अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो ।

उहाँले राजीनामा दिदै वित्तीय संघीयता कार्यान्वयनको चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिनुभएको बताइएको छ । साथै, उहाँले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै, उहाँले वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले चुनौती रहेको उल्लेख गर्नुभएको पनि बताइएको छ । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर आज बिदा भएपछि नेपालको अर्थतन्त्र तरंगित भएको छ ।

कोभिड १९ को कारण नेपालको आर्थिक गतिविधि ठप्प भएको छ । सरकारले बजेटमा लिएको राजश्व, खर्च प्रभावित हुँदा सिंगो अर्थतत्र नै संकटमा रहेको बेला अर्थमन्त्री खतिवडाले राजीनामा दिनेपछि संकटमा रहेको अर्थतन्त्रको नेतृत्व कसले गर्ने भन्ने बिषयमा बिभिन्न अनुमानहरु हुन थालेको छ ।

आर्थिक तथा ब्यवसायिक क्षेत्रलाई अनुशासनमा राख्नु पर्ने मान्यता बोकेका अर्थमन्त्री खतिवडाको योजनाहरुको आगामी दिनमा कार्यान्वयन कसरी हुन सक्छन भन्ने बिश्लेषण हुन थालेका छन् ।

अर्थमन्त्री खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त हुनु भएको थियो । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त हुनुभएको थियो । अर्थमन्त्रीको रुपमा खतिवडाले साढे दुई बर्षको अवधिमा ३ बटा बजेट प्रस्तुत गर्नु भएको थियो ।