स्कटल्याण्डको मदरवेल स्थित सम्बन्धित यातायात प्रहरी कार्यालयमा उजुरी गरेका थिए भने ट्रान्सपोर्ट पुलिसले क्राईम रेफरेन्स सहित उक्त घटनाको अनुसन्धान अगाडी बढाएको समाचार छ। स्कट-नेपाल अन्लाईनलाई प्राप्त जानकारी अनुसार यस घटनाको क्राईम रेफरेन्स नम्बर: १६२ /०४/११/२०२० रहेको छ।