भेडेटारमा तराईबाट सामान विक्रि गर्न आउने व्यापारीहरुबाट नगद अशुल्ने गरेको खुलाशा

मानवी मोक्तान, । धनकुटाको भेडेटारमा लकडाउनको मौका छोपेर तराईको विभिन्न बजारहरुबाट धनकुटा लगायत कोशी पहाडी जिल्लाहरुमा सामान विक्रि गर्न आउने व्यापारीहरुबाट नगद अशुल्ने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा स्थानिय पत्रकारहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु विच कोरोना भाइरसका कारण पछिल्लो समयमा जारी लकडाउनको प्रभावको विषयमा भएको छलफल कार्यक्रममा नगद अशुल्ने गरेको रहश्य खुलेको हो । कार्यक्रममा स्थानिय पत्रकारहरुले लामो समय देखी भैरहेको लकडाउनको कारण जिल्लामा देखिएका प्रभाव र उत्पन्न समश्याहरुको बारेमा सुरक्षा निकायका प्रमुखहरुलाई दर्शाएका थिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अगुवाईमा पत्रकारहरु भेटघाट तथा छलफलमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पुर्व अध्यक्ष मोहन वान्तावाले लकडाउनको अवधीमा भेडेटार प्रहरीले तराईका जिल्लाहरुबाट सामान विक्रि गर्न आउने सवारी साधनहरु र व्यापारीबाट रकम असुुल्ने गरेको बताए । वान्तावाले तराईका जिल्लाबाट धनकुटा, हिले लगायत पहाडी जिल्लामा लुकिछिपी स्वास्थ्य सामाग्री ल्याएको भन्दै महँगो दाममा अन्य सामाग्री विक्रि गर्न ल्याउने क्रममा प्रहरीले नगद असुल्ने गरेको जानकारी गराए । उनले तराईका जिल्लाहरुबाट विहानी पख भागेर आउने र भेडेटारबाट प्रहरीको मिलेमतोमा धनकुटा प्रवेश गरेर पहाडी वजारमा छिर्ने गरेको कारण कोरना भाईरस समेत फैलने खतरा वढेको दावी गरे ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले जिल्ला सदरमुकाम धनकुटामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई शुक्रवार तराई झर्न नदिन प्रजिअ केशव प्रसाद विमलीलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले धनकुटामा कार्यरत कर्मचारीहरु हरेक शुक्रवार तराईमा आफ्नो घर झर्ने र आईतवार विहान धनकुटा आउने क्रमले कोरोना भाईरसको संक्रमण धनकुटामा वढ्ने खतरा भएकाले तत्काल रोक्ने आग्रह गरेका हुन् । शहिदभुमी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य जाँच गर्दा न्यूनतम् स्वास्थ्य सुरक्षा सामाग्री नलगाई लापार्वाहीपुर्ण तरिकाले काम गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले स्वास्थ्य सुरक्षा सामाग्री पिपिइ लगाएर मात्र काम गर्न निर्देशन दिन प्रजिअ विमलीलाई आग्रह समेत गरे ।

त्यस्तै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाले तराईका जिल्लाहरुबाट विभिन्न वहाना वनाएर सामान विक्रि गर्न रातको समयमा व्यापारीहरु धनकुटा आउने गरेको औल्याए । उनले २ दिन अघि धनकुटाको व्यस्त वजार हुलाकटोल र कोशी ग्यास चोकमा सामान सहितको गाडी र व्यापारीलाई पक्राउ गरेर प्रहरीले वुझाएको जानकारी दिए । यसरी तराईको जिल्लाहरुमा दिनप्रतिदिन कोरोनाको संक्रमण वढीरहँदा लुकिछिपी व्यापारी, कर्मचारी, लगायत अन्य सर्वसाधरण जोकोही आउँनु भनेको धनकुटाको लागी चुनौती भएको अध्यक्ष लामाले औल्याए ।

सो अवसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सरकारी कामको शिलसिलामा कर्मचारी अन्य जिल्लामा जाने वाहेक अन्य काममा जान पुर्ण रुपमा रोकेको वताए । अधिकांश धनकुटामा कार्यरत कर्मचारीको घर तराईको जिल्लाहरुमा भएकाले शुक्रवार घर जाने गरेका हुन तर अव आईतवार आउँदा अनिवार्य क्वारेन्टाईनमा वस्नु पर्ने प्रजिअ विमलीले वताए । उनले पहिलो कुरो पास वन्द गरिएको हुँदा कर्मचारीले आफ्नो परिचय पत्र देखाएर जिल्ला भित्र काम विशेषले हिडडुल गर्न पाउने तर लकडाउनको अवधीमा भेडेटार काट्न नपाउने वताएका छन् । सो अवसरमा वरखगण सल्लेरी व्यारेकका गणपती भगवान थापा मगरले कोरोना लागेकालाई समुदायबाट वहिस्कार गर्ने परिपाटी विकास हुँदै आएकाले त्यसो गर्न नहुने भन्दै पत्रकारहरुलाई भुमिका खेलीदिन आग्रह गरे । उनले नेपाली सेनालाई शुरु शुरुमा कोरोनाको कारण कसैको मृत्यु भयो भने लास व्यवास्थापन गर्न चुनौती थियो तर अहिले विस्तारै हट्दै गएको पनि स्मरण गराए ।

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले आफु मातहतका शहिदभुमी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षा सामाग्री लगाएरै काम गरिहेको दावी गरे । तर एक जना स्वास्थ्यकर्मीले भने पिसिआर परिक्षण गर्नु पर्छ भन्दा नमानेको र स्थानियले जर्वजस्ती गर्नु पर्छ भनेर दवाव् दिएपछि मात्र पिसिआर गर्न मानेको भने स्वीकारे । पछि तिनै स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएकाले सो क्षेत्रका जनप्रतिनिधि लगायतलाई कन्ट्रयाक्ट्रेसिङ्गका आधारमा ५८ जनाको पिसिआर टेष्ट गर्दा सवै जनाको नेगेटिभ आएको गुरागाईले वताए ।

यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रुमख एस्पी गोविन्द अधिकारीले भेडेटार प्रहरीले लकडाउनको अवधीमा सामान बोक्ने गाडी र व्यापारीहरुबाट पैसा असुलेको विषयमा आफुले सत्यतत्थ्य के हो ? वुझ्ने वताए । जानकारी गराउने पत्रकारहरु धन्यवाद् दिदै एस्पी अधिकारीले भने– “लकडाउनको वेला विभिन्न वहाना वनाएर व्यापारीहरु स्वास्थ्य सामाग्री विक्रि गर्ने भन्दै पनि आउने गरेका छन्, तर यस विषयमा के भएको हो, तत्काल भेडेटार प्रहरीसंग जानकारी लिनेछु ।” छलफल कार्यक्रममा जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मा, शसस्त्र प्रहरी बल नेपाल ६ नम्वर गुल्म हेडक्वाटर धनकुटाका प्रमुख रामचन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सो छलफल पछि पत्रकार र सुरक्षा नियकायका प्रमुखहरुले धनकुटा नगरपालिका वडा नं.६ औधोगिकग्राममा रहेको क्वारेन्टाईनको स्थलगत अवलोकन समेत गरेका थिए । सो अवसरमा धनकुटामा पनि दिनप्रतिदिन कोरोना संक्रमतिहरुको संख्या वढ्ने संभावना रहेकोले क्वारेन्टाईनसंगै आईसोलेसन कक्षको व्यवस्थापनको विषयमा पनि सामुहिक छलफल भएको थियो । – धनकुटा खबर