बाहुनक्षेत्रीहरुमा भन्दा मंगोलियनहरुमा झनै बढी जातीय अहंकार, छूवाछूत र भेदभाब हाबी छ। – आङ्गकाजी शेर्पा

– रुद्र ढकाल (हलोवाला), लिभरपुल।

भर्खरै अन्तराष्ट्रिय नेपाली समाज युकेले बेलायतबाट आयोजना गरेको एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा जनता समाजबादी पार्टीका प्रबास विभाग ईञ्चार्ज आङकाजी शेर्पाले आजभोली बाहुन क्षेत्रीहरुमा भन्दा मंगोलियन जनजातीहरुमा बढी जातीय अहंकार तथा छूवाछूत र भेदभाबको उग्रबादी सोंच हाबी हुँदै गएको औंल्याएका छन्। उनले हालै युट्युबमा मंगोलियन अर्गनाइजेशनको हवाला दिंदै ग्याल्जेन दोर्जे तामाङ्गद्वारा निकालिएको र्याप गीतको सन्दर्भमा नेपाली समाज युकेका अभियन्ता कृष्ण गैह्रेले लण्डनबाट सोधेको प्रश्नको जबाफमा उक्त कुरा बताएका हुन्। गैह्रेले नेपालको झण्डा जलाईएको र ब्राह्मण क्षेत्रीहरुलाई होच्याईएको सन्दर्भमा शेर्पा मार्फत जसपा को धाराणा सोधेका थिए।

उक्त गीतको “गेडा” अर्थात् हरफहरु भित्र बाहुन क्षेत्रीहरुलाई ठग र लुटेराको आरोप लगाउँदै नेपालबाट नै खेद्नु पर्ने कुरा निकै आपतिजनक र हिँसा भड्काउने खालको भएको भन्दै नेपाली समाजका अभियान्ता कृष्ण गैह्रेको भनाईलाई सहमति जनाउँदै आङ्ग काजी शेर्पाले अहिले छुवाछूत र ब्राह्मणबादको भेदभाब बाहुन क्षेत्रीहरुमा भन्दा गुरुङ, मगर, राई लिम्बू, किराँत, तामांग अनि तमाम मङ्गोलियन जनजातीहरु भित्र हाबी हुँदै गएको र यस्तो प्रवृति अतिबाद र कालान्तरमा ब्राह्मणबाद नै हो भनी औंल्याए। उनले उहिल्यै पृथ्बी नारायणले उपत्यकाका नेवारहरुलाई आफूले जितेपछि नाक काटेर बदला लिए जस्तै अहिलेको २१ औं शताब्दीको जमानामा जनजातीहरुले ब्राह्मण क्षेत्रीहरुलाई पनि पहिलेको कुरा सम्झिएर त्यसरी नै बदला लिन खोज्नु एकदमै उग्र सोंच भएको र कसैले पनि त्यसो गर्न नहुने र नसुहाउने बताए। यस्तो कुरा अन्तराष्ट्रिय नेपाली समाज युकेले हिंजो बेलायतबाट “जुम वेबिनार” मार्फत एक बिश्वब्यापी अन्तरकृया कार्यक्रम गर्दै गर्दा उठेको हो।

आधुनिक सूचना प्रबिधीलाई प्रयोग गर्दै समाजका अध्यक्ष चन्द्र गुरुङले संचालन गर्नु भएको पाँच घण्टा लामो उक्त उक्त भर्चुअल अन्तरक्रियामा विभिन्न देशमा छरिएर रहेका एन आर एन का पदाधिकारीहरु देखि नेपाल स्थित जनता समाजबादी पार्टीका शीर्ष नेताहरु समेत् करीब ४० जना बुद्दिजीबीहरु सहभागी थिए।

नेपालको पछिल्लो राजनैतिक अनि साँस्कृतिक आन्दोलन तथा देश बिदेशमा रहेका नेपालीहरुका समस्याका बिषयमा केन्द्रित रहेको उक्त वेबिनारमा विभिन्न बुद्दिजीबीहरुले जनता समाजबादी पार्टीका बरिष्ट नेताहरु डा. बाबुराम भट्टराई तथा आङ् काजी शेर्पालाई “जुम” मार्फत आफ्ना प्रश्न तथा जिज्ञासा र सुझाबहरु राखेका थिए। कार्यक्रमले विभिन्न साँस्कृतिक, आर्थिक र राजनैतिक मुद्दाहरुलाई समेटेको थियो भने डा. बाबुराम भट्टराई तथा आङ्गकाजी शेर्पाले विभिन्न व्यक्तिहरुको प्रश्न र जिज्ञासाहरुमाथि पालैपालो बहस गरेका थिए।

अन्तरकृयाको पहिलो शेशन नेपालको कोरोना ब्यबस्थापनको चरम लाहापर्बाही, सम्भावित आर्थिक मन्दी र बेरोजगारी; एनआर एन तथा भूतपूर्ब गोर्खाहरुको पेन्शन तथा दोहोरो नागरिकता सम्बन्धी कुरामा केन्द्रित रह्यो। यसै क्रममा विभिन्न क्षेत्रका बुद्दिजीबीहरुले जनता समाजबादी पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराई समक्ष विदेश बस्ने सम्पूर्ण नेपालीहरुको समस्याहरुलाई सदनमा अझ प्रभावकारी रुपमा राखिदिनकोलागि अनुरोध गरेका थिए।

यसै शिलशिलामा एन आर एन का बर्तमान महासचिब डा. हेमराज शर्माले नेपालीहरु कुनै रहर नभई कहरले नै बिदेशिन बाध्य भएका र यसरी बिदेशिएका नेपालीहरुले आफ्नो मातृभूमिलाई आ-आफ्नो ठाउँबाट आर्थिक, प्राबिधिक र बौद्दिक हिसाबले सक्दो रुपमा निरन्तर सहयोग गरिरहेका र तिनीहरुको मागलाई राज्यले चाहिं बेवास्ता गरिरहेको बताए। उनले एनआरएन अब पहिले जस्तो पाँच तारे होटलमा बस्न खान सक्ने हैसियत बनाएका धनाढ्य नेपालीको संगठन मात्र नरही खाडी मूलुकहरुमा श्रम बेच्नलाई धपाईएका श्रमजीबी नेपालीको संगठन समेत भएको स्पष्ट पारे।

बेलायतको लिभरपुल युनिभर्सिटीमा कार्यरत एन आर एन महासचिब डा. हेमराज शर्माले डा. बाबुराम भट्टराई नै शुरु देखि एन आर एनको मुद्दालाई उठाउने एक मात्र पहिलो बुज्झकारी राजनैतिक नेता भएको र अब बिदेशमा रहेर एन आर एनको रुपमा संगठित नेपालीहरुलाई बिना संदेह दोहोरो नागरिकता दिलाउनकोलागि संसदमा अझै प्रभावकारी लबिङ्ग गरिदिनकोलागि अनुरोध पनि गरे।

त्यस्तै एन आर एनका महिला नेत्री पुनम गुरुङ लगायतले पनि बिदेशिएका नेपालीहरुको समस्यालाई नेपालका नेताहरुले गम्भीर रुपले सुन्नु पर्ने बताईन्। जबाफमा डा. भट्टराईले विदेशी भूमिमा हेपिएका र दु:ख पाएका नेपालीहरुको अबस्था फेर्नकैलागि भनेर आफूले आफ्नो पी एच डीको थीसीस् नै त्यहींबाट शुरु गरेको भन्दै आफ्नो लडाईं जहिले पनि बिदेशिन बाध्य पारिएका र स्वदेशमै रहेर पनि शासक वर्गबाट विभिन्न काल खण्डमा चलाखी पूर्बक झुक्याउँदै शासन गरिएका हेपिएका र चेपिएका शासित् वर्गको उत्थानकैलागि अझैसम्म निरन्तर भईरहेको र अब सबै पार्टीका बुद्दिजीबीहरुले पनि एकजुट भएर सुन्नु पर्ने बताए।

भूतपूर्ब गोर्खाको दोहोरो नागरिकताको सम्बन्धमा उनले नेपालीहरु शुरुमा नै नेपाल राज्य र बृटिश साम्राज्यबीचकै सन्धी मार्फत ब्रिटिश सेनामा भर्ती भएका र उनीहरु भर्ति हुँदा पनि नेपाली नागरिकता नै देखाएर भर्ती हुने चलन भएकाले त्यसमा नेपाल राज्यले नै सम्पूर्ण कुराको जिम्मा लिंदै दोहोरो नागरिकता दिनु पर्नेकुरामा आफूले सत्ता पक्षसंग कटाक्ष गर्ने बताए। उनले अझै बिदेशीले चाहिं त्यहाँ गएका नेपालीहरुलाई बिश्वास गरेर उनीहरुको देशको नागरिकता जस्तो चीज नै दिन हुँदा आफ्नो मातृभूमि नेपालले चाहिं अबिश्वास गर्नु पर्ने कुनै कारणै नभएको समेत प्रष्ट पारे।

बिदेशमा रहेका एन आर एन नेपालीहरुलाई दोहोरो नागरिकताको सबालमा बोल्दै आङ्ग काजी शेर्पाले थपे “यदि बिदेशी नागरिकता लिने मध्ये पनि त्यहाँ नाक लामो भएको समूहको मात्रै हाबी हुन्थ्यो भने उहिल्यै यो दोहोरो नागरिकताको कुरा सजिलै सल्टिसकेको हुन्थ्यो”। शेर्पाले बिदेशमा र एन आर एन भित्र पनि भूतपूर्ब लाहुरेहरु लगायत अधिकांश मानिसहरु जनजाती समुदायबाट भएकाले राज्य चलाउनेहरुले नियत बश नै तिनीहरुलाई प्रबाशमै खेदीराख्न चाहेको र यदि दोहोरो नागरिकता दिएमा बिदेशमा शिक्षित अनि दीक्षीत भई आधुनिक शीप सिकी अझै आधुनिक हतियार समेत चलाउन जान्ने भईसकेका जनजातीका छोराछोरीहरु नेपाल फर्केर अन्याय र अत्याचारको बिरुद्दमा सरकारको नेतृत्व गर्नेहरुका बिरुद्द नै खनिएर अर्को सशक्त आन्दोलन गर्न सक्ने डरले पनि अहिलेको सरकारले गैह्र आबासीय नेपाली (एनआरएन)लाई दोहोरो नागरिकता दिनकोलागि आनाकानी गरिरहेको बिचार ब्यक्त गरे।

एउटा अर्को प्रसङ्गमा थोरै समयमा छिटोछिटो गन्तब्यहीन दिशातिर कुदिरहेको भन्दै नयाँ शक्ति पार्टी स्थापना भएको चार बर्ष नहुँदै दश टाउके राबण जस्ता दश थरी पार्टीका नेताहरुसंग घाँटी जोड्दै हिड्ने तथा बोलीको ठेगान र अडान नभएको नेता भन्दै अरुले औंल्याउन थालेकोमा के भन्नु हुन्छ त? भन्ने नेपालका रिटायर्ड शिक्षा अधिकारी डा. भरत सिम्खडाको प्रश्नको जवाफमा डा. बाबुराम भट्टराईले – “पद र प्रतिष्ठा” मात्रै सबै कुरो नभई आफ्नो लक्ष नयाँ शक्तिको निर्माण गर्नु नै भएको र सबै पार्टीहरुमा नराम्रा बिचार बोक्ने पुराना यथास्तिथीबादी मान्छेहरु मात्रै नभई राम्रा र प्रगतिशील नयाँ बिचारहरु बोक्ने मानिसहरु पनि भएकाले तिनीहरुलाई स्थान दिनकोलागि पनि आफूले झनै फराकिलो र नयाँ किसिमको शुद्दिकरण र ध्रुबीकरण नीति अँगाल्दै अगाडी बढिरहेको बताए।

भट्टराईले आफ्नो पार्टी पुरानो पार्टीहरु जस्तो एउटै वर्ग, एउटै क्षेत्र र एउटै लिङ्गको बर्चश्व राख्ने पार्टी नभई सबै बर्गको कदर, सम्मान र प्रतिनिधित्व गर्ने पार्टी भएकोले आफू त्यही मार्गमा तल्लीन भएर अझै राम्रो नयाँ शक्तिको एकीकरण गर्दै हिंडीरहेको बताए। उनले आफ्नो पार्टीले हिमाल, पहाड, तराई, मधेश मात्रै नभई बिद्रोह गर्न छोडेर आएका विप्लबका कार्यकर्ता सम्मलाई मिलाउन सफल भएको बताए।

पाँच घण्टा सम्म चलेको अन्लाईन मिटिंगको अन्त्यमा हालसालै मंगोलियन अर्गनाईजेशनका युवाहरुले नेपालको झण्डा जलाएको प्रकरण संगै एम सी सीको बारेमा पनि पार्टीको धारणाको बारेमा पनि व्यापक बहस चलाईएको थियो।

भर्खरै युट्युबमा अपलोड गरिएको भिडियोमा र्यापको माध्यामबाट नेपालको झण्डा जलाईएको बिषयमा बहस गर्दै आङ्ग काजी शेर्पाले नेपालको झण्डा जलाउनु गलत भएतापनि गीत र कलाको माध्यामबाट आफ्नो असन्तुष्टि जनाउन र बिरोध जनाउन पाउनु गणतन्त्र र लोकतन्त्रमा सबैलाई छुट भएको बताए। कुनैपनि राज्यको पुलिस चौकीमा बम पड्काउनु, पुलिसलाई गोली हानी मार्नु पनि अपराध हो तर सत्य घटनामा आधारित तथा फिक्सन फिल्म र नाटकहरुमा समेत त्यस्तो दृष्य देखाईन्छ। शेर्पाले स्पष्ट पार्दै थपे – कथाले मागे अनुसार त्यस्तो दृष्यहरु रि-ईनाकमेण्ट सूटिंगको माध्यामबाट जुनसुकै देशका फिल्महरुमा देखाईन्छ। कतिपय युवा संस्कृती (Youth Subculture)मा पनि उक्त “र्याप” बिद्याको गीत (म्यासप/रिमिक्स) समाजका बिकृति र विसंगति, भेदभाब र थिचोमिचो अनि असमानतालाई उदृत गर्दै र त्यस्ता आवाजहरुलाई बुलन्द पार्न र बिरोध गर्नलाई या समाज र राज्यको ध्यानाकर्षण गर्नकैलागि पनि यस्तो गीत गाईन्छ, जस्तै उदाहरणकोलागि पंक कल्चर।

शेर्पाका अनुसार पहिल्यै देखि फिल्महरुमा पनि कथाले मागे अनुसार नाटक या सूटिंग मन्चन गर्दै नक्कली गोली अनि बम पड्केको ईफेक्ट आदि हाल्दै ईडिटिङ्ग गर्दै सरकारी कार्यालयहरुमा हमला गरे जस्तै गरी कलात्मक तरीकाले देखाउने गरिएको हुन्छ। गीतले मागे अनुसारको सांकेतिक दबाब दिनकोलागि पनि र सोही अनुसारको नाटक मन्चन गर्दै कलाकारहरुद्वारा नेपालको झण्डा जलाईएको हुन सक्छ। तर गीतको संदेश भने सामुहिक अपनत्व र प्रतिनिधित्व तथा बहुभाषिक बहुजातीय राष्ट्रियताकोलागि नै उक्त सुटिंग गरिएको जस्तो देखिन्छ, शेर्पाले थपे।

उनले गणतन्त्रको स्थापना पछि विभिन्न कुराहरुमा जस्तै झण्डाको बिषयमा पनि नेपालको राष्ट्रियता झल्कने त्यस्तो कुनै पनि कुरा नभएको र नसमेटिएकोले त्यसकोलागि सांकेतिक र साँस्कृतिक दबाब मात्रै दिनकोलागि पनि सर्जक कलाकारहरुले त्यस्तो कलाको सृजना गरेको हुन सक्ने बिचार राख्दै उनले कलाकारहरुलाई कुनै पनि कारबाही नगरीकन बिना शर्त तुरुन्तै रिहाईको माग राखे। उनले कलाको माध्यामबाट बिरोध गर्ने अधिकार लोकतन्त्रमा सबैलाई हुन्छ पनि भने। शेर्पाले झण्डा जलाउनेलाई अपराधी र देशद्रोही देख्ने हो र मान्ने हो भने भर्खरै दिबंगत भएका राष्ट्रकबी माधब घिमिरेलाई पनि नेपालको झण्डाले ढाकेर जलाउन नहुने तर्क तेर्स्याए। उनले भारतले आफू हिन्दूस्तान भएतापनि सहिष्णुता पूर्बक आफ्नो झण्डामा नेपालमा जन्मेको बुद्दको प्रतिकात्मक चिन्ह राखेको बताए।

त्यस्तै उक्त र्याप गीतको “गेडा” अर्थात् हरफहरु भित्र बाहुन क्षेत्रीहरुलाई खेद्नु पर्ने आपतिजनक कुरा भएको भन्दै नेपाली समाजका अभियान्ता कृष्ण गैह्रेको भनाईलाई सहमति जनाउँदै आङ्ग काजी शेर्पाले छुवाछूत र जातीय अहंकार अहिले बाहुन क्षेत्रीहरुमा भन्दा गुरुङ, मगर, राई, लिम्बु, किराँत, मङ्गोल आदि जात भित्रका पण्डाहरुमा समेत झन् बढी ब्राह्मणबाद हाबी हुँदै गएको र यस्तो प्रवृति नश्लबाद र अतिबाद नै हो भनी औंल्याउनु भयो। उहाँले उहिल्यै पृथ्बी नारायणले नाक काटेर बदला लिए जस्तै अहिलेको २१ औं शताब्दीको जमानामा त्यस्तो उग्र सोंच लिन नहुने बताउनु भयो।

अन्तरकृयामा एनआरएन आईसिसि उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, जसपा प्रवास इन्चार्ज आङकाजी शेर्पा, उपमेयर लक्ष्य गुरुङ, रिटायर्ड कर्नेल याम राना, गोर्खा वेलफेर सोसाइटीको अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान, भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) का केन्द्रीय उपाध्यक्ष धर्म बहादुर तामाङ, गोर्खा नागरिकता अभियान युकेका संयोजक थर्क राना, एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङ लगायतले संक्षिप्त मन्तब्य राखेका थिए भने सहभागीहरुको डेढ दर्जन प्रश्नहरु लिएपछि डा. भट्टराईले एकएक गर्दै उत्तर दिएका थिए।

नेपाली समाज युकेको अध्यक्षद्वय बालकृष्ण राई र चन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त अनलाईन अन्तरक्रिया कार्यक्रमलाई जसपा प्रवास विशेष प्रदेश समितिका मुख्य–सचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए। यस कार्यक्रमको उतरार्धमा एम सी सीको बारेमा संक्षिप्त छलफल भएतापनि जनाता समाजबादी पार्टीको आधिकारिक धारणा भने आउन सकेन।

– रुद्र ढकाल (हलोवाला), लिभरपुल।