नारीहरूको समस्या र समय संगै परिवर्तन हुँदै गइरहेको तीज

विष्णु पगेनी सिग्देल मेरिल्याण्ड, अमेरिका ।
हिन्दू नारीहरूको महान् पर्व तीज नजिकै आइरहेको छ। तीजको नाम सुन्ने बित्तिकै हामी नारीहरूलाई माइतीको यादले पिरोल्ने गर्दछ। अरू बेलामा पनि चेलीलाई माइतीको याद नआउने त कहाँ हो र ? तर तीज भन्ने बित्तिकै हामीलाई बेग्लै रमाइलो, सम्झना र स्मृतिले सताउने गर्दछ। लाग्दछ तीज र माइती एक अर्काका परिपूरक हुन। एउटा बिना अर्को फिक्का। तीजमा माइत जाने, आमाले पकाएका मीठो दर खाने रहर त कसलाई हुँदैन होला र ? अझ दिदीबहिनी साथीभाइ संग भेट्ने इच्छा त हामी प्रत्येक नारीहरूमा प्रबल हुन्छ। आमा, दिदीवाहिनी संग बसेर सुख दुखका कुरा बाढ्न पनि त मन हुन्छ नि हामी चेलीको। तर चाहदैमा सबै कुरा कसरी पुरा हुन्थे र। समय परिस्थिति र भाग्यले मान्छेलाई कहाँ पुर्याउछ भन्न सकिदैन। खै तीजमा माईतिको आँगन टेक्न कुनै दिन जुर्छ कि जुर्दैन।

अझ छोरीको कर्म त कस्लाई के थाहा हुन्छ र ? यो जातले कर्मले जता डोर्यायो उतै जानु पर्ने रहेछ। विहे पछि आफू जन्मेको प्यारो माइती घरलाई छोडेर पराइ घर जानुपर्ने वाध्यता। अहिले त झन देशको समय, परिस्थिति र अवस्थाका कारण विदेशिन वाध्य छन लाखौँ नेपालीहरू। हामी कयौं नारीहरू पनि पारिवारिक र अन्य कारणले विदेशिन वाध्य छौं। हामी जस्ता माइती बाट कोशौं पर बस्न विवश नारीहरूलाई त सायद असम्भव प्राय नै हुन्छ होला तीजमा माइती जान अनि रमाइलो गरेर तीज मनाउन पनि।

नेपालमै पनि विभिन्न कारणले गर्दा माइती जान नपाउने चेलीहरू त छन नि। मलाई लाग्छ हामी जो जहाँ भए नि त्यहि बसेर नै तीज मनाउनु पर्छ। रमाइलो गर्नु पर्छ साथीभाइ मिलेर। थोरै भए पनि माइतीको अत्यास र न्यास्रो मेट्नुपर्छ। जुन कुरा असम्भव हुन्छ त्यो कुरामा रोएर बस्नु भन्दा त्यो कुरालाई विर्सनु नै बुद्दिमता होला, होइन र ? आफू जहाँ र जस्तो अवस्थामा भए पनि आफ्नो संस्कृति धान्दै चाड बाड मनाउनु र आफ्नो छोराछोरी लाई पनि त्यस बारेमा सिकाउनु हामी सबैको कर्तव्य पनि हो। हाम्रो संस्कृति, परम्परा र चाल चलन लाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु हाम्रो पुस्ताको महत्वपुर्ण जिम्मेबारी पनि हो। यसो गरेमा मात्र हाम्रो धर्म, संस्कृति र परम्पराको पहिचान र गरिमा युगौं युगसम्म रहिरहनेछ ।

जब जब तीज आउछ म पहिलेका बाल्यकाल हुँदाका तीज सम्झिने गर्छु । म, पहिले र अहिलेको तीजमा धेरै नै फरक पाउने गर्दछु। आजभोलिका तीजमा रस नभेटिएको जस्तो लाग्छ। हामी मौलिकता लाई छोडेर आधुनिकता तिर धकेलियौ कि जस्तो लाग्छ। हामी जब सानो थियौं तीज गीत आजभोलि जस्तो डिस्को र र्याप शैलीको हुँदैनथ्यो। अहिले जस्तो तीज आउन दुई तीन महिना पहिलेबाटै तीजको दर खाने नाममा तीजका पार्टीहरू हुदैनथ्यो। तीजका गीतहरू कृष्ण जन्माअष्टमी देखि गाउन सुरू गरिन्थ्यो। तीजको दर तीजको अघिल्लो दिनमात्रै खाइन्थ्यो। हामी सानो हुँदा प्रत्येक वर्ष मामाको घर हजुरआमा भएको ठाउँमा नै तीज मान्थ्यौं।

हाम्रो परिवार अलिक ठुलै थियो। हाम्री आमा र ठूली आमाका तीन तीन जना छोरी थियौ । सानिमाका दुइ भाइ छोराहरु सानै भएकाले उनीहरू पनि सानिमा संगै मामा घर आउथे। मेरा ठूली र माइली दिदीको विहे भइसकेको र ठूली आमाका छोरी दिदीहरूको पनि विहे भइसकेकोले गर्दा उहाहरुको पनि छोराछोरी र मामाहरू पनि गरेर हामी करिब-करिब पचास जना जतिले एकै ठाउँमा बसेर तीज मनाउथ्यौ। दिउसोमा अनदीका चामलमा घ्यू हालेर पकाएको चाम्रे, काँक्राकों अनि करेला र भिन्टीको अचार, मकै बोडीको तरकारी आदि इत्यादि खाइन्थ्यो। नाचगान हुन्थ्यो। दिदी, आमाहरू आफ्नै दुख, वेदनाका गीतहरू भाका मिलाई मिलाई गाउनुहुन्थ्यो, …

दाजु र भाइलाई बा आमाकै घर २  |  पराइ घर छोरीलाई नि बरिलै  |  पराइघर छोरीलाई |  माइतीकै झल्को माइतीकै सम्झना २ |  जिन्दगी भरिलाई नि बरिलै |  जिन्दगी भरिलाई ।।

अनि कम्मर मर्काइ मर्काइ नाच्नु पनि हुन्थ्यो। हामी गीत छोप्थ्यों/थपडी बजाउथ्यों। आहा कस्तो रमाइलो हुन्थ्यो ती क्षण। सार्है खुसी हुन्थ्यौं हामी बच्चाहरू पनि। बेलुका वरिपरिका छर-छिमेकीहरू जम्मा भएर नाच गान गर्ने गर्थौँ। भोलिपल्ट तीजको व्रत बस्ने हुँदा करिब करिब बाह्र बजे सम्म गीत गाएर बसिन्थ्यो, सबै मिलेर दर खाइन्थ्यो। हामी बच्चाहरू त व्रत नबस्ने हुँदा आमा दिदीहरू नौ, दस बजेतिरै हामीलाई अब केटाकेटीहरु सुत भन्नुहुन्थ्यो, तर हामी कहाँ मान्थ्यौं र ? हामीलाई त आमा दिदीहरूले हामीलाई नदिईकनै खाने दर भनेको के रहेछ भनेर उत्सुकता जाग्थ्यो। आखिर केटाकेटी नै त परियो ? केटाकेटी हुँदा जे कुरामा नि रमाइलो लाग्ने, जस्तो कुरामा नि उत्सुकता जाग्ने। आमाहरुले हाम्रो निन्द्रा बिग्रिन्छ की भनेर सुत्न जान खुबै कर गर्नु हुन्थ्यो, तर हामीलाई मनाउन कसले सक्थ्यो र ? फेरि त्यति रमाइलो माहोल छोड्न पनि त मन मान्दैनथ्यो नि ? हामी त उहाँहरुका मीठामीठा गीतहरू सुनेर बस्थ्यौं । ती मौलिक गीतका सम्झनाले आज पनि त्यहि बालपनमा फर्काईदिन्छ …

मनभरि भको कुरो यहि मनमा रहने | अहिलेको तीजमा आइन नभने |  न समाउने हाँगो मेरो न छ डाली टेकने |  मनभरि विरह छ कल्ले देखने ….

हाम्रा बाबाले दिएको गर्दुवा, |  थाल र कचौरा झालेमाले गाई |  कहिले कहिले म माइत आउँदा |  हाँसे र बोले है कान्छा मेरा भाइ ।।

बाह्र बजेसम्म निद्रा मारी मारी बस्द्दथ्यों हामी। के रहेछ त दर भनेको खुब खुल्दुली पनि लाग्दथ्यो। आखिर पछि पो थाहा हुन्थ्यो दर भनेको त खीर पो रहेछ। बाह्र बजेपछि अर्को दिन लाग्ने मान्यताका कारण दर त्यहि दिनको बाह्र बजेभन्दा पहिला नै खाइसक्नु पर्दोरहेछ। भोलिपल्ट आमा दिदी सबैजना व्रत बस्नुहुन्थ्यो। हामी सानै भएकाले व्रत बस्नु पर्दैनथ्यो। तीजको दिन हामी राम्रा फ्रक लगाएर बजार हेर्न जान्थ्यौं। आमा दिदीहरू राता सारी, चुरा पोतेमा सजिनुहुन्थ्यो। बजारमा समूह समूह मिलेर महिला दिदीबहिनी बस्नुहुन्थ्यो र गीत गाएर नाच्नु हुन्थ्यो। कति मर्मस्पर्शी हुन्थे गीतहरू। गीतमा उहाँहरूकै व्यथा पोखिएका हुन्थे। कथा लेखिएका हुन्थे।

वर्ष दिनको तीजलाई बाबा आए लिनलाई | पठाइदिनुस वज्यैले दुवै दिनलाई | घरको काम सके भने मैले छुट्टि पाउला |  दर खाँदाको दिनसम्म माइत आँउला |  पराइ घर जानु पर्ने कस्तो कर्म छोरीलाई |  माइती सम्झी रुनु पर्ने जुगै भरिलाई |  एउटै कोखका दाजुभाइ बाआमाकै काखमा |  हाम्लाई भने रुनु पर्ने भिर पाखामा।।

आजभोलि लाग्छ हराउंदै गइरहेको छ त्यतिबेला जस्तो तीज। तीजलाई हाम्रो संकृति मानेर मनाउने भन्दा पनि यसमा विकृति ल्याउने काम भइरहेको छ। तीजलाई फेसन र गहना प्रदर्शन गर्ने चाड बनाइदै छ। तीजका मौलिक गीतहरू हराउदै गइरहेका छन। रत्यौली गीतलाई तीज गीत बनाइदैछ। अझ हुँदा हुँदा अहिले त डिस्को र र्याप थपेर तीज गीतलाई दुषित बनाइदै छ। मनका विरह, व्यथा, कथालाई गीतमा पोख्ने भन्दा पनि छाडा र उताउलो शब्दहरू गीतमा आउन थालेका छन। र त्यस्तै गीतहरू सुनेर र त्यसैमा नाचेर हामी पनि मौलिकतालाई भुल्दै गइरहेका छौं। तीजको दर पनि दुई महिना अगाडिबाट पार्टी प्यालेसहरूमा खाइन थालेका छन। आफूसंग जे जस्तो छ त्यसैमा रमाएर चाडबाड मनाउने भन्दा पनि अर्काको देखासिकी गर्ने प्रवृत्ति बढेको छ। ऋण काढेर भएपनि महङ्गा महङ्गा सारी, लेहेंगा, कुर्था र गहना देखाउने होडबाजी बढदो छ। फेरि सक्नेहरुले पनि देखाउनै पर्छ भन्ने त छैन नि? जतिसक्दो आफू साधारण बनेर अरुलाई उदाहरण दिन पनि त सकिन्छ नि हामी महिलाहरुले नै तीजजस्तो अथाह महत्त्व र संस्कृति बोकेको हाम्रो चाड विकृत बनाउनु राम्रो त पक्कै होइन होला ?

अहिले समय फेरिएको छ परिस्थिति बदलिएको छ। पहिलाजस्तो सासूका कचकच् ,नन्द अमाजूका कुरा कटाई केही मात्रामा भएपनि कम भएका छन् । नारी पनि पहिलेका भन्दा बढी शिक्षित, सबल र सक्षम हुँदैछन आजभोलि। अहिले पनि दिनदहाडै छोरी-चेलीहरुको अस्मिता लुटिदैछ। बलात्कार, एसिड आक्रमण जस्ता जघन्य आपराधिक घटना यत्रतत्र छन्, छोराप्रतिको तीव्र आशाक्तिका कारण छोरीलाई गर्भमै मारिदिने जस्ता सामाजिक विभेदले सिर्जना गरेका घटनाहरूमा कुनै कमी आएको छैन। बोक्सीका नाममा महिलालाई दिसा खुवाएका समचारहरुमा कुनै कमी आएका छैनन्। दाइजोकै कारण हजारौं निर्दोष चेलीहरूले आफ्नो ज्यान गुमाउनु परेको तीतो यथार्थ हामी माझ छ। छाउपडी प्रथाजस्ता अन्धविश्वासबाट समाज मुक्त हुन सकेकै छैन। विश्व एक्काइसौँ शताब्दीमा दौडिदै गर्दा हाम्रो समाजले भने महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो भनेर बुझ्न र बुझाउन सम्म पनि सकिरहेको छैन।

अब हामी नारीले यस्ता विषयमा तीजका गीत बनाइ त्यसै मार्फत समाजमा सचेतना फैलाउनुपर्छ। तीजका गीतका माध्यमबाट नै हामीले समाजका नकारात्मक विषयप्रति आवाज उठाउनु पर्दछ। अब हामीले यस्ता विषयका मौलिक तीज का गीतहरू बनाउनु पर्दछ, जसले गर्दा समाजमा सकारात्मक संदेश फैलियोस र समाज परिवर्तन होस्। हामी सबै मिलेर नै तीजलाई नै प्रदुषित गराउने गीतहरू लाई हतोत्साहित गर्नुपर्दछ। तीजलाई तडक भडक र छाडा चाडका रूपमा प्रस्तुत नगरी एउटा धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा मनाउनु पर्दछ। तीजमा आफूले सामान्य कपडा र गहना लगाई समाजको लागि उदाहरण बन्न सक्नुपर्छ।

मलाई लाग्छ हामी सबै मिलेर हाम्रो रीतिरिवाज र परम्परालाई जोगाउनु पर्दछ । भोलिका भावी पिढीलाई पनि हाम्रो संस्कृति र मौलिकताको परिचय दिनु पर्दछ । हाम्रा चाडपर्व र रीतिरिवाजको बारेमा उनीहरुलाई वास्तविक रुपमा जानकारी दिनु हामी सबैको कर्तब्य हो। अझ विदेशमा रहेका हरेक नेपालीहरू जो परिवारसहित विदेशमै बस्नुहुन्छ उहाँहरूले त झन आफना सन्तानलाई हाम्रो चाडपर्व, परम्परा, भाषा र संस्कृतिको बारेमा जतिसक्दो धेरै जानकारी दिनु पर्दछ। नेपालमा आफूले मनाएका प्रत्येक चाडपर्व, धर्मसंस्कृतिको महत्त्व उनीहरू लाई बुझाई दिनुपर्दछ। हामीले मनाउदै आएको चाडपर्वमा उनीहरूलाई पनि सहभागि गराउनु पर्दछ। जसका कारण हामी भन्दा पछिको पुस्ताले पनि हाम्रो भाषा, धर्म,संस्कृति, रीतिथिति र परम्परामा गर्व गर्न सकोस, र भन्न सकोस म नेपाली हुँ र मेरो देश भाषा, धर्म र संस्कृतिमा विशाल छ। यसका लागि हामी आफू नै जागरुक हुनु जरूरी छ। हामी सबैले आ-आफ्नो ठाउँबाट उठेर यस महान कार्यमा लाग्नुपर्दछ। त्यसपछि मात्र हामी नेपाली र नेपाली संस्कृतिको गौरव विश्वसामु फैलनेछ।

विष्णु पगेनी सिग्देल मेरिल्याण्ड, अमेरिका । / इनेप्लिज