बेलायत, अमेरिका र नेपालमा छायांकन गरिएको तीजको भिडियो…जुममा हेरेर..

कुशल श्रेष्ठ, लन्डन

चाडपर्व नजिकिंदै छ । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले चाडपर्वलाई खल्लो बनाएको छ । कोरोना भाइरसको संक्रमणको असरले गर्दा नजिकिंदै गरेको हरितालिका तीजको रमझम अघिल्ला वर्षहरुमा जस्तो हुन सकेको छैन । तीज आउनु केही समय पूर्व साथीसंगी, इष्टमित्र, दिदीबहिनी मिलेर रमाइलो गर्ने, सुखदुःखका कुरा आपसमा साट्ने, दर खाने कार्यलाई यो वर्ष कोभिडले छेकेको छ । बजारमा अघिल्ला वर्षहरुमा जस्तो तीजका गीतहरु कमै मात्रामा गुन्जिएका छन् । कोभिडको संक्रमणबाट बच्न अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कने, भिडभाड बढी नगर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने कार्य गरिरहेको छ ।

कोभिडले तीजलाई समेत असर गरिरहेको सन्दर्भमा बेलायत निवासी कुशल श्रेष्ठको निर्देशनमा तीजको नयाँ गीत यो पालीको तीज जुममा हरेर गीत गायिका सुनिता दुलालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । समय सापेक्ष एवं संदेश मुलक भिडियो निर्माण गर्न पाउँदा आफु उत्साहित रहेको श्रेष्ठले बताए । विश्वभर कोभिड १९ को सन्त्रास फैलिरहेको बेला ठूलो समूह या भिडभाड नगरी भर्चुअल रुपमा नै तीज मनाऔं भन्ने सन्देश भिडियोले दिएको छ । अमेरिका निवासी रोजा ओलीको शब्द, सुनिल मास्केको संगीत रहेको गीतमा गायिका सुनिता दुलालको आवाज रहेको छ ।

हरेक वर्ष रमाइलो तीज गीत एवं भिडियो प्रस्तुत गर्दै आएकी गायिका दुलालले यस वर्ष भने कोरोना कहर सम्बन्धि समय सापेक्ष संदेशमुलक भिडियो प्रस्तुत गरेकी छन् ।

भिडियोमा भगवती तिमल्सिना, काव्या श्रेष्ठ, रश्मिता दर्लामी, दिपिका श्रेष्ठ, आस्था जोशी, रोश्ना कार्की, रिमा कंडेल, स्वस्तिका लोहनी, अस्तिक कंडेल, दिपक थापा मगर लगायतको अभिनय रहेको भिडियोमा दिलु थापाको नृत्य निर्देशन रहेको छ ।

निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवं म्युजीक भिडियो गरी दुई दर्जन भिडियो निर्माण गरिसकेका छन् ।

भिडियो बेलायत, अमेरिका र नेपालमा छायांकन गरिएको छ ।